६ कार्तिक २०७८ शनिबार
भिडियो

'देउडाको मायाले अमेरिकाबाट फर्कायो'

भोजराज भट्ट सुदूपश्चिमका लागि कुनै नौलो नाम होइन। अनुहारभन्दा आवाजमा बढी परिचित छन् उनी। २०५० को दशकमा उनी सुदूरपश्चिममा निकै चर्चाको केन्द्रमा रहे। दर्जनभन्दा बढी एल्बममार्फत सयौँ गीतमा स्वर भरेका भट्ट पश्चिम नेपालका घरघरमा पुगेर मन मनमा राज गरे।  

तत्पश्चात केही वर्ष नेपालबाहिर (संयुक्तराज्य अमेरिका) बसेका भट्ट त्यहाँबाट फर्केको वर्षौ भइसक्यो। तर विगतको चर्चा र ख्याती भने कमाउन सकेनन्। उनी भन्छन्, ‘यो त समयको माग हो। सधैं चर्चाको शिखरमा कोही रहँदैन। उतावचढाव सधैं भइरहन्छ। तर पलायन भएको छैन।’

‘म पलायन भएको छैन। सुदूरपश्चिमको संस्कृति, माया, चर्चा बटुल्न सफल भए’, उनी थप्छन्, ‘सुदूरपश्चिम तथा मध्यपश्चिमको संस्कृति उजागर गर्न एउटा इटा भएपनि थप्न सफल भएको छु जस्तो लाग्छ र कहिले पलायन पनि हुँदैन।’  

उसो त नेपाली कलाकारिता क्षेत्रमा एक समय धेरै चर्चित अनुहार तथा स्वर पलायन नभएका होइनन्। कुनै समय खुब चर्चा र नाम कमाएका गायकगायिका, नायकनायिका र योसँग सम्बन्धित अन्य व्यक्ति अहिलेका पुस्ताका माझ गुमनाम बनेका धेरै उदाहरण छन्। यस्तो हुनुको मुख्य कारण नामसँगै दाम कमाउन नसक्नु भट्टको अनुभव छ। राष्ट्रिय कलाकारको छवि बनाएका पलायन भइरहेका बेला सुदूरपश्चिमका कलाकारको अवस्था झन गाह्रो भएको उनी बताउँछन्।  

‘तर पछिल्ला समयमा भइरहेका कन्सर्ट महोत्सवले हातमुख जोड्न समस्या छैन’, उनी भन्छन्, ‘सम्पन्न हुने भन्ने कुरा त्यस्तै हो।’  

आम मानिसको सपनाको देश अमेरिका। सम्पूर्ण सुविधा सम्पन्न देश अमेरिका। आर्थिक उपार्जन र सामाजिक सुरक्षा प्रत्याभूति भएको देश अमेरिका। नेपालका अधिकांस कलाकार बस्दै आएको र कतिको भविष्यको योजनामा रहेको देश अमेरिका। ६ वर्ष अमेरिका बसेका सुदूरपश्चिमेली गायक भोजराज भट्ट नेपाल किन फर्के त? उनी भन्छन्, ‘घरपरिवार, आफ्नो संस्कृति अनि देश सम्झेर’, उनी भन्छन्, ‘अहिले पनि राजधानी काठमाडौं भन्दा मेरो चाहना गाउँमा बस्नेछ। म बाध्यताले बसेको पैसालाइै सबथोक नसम्झेर फर्केको।’

२०२३ सालमा डडेल्धुराको दुमडामा जन्मेका भट्टले बाल्यकालदेखिनै गुनगुनाउने गरेको उनी सम्झन्छन्। बाल्यकालदेखि नै जात्रा पर्व र अन्य कार्यक्रममा भाग लिने गरेको उनले बताए। २०४० सालमा पहिलोपटक भारतको बाटो भएर काठमाडौं आएका उनी दोस्रो २०४६ सालमा राजधानी आउँदा रेडियो नेपालको स्वर परीक्षामा सहभागी भए। ‘तीन महिनापछि नतिजा आयो। पास भए। पहिलोपटक ‘फूलबारी’ कार्यक्रममा गीत रेकर्ड गरेर धनगढी फर्किएँ।’ उनले ‘पैयाँ गुड्न लाग्या बम्बै जान्या रेलगाडीका पैया गुड्न लाग्या’ बोलको गीत गाएका थिए।

तत्कालीन समयमा सुदूरपश्चिमका गीतलाई काठमाडौंमा ठाडी भाका भनेर थाहा नभएको उनी स्मरण गर्छन्। २०४६ सालमा पहिलोपटक रेडियो नेपालमा आफूले ठाडी भाका रेकर्ड गराउँदा त्यो भन्दा अगाडि कसैले पनि ठाडी भाका रेकर्ड नगरेको उनी भन्छन्।

‘मैले पहिलोपटक ठाडी भाका रेकर्ड गराएँ। त्यो भन्दा अगाडि परिमल स्नेहीले गाएका थिए। २००७ सालमा यज्ञराज भट्टले रेडियो नेपालमा गीत गाएका थिए तर संग्रहमा छैन। उहाँले भोकल टेष्टमा नभएर एउटा कार्यक्रममा गाएको थिएँ’, उनले भने।  

संगीत सिक्नका लागि उनी मुम्बइ पनि गए। तर लामो समय बस्न भने सकेनन्। वरिष्ठ संगीतकार आनन्द कुमारलाई भेटेको उनले सम्झिए, ‘उहाँ (आनन्द कुमार) ले मेरो गीत सुन्नुभयो। आवाज ठीक भयो तर रागसँगै शास्त्रीय संगीत सिक्न सल्लाह दिनुभयो।’  

पछिल्लो समय सुदूरपश्चिमको गीत संगीतको दायरा बढ्दै गएकामा खुसी छन् उनी। पुराना दिनलाई स्मरण गर्दै उनले भने, ‘पहिले सुदूरपश्चिमको गीत संगीत सीमित ठाउँमा थियो। बिस्तारै आफू लगायतका कलाकारले राष्ट्रियस्तरमा पुर्‍याउने प्रयास गर्‍यौ। अहिले पूर्वका दर्शकले पनि देउडा रुचाउन थालेका छन्।’  

उनी अगाडि थप्छन्, ‘नेपाली चलचित्रमा समेत देउडा फ्लेबर आउन थालेको छ।’  

सुदूरपश्चिममा उदाइरहेका नयाँ कलाकारले देउडा संगीतमा राम्रो प्रयास गरिरहेको उनको बुझाइ छ। ‘नयाँ जहिले पनि राम्रै हुन्छ। अहिलेका भाइबहिनीले पनि राम्रो गरीरहेका छन्। उनीहरुको उज्वल भविष्यको कामना गर्छु,’ उनी भन्छन्, पुनाले किसिमले गीत गाएँ, नयाँले नयाँ किसिम र नयाँ स्वाद दिन खोज्दैछन्। तर आफ्नो पहिचानलाई मेटाउँनु भने हुँदैन।’

आफ्नो अनुभव स्मरण गर्दै भट्टले भने, ‘धेरैले अहिले ठाडी भाका मन पराउँदैनन्। कन्सर्टतिर ठाडी भाका गाउँदा दर्शक एताउता छरप्रष्ट हुन्छन्।’  

कलाकारले अध्ययन गरेर त्यसको गहिराइमा पुगेर सृजना गरेको संगीत आमदर्शक तथा स्रोताले मन पराउने गरेको उनको भोगाइ छ। ‘नबुझ्ने संगीत पनि हामीले सुनिरहेका हुन्छौ। कहिलेकाहीं हामीले नबुझ्ने भाका पनि मन पराइरहेका हुन्छौ। त्यसैले सुदूरपश्चिमको भाका पश्चिम नेपालमा मात्रै सीमित छैन।’

प्रकाशित: ११ भाद्र २०७८ २०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App