३२ असार २०८३ बिहीबार
image/svg+xml
प्रविधि

नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, काम गर्न नसके विकल्प खोजिने मन्त्री तिमिल्सिनाको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना नयाँ सदस्य नियुक्त भएका छन्। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार असार ३२ गते मन्त्रीस्तरीय निर्णयबाट विभिन्न क्षेत्रका विज्ञहरूलाई प्राधिकरणको सदस्यमा नियुक्त गरिएको हो।

नियुक्त हुनेमा लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्र गोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा तथा बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ रहेका छन्।

पदभार ग्रहणअघि नवनियुक्त सदस्यहरूलाई निर्देशन दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार प्राधिकरण देशको दूरसञ्चार क्षेत्रको विकास, विस्तार र नियमनसँग प्रत्यक्ष जोडिएको संवेदनशील निकाय भएकाले जनहितलाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।

उनले प्राधिकरणको नयाँ नेतृत्वको निर्णय र कार्यशैलीले नेपालको दूरसञ्चार क्षेत्रको भावी दिशा निर्धारण गर्ने उल्लेख गर्दै उच्च नैतिकता, पारदर्शिता र उत्तरदायित्वका साथ काम गर्न आग्रह गरे।

मन्त्री तिमिल्सिनाले संस्थागत हित र जनहितविपरीत हुने कुनै पनि गतिविधि सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्दै कार्यसम्पादन प्रभावकारी नभए सरकारले आवश्यक विकल्प खोज्ने चेतावनीसमेत दिए।

उनले भने, “देश र जनताको हितमा काम भएन भने त्यस्तो अवस्था सरकारका लागि स्वीकार्य हुँदैन। जुन दिन तपाईंहरूबाट काम हुन सकेन भन्ने लाग्छ, सरकारले तपाईंहरूको पनि विकल्प खोज्छ।”

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको प्रभावकारी नियमन र व्यवस्थापन प्राधिकरणको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गुणस्तरीय, भरपर्दो र सबै नागरिकको पहुँचमा पुग्ने दूरसञ्चार सेवा सुनिश्चित गर्न संस्थाले सक्रिय र जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए।

प्रकाशित: ३२ असार २०८३ १८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App