२० श्रावण २०८३ बुधबार
image/svg+xml
अपराध

चितवनमा एक वर्षमा १ हजार ८७६ अपराधका मुद्दा दर्ता, लागुऔषध अपराधमा ४९ प्रतिशत वृद्धि

जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक वर्ष २०८२/०८३ मा अपराधसम्बन्धी १ हजार ८७६ वटा मुद्दा दर्ता भएका छन्।

अघिल्लो आर्थिक वर्षको तुलनामा केही प्रकारका अपराध घटे पनि लागुऔषध र बैङ्किङ कसुरका घटनामा उल्लेख्य वृद्धि भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये १ हजार १९२ वटा फर्छ्योट भइसकेका छन् भने ५८४ वटा मुद्दा अझै विचाराधीन छन्।

दर्ता भएका मुद्दामध्ये आत्महत्यासम्बन्धी ४७४ वटा सबैभन्दा बढी रहेका छन्। त्यसपछि लागुऔषधसम्बन्धी ३४१, सार्वजनिक हितविरुद्धका कसुरसम्बन्धी २६४, बैङ्किङ कसुरसम्बन्धी १९२, सवारी ज्यानसम्बन्धी ९८, चोरीसम्बन्धी ८८, करणीसम्बन्धी ४५ तथा कर्तव्य ज्यानसम्बन्धी ३ वटा मुद्दा दर्ता भएका छन्।

स्थानीय तहअनुसार सबैभन्दा बढी अपराध भरतपुर महानगरपालिकामा १ हजार १६० वटा दर्ता भएका छन्। त्यसपछि कालिका नगरपालिकामा २३२, रत्ननगरमा १४३, माडीमा ९९, खैरहनीमा ९३, इच्छाकामनामा ७९ र राप्ती नगरपालिकामा सबैभन्दा कम ७० वटा अपराधसम्बन्धी घटना दर्ता भएका छन्।

प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लागुऔषधसम्बन्धी अपराध ४९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१/०८२ मा १८५ वटा रहेको यस्तो अपराध गत वर्ष २७५ पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

यस्तै बैङ्किङ कसुरसम्बन्धी अपराध पनि ४६ प्रतिशतले वृद्धि भएको छ। सवारी ज्यान र ठगीसम्बन्धी मुद्दा क्रमशः ८ र ३ प्रतिशतले बढेका छन्।

यद्यपि चोरी, अभद्र व्यवहार, आत्महत्या, जबरजस्ती करणी, विद्युतीय अपराध, बाल यौन दुरुपयोग तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा भने घटेको प्रहरीले जनाएको छ।

एक वर्षको अवधिमा अदालतबाट दोषी ठहर भएका ८७७ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांक छ। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २९४ जनाले बढी हो। आर्थिक वर्ष २०८१/०८२ मा ५८३ जना पक्राउ परेका थिए।

गत आर्थिक वर्षमा पक्राउ परेका दोषीहरूको कुल कैद अवधि १२२ वर्ष ८ महिना २० दिन रहेको छ। साथै, ६ करोड ७६ लाख ४७ हजार ६१९ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

प्रहरीले सो अवधिमा हराएका ४१० वटा मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको जनाएको छ।

त्यस्तै, जिल्लाभर १२ हजार ८३४ पटक गस्ती सञ्चालन गरिएको, ९१ वटा बन्द, विरोध, जुलुस तथा र्याली भएका र प्रहरीको ‘१००’ नम्बरमा ४५ हजार ९३७ पटक नागरिकबाट फोन आएको तथ्यांक पनि सार्वजनिक गरिएको छ।

प्रकाशित: ७ श्रावण २०८३ १७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App