coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

कोरोनाले फेरिदियो दैनिकीः पहिले फिल्म सुटिङमा अहिले कुखुरा पालनमा

कोरोना महामारी नभइदिएको भए यतिबेला फिल्म सुटिङमा व्यस्त हुन्थे, शेषराज सुवेदी। किनकि यो फिल्म सुटिङ हुने सिजन हो। कतिपय फिल्म यतिबेला रिलिज हुने तरखरमा हुन्थे। तर कोरोना कहरका कारण अहिले ती सबै गतिविधि ठप्प भएका छन्।  

जसको परिणाम २५ वर्षदेखि चलचित्रको प्रकाश व्यवस्थापकका रूपमा कार्यरत सुवेदी बाँच्नका लागि वैकल्पिक बाटो अपनाउन बाध्य भएका छन्। अर्थात् ६ महिनादेखि बेरोजगार उनले घर खर्च चलाउनकै लागि कुखुरापालन सुरु गरेका हुन्।  

‘जीवनमा वैकल्पिक व्यवसाय पनि हुनुपर्ने रहेछ। अहिले नसोचेको विपत्ति आयो,’ सुवेदी भन्छन्, ‘हामीजस्ता श्रमजीविलाई बडो मुस्किल छ। अहिले कुखुरापालनले मेरो जीवनले नयाँ कुराको अनुभूति गर्न पाएको छ।’

उनले घरको छतमा २ सय कुखुरा पाल्न सुरु गरेका हुन्। कुखुराको व्यापार राम्रै छ। अहिले उनको आम्दानीको स्रोत यही बनेको छ।  

यतिबेला फिल्म सुटिङ हुन्थ्यो भने त्यसैबाट मनग्य कमाइ हुन्थ्यो। विडम्बना, परिस्थिति यस्तो भइदियो कि बाँच्नसमेत कठिन भयो। यसै क्रममा थोरै लगानीमा आम्दानी गर्न सकिने व्यवसाय कुखुरापालन लागेको उनी बताउँछन्।  

संसारले नसोचेको विपत्ति आयो। यतिबेला नेपाली चलचित्र क्षेत्रको भविष्य अन्योल छ। कोरोना महामारी कहिले अन्त्य होला र फेरि फिल्म सुटिङ सुरु होला? अहिले धेरैजसो श्रमजीवि चलचित्रकर्मी यही प्रतीक्षामा छन्।  

तर कहिलेसम्म पर्खिने? अन्योल र असुरक्षित भविष्यको त्रासले कैयौं चलचित्रकर्मी मनोरोगी बनिसके।  

चलचित्रकर्मी शेषराज सुवेदीलाई सुरुमा गत चैत ११ गते लकडाउन घोषणा गरिँदा खासै चिन्ता लागेको थिएन। किनकि उनलाई लागेको थियो– कोरोना केही दिनमा सामसुम होला। तर यो त दिनप्रतिदिन झन् झन् भयावह हुँदै गयो।  

‘सुरुमा लकडाउन हुँदा केही दिन मात्रै होला भन्ने सोचेको थिएँ, तर लामो समयसम्म यो नहटेपछि निराशा पैदा हुन थाल्यो,’ उनी भन्छन्, ‘यतिबेला प्रविधिमा काम गर्ने धेरै साथीलाई अप्ठ्यारो छ। मैले त बरु आफूलाई आम्दानीको बाटोतिर डोर्याएँ।’

कुखुरापालनको सोच

एक जना छिमेकी भाइ लोकल कुखुरापालन गर्छन्। तिनै भाइले शेषराजलाई पनि घरमा त्यत्तिकै चिन्तित बनेर बसिरहनुभन्दा कुखुरापालन गरेर आम्दानी गर्नु उत्तम उपाय भएको सुझाव दिए। सुझाव मात्रै दिएनन्, उनले उधारोमा कुखुरासमेत मिलाइदिए।  

‘फिल्ममा काम नगरेको लामो समय भइसकेको थियो। कमाएको पैसा पनि सकिइसकेको थियो,’ सुवेदी सुनाउँछन्, ‘उनै भाइले  उधारोमा कुखुरा मिलाइदिन्छु भनेपछि मात्रै आँट आयो।’

शेषराजले अहिले घरको छतमा कुखुरा फर्म बनाएका छन्।  अहिले उनका दिन कुखुरालाई दानापानी दिएर बित्ने गरेका छन्। उनी भन्छन्, ‘दैनिक दुई÷चारवटा कुखुरा बिक्री भइरहेका छन्। यो, आम्दानीको राम्रो स्रोत बनिरहेको छ।’

यसघि उनले कुखुरापालन मात्र होइन, फिल्मबाहेक जीवनमा अन्य कुनै काम गरेका थिएनन्। भन्छन्, ‘फिल्ममा काम गर्नुभन्दा कुखुरा पाल्न निकै गाह्रो रहेछ। तर जीवनमा नयाँ सिकाइचाहिँ भयो।’

झन्डै तीन देशकदेखि फिल्म क्षेत्रमा क्रियाशील शेषराजले  ‘एक्सन कट’ नसुनेको आधा वर्ष भइसक्यो! अहिले कम्ता न्यास्रो लागिरहेको छैन।  

दैनिक पिकनिक गएजस्तो हुन्थ्यो। फिल्मको ठूलो टिमसँग काम गर्दा जीवन त्यसैत्यसै रमाइलो हुन्थ्यो। हिरो÷हिरोइनसँग गफिँदा दिन बितेको थाहै हुँदैनथ्यो। तर जब लकडाउन सुरु भयो, तब उनलाई दिन काट्नै मुस्किल हुन थाल्यो।  

‘ठूलो टिमसँग रमाइलो गर्दै काम गरेका बानी, कति बेला सुटिङ सुरु होला र लाइट मिलाउन पुगौंजस्तो भइरहेको छ,’ उनी भन्छन्, ‘उमेरहुन्जेल अन्य कुनै पेसा÷व्यवसाय गर्न मन लागेन, अब यो उमेरमा आएर कसरी छाड्न सक्छु र! त्यसैले हातपाउ चलुन्जेल फिल्मकै काम गर्ने सोचमा छु।’

हुन त उनी पर्दा पछाडि काम गर्ने मानिस हुन्। तर पनि फिल्मसँग उनको गहिरो सम्बन्ध छ। यसैले उनलाई कतिबेला यो घातक भाइरस कोरोना हट्ला र फेरि फिल्ममा काम सुरु गरौंजस्तो भइरहेको छ।  

हिरो हुने सपनाले फिल्ममा  

सानैदेखि फिल्म हेर्थे। स्कुलका कार्यक्रममा नाच्थे। फिल्मप्रति आकर्षणले राम्रोसँग पढ्न पनि सकेनन्। एसएलसी पनि उत्तीर्ण गर्न नसेकपछि उनी बेरोजगार भए। फिल्मसँग पहिलेदेखि झुकाव भएकाले निर्देशक यादव खेरेलसँग उनको पुरानै चिनजान थियो। नभन्दै निर्देशक खरेलले उनलाई २०५२ सालमा स्पोर्ट ब्वाईका रूपमा काममा लगाइदिए।  

‘फिल्ममा हिरो हुन पाए कस्तो हुन्थ्यो होला भन्ने तर्कना आउँथ्यो मनमा। अभिनय गर्न मन लाग्थ्यो,’ उनी विगत सुनाउँछन्, ‘बिस्तारै बुझ्दै गएँ। पहिले अभिनय गर्नेको भन्दा स्पोर्ट ब्वाईको पैसा धेरै हुन्थ्यो। त्यसैले पनि पैसा कमाउनतिर नै लागें।’

०५२ सालदेखि निरन्तर उनी फिल्ममा प्रकाश (लाइट) व्यवस्थापनको काममा संलग्न छन्। श्री स्वस्थानी फिल्मबाट काम सुरु गरेका उनले नासो, भानुभक्त, कागेबेनी, सानो संसार, मिस्टर झोले, साइँली, कबड्डीलगायत दर्जनौं फिल्ममा प्रकाश व्यवस्थापकको भूमिका निर्वाह गरिसकेका छन्।  

आफ्नो रुचिको क्षेत्र भएकाले फिल्ममा काम गर्दा बेग्दै आनन्द प्राप्त हुने शेषराज बताउँछन्।  ‘विदेशमा  पसिना बगाउनुभन्दा आफ्नै देशमा काम गर्नु मज्जा बेग्लै छ,’ उनी भन्छन्, ‘कसैले कसैलाई दबाएर काम गर्न मिल्दैन। सम्मानजनक ढंगबाट काम गर्न पाइएको छ। यसैमा  जीवनको खुसी र आनन्द छ।’  

प्रकाशित: २९ भाद्र २०७७ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App