१६ चैत्र २०८० शुक्रबार
भिडियो

निषेधाज्ञा खुकुलो भएपछि देखिएको चहलपहल

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बिहीबारबाट खुकुलो पारिएको छ। निषेधाज्ञा खुकुलो भएसँगै बजारमा केही चहलपहल देखिएको छ।

बुधबारको निर्णयसँगै पसल, बजार र सार्वजनिक यातायात चल्न सर्तसहित सुचारु भएका छन्। तर पसलहरु बार अनुसार र यातायातहरु जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइनेछ।

त्यस्तै सपिङ मल, कपडा पसल, जुत्ता पसल, फेन्सी स्टोर,  कस्मेटिक पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरी साताको सोमबार, बुधवार र शनिबार मात्र खोल्ने पाईने छ।  

भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ।  

फर्निचर, अटो मोबाइल सम्बन्धी पसलहरु सातामा सोमबार र बुधवार मात्र खोल्न सकिने छ।

खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइने छ।  

विकास निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय र ढुवानीमा प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न दिइने भएको छ।

टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्य मापदण्ड पालना गरी दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाउँने भएका छन्।

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खोल्न दिइने भएको छ। सहकारी संस्थाहरु बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न सकिने छ।

निषेधाज्ञा खोल्ने र बन्द गर्नाले व्यापरीहरु अन्योलमा परेको बताउँछन्।  

भोटाहिटीमा फेन्सी पसल सञ्चालन गर्दै आएकी सविता तामाङलाई भने पसलको भाडा तिर्न विहान बेलुका छाक टार्न पनि गाह्रो भएको बताउँछिन्।  

‘हामीले दैनिक पसल खोल्न पाउनु पर्छ। संक्रमणबाट जोगिन मास्क सेनिटाइजरको प्रयोग गरेका छौं। आउने ग्राहकलाई पनि पालै पालो छिर्न दिएको छौं। हामीसबै सर्तकता अपनाएर काम पसल खोलिरहेका छौं’, उनले भनिन्।  

साताको दुईदिनमा मात्रै खोलेर काठमाडौं बाँच्न पनि मुस्किल हुने उनको भनाई छ। सरकारले व्यपार व्यवासय गरेर खानेहरुको लागि नबुझेर निर्णय गरेको अर्का व्यपारी सोम प्रसाद हुँमागाई बताउँछन्।  

‘मैले ६० जना भन्दा बढीलाई रोजगार दिनु पर्छ। सरकारले गरेकोले नियमित पसल सञ्चालन गर्न दिए हुन्थ्यो। निषेधाज्ञा गर्ने र खुला गर्ने निर्णयले हामी जस्ता व्यापारीहरुको लागि अन्योले बनाईदियो’ उनले भने।  

पसलमा काम गरेर धेरैले आफ्नो रोजगार पाईरहेका छन्। नियमित पसल खोल्न नपाए धेरैले रोजगार नपाउने उनको भनाई छ।

 

प्रकाशित: २५ भाद्र २०७७ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App