८ वैशाख २०८१ शनिबार
भिडियो

पाँच वर्षपछि रानीपोखरीमा पानी भरियो

काठमाडौंस्थित रानीपोखरीमा ५ वर्षपछि पानी भरिएको छ। राजधानीकै प्रमुख आकर्षण केन्द्र मानिने रानीपोखरीमा २ करोड लिटर पानी हालिएको हो। रानीपोखरीमा विगतमा जस्तै सुन्दरीजलको स्वच्छ पानी हालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।  

‘प्राचीन समयमा शिवपुरीबाट राजकुलोमार्फत पानी ल्याएर हालिन्थ्यो भन्ने इतिहास छ। अहिले त्यसो गर्न सम्भव हुँदैन। मेलम्चीको खानेपानी पाइप लाइनबाट सुन्दरीजलकै पानी भर्ने काम भइरहेको छ। पाँच वर्षपछि रानीपोखरीमा पानी भरिएको हो,’ नागरिकन्युजसँग उनले भने।

उनका अनुसार रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर छ। जसको ९ फिट गहिराइमा पानी भरिएको हो।  वि.सं. २०७२ को भूकम्पले क्षति पुर्याएको रानीपोखरी अहिले पुनर्निर्माण अन्तिम चरणमा पुगेको ज्ञवालीले जानकारी दिए। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरका रूपमा निर्माण भएको रानीपोखरी सुन्दर र मनमोहक स्वरूपमा देखिएको उनले बताए।  

‘रानीपोखरी पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ। रानीपोखरीलाई थप आकर्षक बनाउने, गार्डेन बनाउने काम भइरहेका छन्। मन्दिर रङरोगन गरिरहेको मन्दिरमा सुनको गुजुर राख्न बाँकी छ। रानीपोखरीलाई पूर्ण रूप दिने तयारी भइरहको छ,’ उनले थपे।  

बालगोपालेश्वर मन्दिर प्रताप मल्लका पालामा बनेको शैलीमा बनाइएको छ।  रानीपोखरीको स्वरूप, प्रविधि र संरचना पनि प्राचीनकालकै रहेको उनले बताए।  

‘पोखरीभित्र माटोको प्रयोग गरेर निर्माण गरिएको छ। चुना, शुर्खी र इँटाको प्रयोगबाट मन्दिरवरिपरि भाग निर्माण भएका छन्। निर्माण समाग्री पनि प्राचीन युगमा प्रयोग गरिएको छ,’ उनले भने।  

उनका अनुसार प्राचीन स्वरूपका इँटा नै प्रयोग गरिएका छन्। पुरानै शैली, पुरानै समाग्री, पुरानै प्रक्रिया र शैलीमा रानीपोखरी निर्माण गरिएको उनको दाबी छ।  

जसले गर्दा प्राचीनता उजागर तथा सम्पदा÷संस्कृतिको जगेर्ना हुने गरी पुरानै शैलीमा रानीपोखरी बनाउन पुनर्निर्माण प्राधिकरण लागिपरेको उनको भनाइ छ।  

एक सातापछि रानीपोखरी पुर्निर्माणका सबै काम सम्पन्न हुने अनुमान छ। विशेष सांस्कृतिक पर्वसँगै रानीपोखरीको उद्घाटन गरिनेछ।  सुरुमा रानीपोखरी कंक्रिटले बनाइएको भन्दै आलोचना भए तापनि त्यसलाई सच्याउँदै विज्ञ, सरोकारवाला, संरक्षणविदको सल्लाहमा प्राचीनता जोगाउने गरी निर्माण गरिएको उनले बताए।  

‘रानीपोखरीप्रति अहिले सर्वसाधारण सन्तुष्ट छन्। अब रानीपोखरी महत्वपूर्ण सम्पदाका रूपमा स्थापित भएको छ। राजनितिक दल, संरक्षणविदलगायत सम्पूर्ण जनताको हार्दिकताले रानीपोखरीलाई पुरानै शैलीमा फर्काउन पााएकामा आनन्द लागेको छ,’ उनले भने।  

प्रकाशित: ३ आश्विन २०७७ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App