नेपालको टिम बलियो भेन्चर्स भारतको मुम्बईमा चलिरहेको अन्तर्राष्ट्रिय ‘रोबोवार्स’ प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपाल विद्यार्थी संघ(नेविसंघ)को प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी टोली टिम बलियो भेन्चर्स रोबोवार्स प्रतियोगिताको फाइनलमा पुगेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बम्बे (आइआइटी–बम्बे)ले मुम्बईमा एसियाकै सबैभन्दा ठुलो ‘टेकफेस्ट’ (विज्ञान तथा प्रविधि महोत्सव) गरिरहेको छ। सोही अवसरमा रोबोवार्स प्रतियोगिता पनि आयोजना गरिएको हो।
६५ भन्दा बढी देशको सहभागिता, कडा विश्वव्यापी प्रतिस्पर्धाका बिचमा नेपाली टोली टिम बलियो भेन्चर्स फाइनलमा पुगेको हो। नेपालबाटै सो प्रतियोगितामा ७ वटा टोलीले सहभागिता जनाएका थिए।
‘यो केवल रोबोटको कुरा मात्र थिएन। विश्वास, टिमवर्क र नेपाली विद्यार्थीहरू विश्व मञ्चमा उभिन सक्छन् भन्ने सन्देश पनि हो,’ इन्जिनियर पुष्कर विक्रम शाहीले फेसबुकमा लेखेका छन्, ‘यस उपलब्धिलाई सम्भव बनाउने सबैप्रति अत्यन्तै गर्व छ।’
प्रकाशित: ८ पुस २०८२ १७:४५ मंगलबार





