नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बालेन शाहसँग आफूले लामो समयदेखि संवाद गर्न नपाएको बताएका छन्। प्रधानमन्त्री नियुक्त हुँदा बधाई दिएपछि अहिलेसम्म उनीसँग दुई शब्द पनि कुराकानी हुन नसकेको नेपालको भनाइ छ।
असोज ७ गते बुधबार नागरिक न्युजकाे डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री बालेन शाह र प्रमुख राजनीतिक दलहरूबीच संवादहीनताको अवस्था रहेको सुनाए।
‘अहिलेका प्रधानमन्त्रीजीका आफ्नै राम्रा पक्ष र विशेषताहरू होलान्,’ नेपालले भने, ‘तर मसँग उहाँको कुनै सम्बन्ध र सहकार्य हुन सकेको छैन। प्रधानमन्त्री नियुक्त भएपछि शपथग्रहण कार्यक्रममा बधाई दिएको बाहेक मैले अहिलेसम्म उहाँसँग दुई शब्द पनि कुरा गर्न पाएको छैन। फोटोमा र टाढाबाट मात्र देखेको छु।’
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय छन्। राजनीतिक यात्राका क्रममा उनले लामो समय नेकपा (एमाले) को नेतृत्व तहमा रहेर काम गरे।
जेनजी आन्दोलनका क्रममा देशभर मानवीय तथा भौतिक क्षति भयो। त्यस क्रममा उनको घरमा समेत आगजनी भयो। जेनजी आन्दोलनपछि बदलिएको नेपालको राजनीतिक परिवेश, आन्दोलनका क्रममा भएको हिंसा र भौतिक क्षति तथा त्यसले जन्माएका राजनीतिक प्रश्नमा केन्द्रित रहेर नागरिक फ्रन्टलाइनका लागि नागरिक दैनिकका सम्पादक अधिकारीले पूर्वप्रधानमन्त्री नेपालसँग कुराकानी गरेका छन्।
भिडियो:
प्रकाशित: १५ आश्विन २०८३ १४:५४ बिहीबार





