५ भाद्र २०८२ बिहीबार
image/svg+xml १२:२९ अपराह्न
प्रविधि

मिडियाको आम्दानी सुकाउँदै एआई सर्च प्रणाली

Image Credit : Freepik

च्याटजिपिटी जस्ता जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण परम्परागत अनलाइन सर्च ट्राफिकमा कटौती गरेको र समाचार साइटमा पाठकको आगमन घटेको पाइएको छ।

यसले समाचार माध्यमलाई अत्यावश्यक मानिने विज्ञापन आयमा गम्भीर असर पुर्‍याएको छ। आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेका मिडिया उद्योगका लागि यो गम्भीर आघात साबित हुन सक्ने मानिएको छ।

‘आउँदो तीन वा चार वर्ष सञ्चार संस्थाहरूका लागि अत्यन्त चुनौतीपूर्ण हुनेछ। एआईले ल्याएको आँधीबाट कोही पनि जोगिने देखिँदैन,’ बोस्टन ग्लोब मिडियाका अनुसन्धान तथा विकास उपाध्यक्ष म्याथु क्यारोलियन भन्छन्। उनले प्रकाशकहरूले आफ्नै सुरक्षा उपाय बनाउनुपर्ने र त्यसो नगरेमा उनीहरूलाई एआईले बढार्न सक्ने बताए।

यो विषयमा उपलब्ध तथ्यांक सीमित भए पनि पिउ रिसर्च सेन्टरले हालै गरेको एक अध्ययनले गुगल सर्चमा नियमित रूपमा देखिन थालेको एआई–निर्मित निष्कर्ष (समरी) ले प्रयोगकर्तालाई समाचारको मूल स्रोतको लिंक क्लिक गर्नबाट निरुत्साहित गरिरहेको देखाएको छ।

एआई समरी उपलब्ध हुँदा आधाजसो मात्र प्रयोगकर्ताले परम्परागत सर्च इन्जिनमा क्लिक नगर्ने पाइएको छ। आफ्नो आयको ठुलो अंश विज्ञापन तथा सदस्यताबाट आर्जन गर्ने अनलाइन मिडिया साइटका लागि यो निकै ठुलो क्षति हो।

नर्थइस्टर्न विश्वविद्यालयका प्राध्यापक जोन विहबेका अनुसार यो प्रवृत्ति अझ तीव्र गतिमा अघि बढ्नेछ र निकट भविष्यमै बिल्कुलै फरक किसिमको इन्टरनेट देखिन सक्छ।

गुगल र मेटा जस्ता ठुला प्रविधि कम्पनीले यसअघि नै मिडिया विज्ञापन आम्दानीलाई कटौती गरेका कारण धेरै प्रकाशकले सशुल्क सदस्यता (सब्सक्रिप्सन मोडेल) अपनाउन थालेका थिए। यो सब्सक्रिप्सन पनि ट्राफिकमा आधारित हुने भएकाले पाठकले मात्र मिडिया संस्थाहरू टिकिरहन पर्याप्त नहुने प्राध्यापक विहबे बताउँछन्।

सीमित उपाय

‘बोस्टन ग्लोब समूहले च्याटजिपिटीमार्फत केही नयाँ सब्सक्रिप्सन बढाएको छ र यो सम्भावित पाठकसम्म सम्पर्क स्थापित गर्ने एउटा नयाँ माध्यम हो,’ क्यारोलियन भन्छन्, ‘तर अन्य प्लेटफर्म र अत्यन्त साना सर्च इन्जिनभन्दा पनि यी आकडा अत्यन्त थोरै छन्।’

परप्लेक्सिटी जस्ता अन्य एआई–सञ्चालित उपकरणले झन् थोरै सब्सक्रिप्सन आकर्षित गर्न सफल रहेको देखिएको छ। यो अपरिहार्य परिवर्तनसँग जुध्न सञ्चार संस्थाहरूले ‘परम्परागत सर्च इन्जिन अप्टिमाइजेसन’ को सट्टा ‘जेनेरेटिभ इन्जिन अप्टिमाइजेसन (जिइओ)’ को प्रयोग गर्न थालेका छन्।

जिइओअन्तर्गत एआई मोडलहरूका लागि स्पष्ट रूपमा लेबल गरिएको सामग्री, राम्रो संरचना, बुझ्न सकिने भाषा र रिडिट जस्ता फोरममा उपस्थितिलाई प्राथमिकता दिइन्छ, जहाँबाट एआई कम्पनीहरूले डेटा संकलन गर्छन्।

‘तर यो अवस्थामा पनि उठने प्रश्न के हो भने के तपाईंले ओपनएआईलाई आफ्नो वेबसाइट र सामग्री स्क्यान गर्न दिनु हुन्छ ?’ ओटर्लीएआई नाम गरेको अप्टिमाइजेसन स्टार्टअप्सका प्रमुख कार्यकारी अधिकृत थोमस पिहाम भन्छन्।

ठुला एआई कम्पनीद्वारा आक्रामक रूपमा गरिने डेटा संकलनबाट आहत भएका कैयन सञ्चार संस्थाहरूले आफ्ना सामग्रीहरू एआई सर्चबाट जोगाउन थालेका छन्। ‘हामीले यतिसम्म त सुनिश्चित गर्नैपर्छ कि हाम्रा सामग्री प्रयोग गर्ने कम्पनीले त्यसको न्यायसंगत मूल्य तिर्दैछन्,’ न्यूज मिडिया अलायन्स ट्रेड संगठनकी प्रमुख ड्यानियल कोफे भन्छन्।

यो दिशामा केही सकारात्मक प्रगति पनि भएको छ। न्युयोर्क टाइम्स र अमेजन, गुगल र एसोसिएटेड प्रेस, तथा मिस्टाल र एएफपीबीच आपसी सम्झौता भएको छ। तर समस्या अझै समाधान भएको छैन। विशेषगरी न्युयोर्क टाइम्सले ओपनएआई र माइक्रोसफ्टविरुद्ध दायर गरेको ठुलो मुद्दाको विषयमा कानुनी लडाइँ जारी छ।

क्रल गर्न दिने त ?

त्यसो त प्रकाशकहरू पनि द्विविधामा छन्। एआई क्रललाई अवरुद्ध गर्दा आफ्ना सामग्री सुरक्षित त हुन्छन् तर सम्भावित नयाँ पाठकसम्म पुग्ने सम्भावना पनि घट्छ। यो चुनौतीसँग जुध्ने क्रममा कैयन मिडिया नेतृत्वले पहुँचलाई खुला गर्न थालेको पिहाम बताउँछन्। तर खुला पहुँचले मात्र सफलताको ग्यारेन्टी हुँदैन।

ओटर्लीएआईको तथ्यांकअनुसार, च्याटजिपिटीले उद्धृत गर्ने स्रोतमा मिडिया आउटलेटहरुको सेयर केवल २९ प्रतिशत छ जबकि कर्पोरेट वेबसाइटहरूले ३६ प्रतिशत हिस्सा ओगटेका छन्। ‘परम्परागत रूपमा गुगलले विश्वसनीय स्रोतलाई प्राथमिकता दिँदै आएको भए पनि च्याटजिपिटीमा यस्तो देखिन्न,’ पिहाम भन्छन्।

यो चुनौती केवल व्यापार मोडलको विषयमा सीमित छैन। रोयटर्स इन्स्टिच्युटको सन् २०२५ को डिजिटल न्युज प्रतिवेदनअनुसार २५ वर्षमुनिका करिब १५ प्रतिशत मानिसले अहिले समाचार प्राप्तिका लागि जेनेरेटिभ एआईको प्रयोग गरिरहेका छन्।

एआईको स्रोत र विश्वसनीयतासम्बन्धी प्रश्नहरू अझै नसुल्झिएको अवस्थामा यस प्रकारको प्रवृत्तिले यसअघि सामाजिक सञ्जालले गरेजस्तै पाठकलाई समाचारको उत्पत्ति र विश्वसनीयताबारे भ्रममा पार्न सक्छ।

‘कुनै न कुनै बेला कसैले समाचार संकलन त गर्नैपर्छ। त्यस्तो अवस्थामा मौलिक पत्रकारिताबिना यी एआई प्लेटफर्महरूसँग समरी गर्न केही पनि सामग्री हुँदैन,’ क्यारोलियन भन्छन्।

यही कारणले गुगलले यसअघि नै समाचार संस्थासँग साझेदारी गर्दै आफ्नो जेनेरेटिभ एआई सुविधाहरूलाई सुधार गर्ने प्रयास गरिरहेको र यो सम्भावित समाधानतर्फ सही संकेत हुन सक्छ।

‘मलाई लाग्छ प्लेटफर्महरूले पत्रकारिताको मूल्य बुझेका छन्, यद्यपि त्यो बुझाइ समयमै हुने हो कि होइन, त्यो भने अझै खुला प्रश्नकै रूपमा बाँकी छ,’ विहबे भन्छन्।

प्रकाशित: २० श्रावण २०८२ २१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App