५ जेष्ठ २०७९ बिहीबार
भिडियो

आस्था र विश्वासको केन्द्रः पनौतीको बाह्रवर्षे मेला

मध्य नेपालको सानो ऐतिहासिक नेवार सहर हो, पनौती। धार्मिक, ऐतिहासिक, पुरातात्विक सांस्कृतिक र प्राकृतिक सम्पदाको एक विशिष्ट नमुनाको पहिचान बनाएको छ, यो शहरले। पनौती प्रकृति र संस्कृतिको सङ्गमस्थल हो। भनिन्छ यो शहर भूकम्प नजाने र ढिकी चलाउन नहुने जस्ता मान्यता बोकेको नगर पनि हो। देवराज इन्द्रको तपोभूमि, शचीको प्यारो भूमि र अहिल्याको मुक्तिभूमिका रूपमा पनि यसलाई चिनिन्छ। यस्तो पावन भूमिमा प्रत्येक बाह्र वर्षको एकपल्ट माघ महिनाभरि मेला लाग्छ। यस मेलालाई मकर मेला भनिन्छ।  

राजधानी काठमाडौंबाट करिब ३२ किलोमिटर दक्षिणपूर्वमा अवस्थित यो सहर दुई पवित्र नदीको संगममा अवस्थित छ। रोसी अर्थात लीलावती र पुण्यमाता अर्थात पद्मावती यी दुई खोलाको बीचमा रहेको सुन्दर नगरी हो, पनौती। पनौतीको नाम विभिन्न कालखण्डमा अपभ्रंस हुँदै आएको छ। पनौतीलाई नेपाल भाषामा ‘पल्वँती’, ‘पन्ती’, ‘पनाती’ र ‘पलाँती’ भनिन्छ। यी नामका सन्दर्भमा विभिन्न किम्बदन्तीहरु पनि छन्।  

स्थानीय शिवप्रसाद जंगमका अनुसार परापूर्वकालमा एकजना साधुले पनौतीको पवित्रता र शक्तिको परीक्षण गर्न सुकेको बाँसलाई ढुंगामा गाडेर निस्केछन्। २४ घण्टापछि फर्केर आउँदा उनले त्यहाँ बाँस पलाएको देखे। नेपाल भाषामा ‘पं’ को अर्थ बाँस, ‘लोवँ’ को अर्थ ढुंगा र ‘ती’ को अर्थ तीर्थ हो। त्यसैले उनले यो ठाउँको धार्मिक महत्व थाहा पाएर ‘पँ लोवँती’ अर्थात् ढुंगामा बाँस पलाएको भनी नाम दिए। यसैबाट पंल्वँती र पछि पन्ती भएको हो।

मन्दिरै मन्दिरले भरिएको त्रिवेणीघाटमा १४औँ शताब्दीमा निर्मित नौ ग्रहसहितको सूर्य, १३औँ शताब्दीको शिवको मूर्ति, १४औँ शताब्दीकै लक्ष्मी र गरुडसँगको विष्णुको मूर्ति आदि प्राचीन मूर्तिका कारण त्रिवेणीघाटको गरिमा बढेको छ। यस बाहेक यो क्षेत्रलाई वंशगोपाल मन्दिर, ब्रह्मायणी मन्दिर, केदारनारायणको मन्दिर, राम, सीता र हनुमान मन्दिर, मुक्तेश्वर मन्दिर, पञ्चमुखी महादेव मन्दिर, माधवनारायण मन्दिर, शीतलामाईको मन्दिर, सङ्कष्टनारायणको मन्दिर र वासुकी नागको वासस्थान नै मानिन्छ। चार बाहुको कृष्णको मूर्ति पनौतीको मुटु इन्दे्रश्वर महादेवको आँगनमा रहेको छ। जुन एक मात्रै कृष्णको चार हातको मूर्ति भएको शिवप्रसाद जंगम बताउँछन्।

त्रिवेणीघाटमा धनञ्जय बासुकी नागको बास रहेको यहाँका स्थानीयको विश्वास छ। जसले पनौती र यहाँका नागरिकको रक्षा गर्ने मान्यता रहिआएको छ। पनौती क्षेत्र बासुकी नागको क्षेत्र भएको इतिहास अध्यता एवं लेखक तुयुकाजी ताम्राकार बताउँछन्। नाग राजा मध्येका सबैभन्दा शक्तिशाली राजाको रुपमा बासुकी नागलाई लिइन्छ। यहाँ बासुकी नागराजकै राज चलेकाले दुई राजा एकैठाउँ आउँदा शुभ हुँदैन भन्ने विश्वास गरिन्छ। त्यसै कारण पनि पनौतीमा राजाहरूले पाइला टेक्न हुन्न भन्ने मान्यता छ। त्रिवेणी घाटको महत्व बासुकी नागले अझ बढाएको ताम्राकारको भनाइ छ।

धार्मिक, ऐतिहासिक, पुरातात्विक सांस्कृतिक र प्राकृतिक सम्पदाको एक विशिष्ट नमुनाको पहिचान बनाएको यो शहर जुनसुकै समय पनि धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको छ। यो स्थान र यहाँका सम्पदाको उचाइँको चुली बाह्र वर्षे मकर मेलाले अझ उचो बनाउँछ।

सूर्य मकर राशीमा प्रवेश गरेको माघ महिनाको पहिलो दिनदेखि अन्तिम दिनसम्म बाह्र वर्षको एकपल्ट पनौतीमा मकर मेला लाग्ने गर्छ। धार्मिक दृष्टिकोणले माघ महिनाको महिमा ठूलो छ। माघको पहिलो दिनदेखि नै पृथ्वीको गोलाद्र्धमा सूर्य उत्तरतर्पm ढल्कने गर्छ। सूर्य उत्तरायण भएपछि न्यानोपनमा वृद्धि भई पुसको कठ्याङ्ग्रिँदो जाडो क्रमशः कम हुँदै जान्छ। यसै महिनादेखि दिन लामो हुँदै जाने गर्छ। यो महिना स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ।  

संसारभर दुई प्रयाग छन्। उत्तर प्रयाग र दक्षिण प्रयाग। दक्षिण प्रयाग भारतमा पर्छ भने उत्तर प्रयाग नेपालको पनौतीमा। स्थानीय लेखक तथा पत्रकार सुर्यप्रसाल लाकोजू भारतको अलाहबादस्थित गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा रहेको प्रयाग जतिकै महत्व नेपालको पनौतीको त्रिवेणीघाट रहेको बताउँछन्।  

‘तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बहिरहेको मान्यता छ। भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ,’ लाकोजूले भने।

पनौतीमा मनाइने बाह्रवर्षे मकर मेलाप्रति हिन्दु धर्मावलम्बीको ठूलो धार्मिक आस्था र विश्वास रहिआएको छ। मकर मेला लाग्दा लाखौँ भक्तजन यहाँ मेला भर्न आउँछन्। ‘पद्मावती, लीलावती र रुद्रावतीको संगम स्थल रहेको यो स्थानको धार्मिक महत्व भारतको प्रयाग जतिकै छ।’ लाकोजू भन्छन्, ‘त्यसकै कारण पनि मकर मेला भर्न नेपाली जतिकै संख्यामा छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु मेला भर्न आउँछन्।’

‘मकर मेला लागेको समयमा त्रिवेणीघाट (पद्मावती, लीलावती र रुद्रावती) मा नुहाई देवीदेवताको पूजा गरेमा सम्पूर्ण पापबाट मुक्ति मिल्छ भन्ने धार्मिक विश्वास रहेको छ। यही विश्वासले यहाँ मकर मेला अवधिभर स्नान गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्छ,’ लाकोजू बताउँछन्।  

त्रिवेणीघाटसँगै यहाँ गोरखनाथको डाडाँ पनि रहेको छ। यस डाडाँलाई कुञ्जगिरि पर्वत, दलिञ्चोक डाडाँ पनि भनिन्छ। गोरखनाथको डाडाँ प्राकृतिक नभई कृत्रिम भएको इतिहास अध्यता एवं लेखक तुयुकाजी ताम्राकार बताउँछन्। त्रेतायुगमा राम र रावणबीच ठूलो युद्ध भयो। युद्ध हुँदा रावणका छोरा इन्द्रजितले रामका भाइ लक्ष्मणलाई नागपासले मुर्छित पारेपछि हनुमानले सञ्जिवनी बुटीसहितको ठूलो पहाड उठाएर ल्याउँदा पनौती पुगेपछि पर्वतको सानो अंश कान्छी औलाको बीचबाट तल झरेको थियो र सोही पर्वतको सानो अंश कुञ्जगिरि पर्वत अर्थात् गोरखनाथ डाडाँ हो भन्ने जनश्रुति रहेको ताम्राकार बताउँछन्।  

गोरखनाथको डाडाँसँग सम्बन्धित फरक तथ्य उनी यसरी सुनाउँछन्, ‘उहिले पहिले त्रिवेणी घाटमा स्नान गर्दा गौरिशंकर हिमाल देखिन्थ्यो। धार्मिक रुपमा जुन सबैभन्दा उत्तम कुरा मानिन्छ। जहाँबाट नुहाउने बेला सूर्य उदय भइरहेको हेर्न पाइन्थ्यो। जुन दृष्य बिरलै देख्न पाइन्छ। पनौतीको त्रिवेणी घाटबाट यस्तो दृष्य देखिरहेको कुराले व्यापक प्रचार पाएपछि यो ठाउँमा भक्तजनको चाप निकै बढ्न थाल्यो। जसका कारण दक्षिणको प्रयागमा तिर्थयात्रीको शून्यता छायो। यसको महत्व घटाउन पहलमान खटाई गोरखनाथले डाडाँ पल्टाउन लगाई गौरी शंकर हिमाल र सूर्य नदेखिने बनाए।’  

यस डाडाँको टुप्पोमा गोरखनाथको मन्दिर छ। त्रिवेणीघाटमा नुहाई पूजाअर्चना गरेपछि डाडाँ चढ्न सक्नेहरू गोरखनाथको पनि दर्शन गर्छन्। गोरखनाथ मन्दिर जाँदा कसैकसैले आफ्नो दायाँ हातको बुढीऔँलाको खोपिल्टोमा त्रिवेणीघाटको जल राखेर लगी चढाउने गर्छन्। यसो गर्दा मनले चिताएको पूरा हुने विश्वास गरिन्छ। गोरखनाथको मन्दिरबाट उत्तर हेर्दा हिमालका मनोरम दृश्य, पूर्व हेर्दा नमोबुद्धको मन्दिर, पश्चिम हेर्दा फूलचोकी देवीको मन्दिर र दक्षिण हेर्दा महाभारत पर्वतका मनोरम दृश्य देखिन्छ।

रोसी (लीलावती) र पुण्यमाता (पद्मावती) खोलाको बीचमा रहेको गाउँलाई समेत जोडेर संयुक्त राष्ट्र सङ्घीय अङ्ग यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन नेपालले २८ वर्षअघि नै प्रस्तावका लागि सिफारिस गरेको थियो। तर सरकारको फितलो पहलका कारण दर्ता प्रक्रिया अगाडि नबढेको स्थानीय फोटोग्राफर प्रशान्त श्रेष्ठ बताउँछन्। ‘२८ वर्ष अगाडि र अहिलेको यहाँका घरहरुको स्वरुपमा व्यापक परिवर्तन आएको छ। बस्तीलाई समेत सम्पदा सूचीमा सूचीकृत गर्ने हो भने पहिलेकै स्वरुपमा लैजानु पर्ने हुन्छ,’ उनी भन्छन्, ‘संघीय सरकारदेखि स्थानीय सरकार र स्थानीयवासीसम्मको हातेमालो रहने हो भने असम्भव भन्ने त केही हुँदैन।’  

रोसी र पुण्यमती खोलाको बीचको भागमा करिब सात सय घरहरु छन्। ती घरहरुलाई समेत सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्तव गरिको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हुन यी घरहरु समेत परम्परागत ढाँचामा निर्माण हुनुपर्ने हुन्छ। तर अधिकांश घरहरु आधुनिक ढाँचामा ढलान गरिएका छन्। आधुनिक घरहरुलाई परम्परागत ढाँचामा बनाउन सहयोग गरिरहेको पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको भनाइ छ।

पहिले जस्तो त्रिवेणीघाट अहिले छैन। निर्मल, स्वच्छ लीलावती र पद्मावती आम मानिसको मैलो सफा गर्ने मात्रै नभई जलचरको समेत बासस्थान रहेको थियो। यहाँ पाइने माछा आम मानिसको जिविकोपार्जन र खाद्यान्नका स्रोत थिए। तर अहिले अवस्था बद्लिएको छ। खोलाको स्वच्छतामा ह्रास आएको छ भने जलचर प्राणी भेटिन छाडेका छन्। जसका कारण धार्मिकस्थल समेतको आस्थामा परिवर्तन आएको छ।

विक्रम सम्बत् १७२७ मा राजा प्रताप मल्लले रानीपोखरी निर्माणका क्रममा यहाँको त्रिवेणीघाटको जल लगेर पोखरीमा मिसाएको इतिहास छ। त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात गोरखनाथ डाडाँस्थित गोरखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ। यस्तै तथ्यको ऐतिहासिकता बोकेको यो नगरीको आस्था, विश्वास र मौलिकता कायम राख्नु आवश्यक छ।

प्रकाशित: २१ माघ २०७८ १९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App