८ वैशाख २०८१ शनिबार
भिडियो

जनकपुर आइपुग्यो रेल, स्टेशनमा मानिसहरूको भीड

जनकपुर–जयनगर रेल सेवा

न्यारोगेजमा संचालन हुँदै आएको जयनगर –जनकपुर रेल सेवा शुक्रबारबाट ब्रोडगेजमा संचालनका लागि परीक्षण सेवा सुरु गरिएको छ। रेल सेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको इतिहासमा पहिलो हो।

नेपालमा पहिलो पटक बेलायत सरकारले रक्सौल–अमलेखगन्ज रेल सेवा १९८४ मा संचालनमा ल्याएको थियो। त्यो रेल सेवा  शूरु भएको ३८ वर्षपछि २०२२ मा बन्द भएको थियो। उक्त रेलसेवाले तराई मधेसका मानिसलाई मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्त पुर्याएको थियो। पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे।

विक्रम संवद १९९४ मा जयनगर–जनकपुर– बिजलपुरा रेल सेवा सुरु भएको बताइएको छ। करिब ५२ किलोमिटरको यो रेल सेवा सुरुमा कोइलाबाट चल्थ्यो। पछि डिजेल इन्जिन सुरु भयो। यो  बेला रेल सेवा मानिस ओहोरदोहोर गर्न भन्दा पनि मालसामान ओरापसार गर्न सुरुवात भएको थियो। पछि त्यसमा मानिस बस्ने बोगी थपियो।  

७६ वर्षपछि पछि ०७१ माघदेखि यो रेल सेवा पनि बन्द भयो। यो रेल सेवा बन्द भएपछि यस भेगका जनताको भारतीय बजार जयनगरसँगको द्रूत सम्पर्क पनि रोकियो। जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन हुँदै आएको यो रेल सेवा ०५८ सालदेखि जयनगर –जनकपुरमा सीमित भएको थियो। कारण थियो, महोत्तरीको बिजलपुरा खण्डमा भत्केको पुल मर्मत नहुनु।

भारतीय सरकारको आर्थिक सहयोगमा छ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाकाका लागि रेल्वे लाइन निर्माण भैरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे लाई निर्माण पूरा भए पनि शुक्रबार परीक्षण सेवा सुरु गरिएको रेल विभाग जनकपुरले जनाएको छ।  

नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो। उक्त दुवै रेल निर्माण भएर बिहीबार जयनगर रेल्वे स्टेसनमा आइएर रोकिएको थियो। शुक्रबार त्यो रेलको परीक्षण यात्रा जनकपुरसम्म ल्याएर गरिँदै छ। रेल विभागका जनकपुर साइट इन्जिनियर विनोद प्रसाद ओझाका अनुसार शुक्रबार ट्रायलका लागि भारतको जयनगर स्टेसनबाट रेल जनकपुर आउन लागेको हो।

लामो समयको अन्तरालपछि रेल आउन लागेको खबर प्रसार भएपछि जनकपुर रेल्वे स्टेसनमा मानिसहरुको भिड लागेको छ। कोरोना कहरको बेवास्ता गर्दै उर्लेको भींड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे परेको छ। 

प्रकाशित: २ आश्विन २०७७ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App