४ आश्विन २०८३ आइतबार
image/svg+xml
प्रविधि

एआई विकास सुस्त पार्न चार कम्पनीले मिलेमतो गरेको आरोपमा मुद्दा दायर

एन्थ्रोपिक, ओपनएआई, स्पेसएक्सएआई र गुगलले एआई विकासको गति कम गर्न आपसमा सम्झौता गरेको आरोपमा अमेरिकामा मुद्दा दायर भएको छ।

एपीका अनुसार शुक्रबार क्यालिफोर्नियाको उत्तरी जिल्लाको अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर भएको हो। मुद्दामा यी कम्पनीले एआई विकास सुस्त पार्न मिलेर काम गरेर प्रतिस्पर्धाविरोधी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ। यस्तो सहमतिले च्याटजीपीटी, क्लाउड, ग्रोक र जेमिनीजस्ता सशुल्क एआई सेवाका ग्राहकले पाउने लाभ घट्न सक्ने दाबी गरिएको छ।

मुद्दामा गरिएको दाबीअनुसार यस्तो सहमति मुख्य रूपमा सेप्टेम्बर १२ मा भएको थियो। त्यस दिन एन्थ्रोपिकका प्रमुख कार्यकारी डारियो अमोदेईले एआई सुरक्षा बढाउन यसको विकासको गति कम गर्न उद्योगका कम्पनीबिच सहकार्य गर्नुपर्ने भन्दै ब्लग लेखेका थिए।

त्यसै दिन ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यान, स्पेसएक्सएआईका प्रमुख कार्यकारी एलन मस्क र गुगल डिपमाइन्डका सह-संस्थापक तथा अध्यक्ष डेमिस हासाबिसले अमोदेईको प्रस्तावमा सार्वजनिक रूपमा सहमति जनाएका थिए। तर यस्तो सहमतिको तयारी त्यसअघि नै सुरु भएको मुद्दामा दाबी गरिएको छ।

जुलाई २०२६ मा प्रमुख एआई कम्पनीका उच्च अधिकारीहरूले जारी गरेको एउटा विज्ञप्तिमा एआई विकासको गति एकतर्फी रूपमा कम गर्न आफूहरूमाथि रहेको प्रतिस्पर्धाको दबाबबारे उल्लेख गरिएको थियो। विज्ञप्तिमा एआई विकासको गति कम गर्ने विश्वव्यापी प्रयासमा सरकारले सहयोग गर्नुपर्ने माग गरिएको थियो।

मुद्दा दायर गर्ने पक्षले एआईका ठुला प्रतिस्पर्धी कम्पनीले आपसमा मिलेर विकासको गति प्रतिस्पर्धाबाट स्वाभाविक रूपमा हुनेभन्दा कम राख्ने सहमति गर्नु प्रतिस्पर्धाविरोधी भएको दाबी गरेको छ।

च्याटजीपीटी, क्लाउड, ग्रोक र जेमिनीका चार जना सशुल्क ग्राहकका तर्फबाट वकिलहरूले मुद्दा दायर गरेका हुन्। उनीहरूले ती सेवाका अन्य सशुल्क ग्राहकलाई पनि समेट्ने गरी देशभर लागू हुने वर्गीय मुद्दा बनाउन माग गरेका छन्।

वादीहरूले कम्पनीले सुरक्षा कारणले आफ्नै एआई विकासको गति कम गर्ने निर्णय गरेकोमा आपत्ति नभएको बताए। तर कम्पनीहरू आपसमा मिलेर विकास सीमित गर्ने सम्झौता गर्नु भने प्रतिस्पर्धाविरोधी कानुन विपरीत हुने उनीहरूको तर्क छ।

वादीका प्रमुख वकिल निक राउलीले एआई सुरक्षा र विकासका नियम ठुला प्रविधि कम्पनीबिचको निजी सम्झौताबाट तय गर्न नहुने बताएका छन्।

एन्थ्रोपिक, ओपनएआई, गुगल र स्पेसएक्सएआईका प्रतिनिधिले यसबारे तत्काल प्रतिक्रिया दिएका छैनन्।

एआई विकासको गति कम गर्न प्रस्ताव गर्दै अमोदेईले लेखेको ब्लगमा यस्तो सहकार्यले कानुनी समस्या निम्त्याउन सक्ने विषय पनि उल्लेख गरिएको थियो। उनले एआई कम्पनीबिच हुने सुरक्षा छलफलमा अमेरिकी सरकारले सहयोग गर्न सक्ने बताएका थिए।

त्यसको जवाफमा अल्टम्यानले ओपनएआईले एआई सुरक्षाका लागि सबै कम्पनीमा समान नियम बनाउने सरकारी ढाँचाको स्वागत गर्ने बताएका थिए। तर त्यसका लागि प्रतिस्पर्धाविरोधी कानुनबाट छुट वा नयाँ कानुन आवश्यक नरहेको उनले बताएका थिए।

एआई मानवको नियन्त्रणभन्दा बाहिर जान सक्ने चिन्ता बढेसँगै पछिल्लो समय यसको विकासको गति कम गर्ने विषयमा बहस बढेको छ। एआई क्षेत्रका धेरै नेताले पनि सुरक्षा मापदण्ड बनाउन र सुरक्षा सम्बन्धी काममा सहकार्य गर्नुपर्ने बताउँदै आएका छन्।

मुद्दा दायर गर्ने पक्षले एआई नियमनका लागि अमेरिकी संसद्, ह्वाइट हाउस वा अन्य सरकारी निकायसँग सहकार्य गर्न कम्पनीहरूले पहल गरेकोमा आफूहरूको आपत्ति नरहेको बताएका छन्। कम्पनीहरूले प्रतिस्पर्धाविरोधी कानुनबाट छुट मागेकोमा पनि आफूहरूको विरोध नरहेको उनीहरूको भनाइ छ।

तर अमेरिकी सरकारसँग यस्तो सहकार्य गर्न कठिन हुन सक्ने देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई नियमनका लागि गरिएको आह्वानको विरोध गरेका छन्। उनले प्रविधिलाई सीमित गर्ने प्रयासलाई ‘षड्यन्त्र’को हिस्सा बताएका छन्। ट्रम्पले शनिबार एआईसम्बन्धी कार्यदल गठन गर्ने र ‘एआई प्रमुख’ नियुक्त गर्ने घोषणा पनि गरेका छन्। तर उनले यसबारे विस्तृत जानकारी दिएका छैनन्।

ट्रम्प प्रशासनले अमेरिकी एआई कम्पनीलाई चिनियाँ कम्पनीभन्दा अगाडि राख्ने विषयमा जोड दिँदै आएको छ। केही डेमोक्रेटिक नेता र उम्मेदवारले एआई नियमनका लागि थप कदम चाल्नुपर्ने बताएका छन् भने रिपब्लिकन नेताहरूले ट्रम्पको अडानलाई समर्थन गरेका छन्।

मिसौरीका रिपब्लिकन सिनेटर जोश हाउलीले हालैको सिनेट सुनुवाइमा ठुला प्रविधि कम्पनीलाई आपसमा सहकार्य गर्न प्रतिस्पर्धाविरोधी कानुनबाट छुट दिन आफू सहमत नभएको बताएका थिए। कम्पनीहरूले मिलेर प्रतिस्पर्धा सीमित गर्न सक्ने उनको तर्क थियो। एजेन्सी

प्रकाशित: ४ आश्विन २०८३ ११:३८ आइतबार