coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

चुनावको जानकारी जनता माझ पुर्‍याउन 'मेरो प्रतिनिधि डट कम' सुचारु

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको चुनावको जानकारी जनता माझ पुर्‍याउने उद्देश्यले 'मेरो प्रतिनिधि डट कम' उद्घाटन गरिएको छ। मेरो प्रतिनिधि टोलीले नेपालमा राजनीतिक जानकारीको अभावलाई पूरा गर्ने र सुसूचित मतदान संस्कृतिको विकास गर्ने उद्देश्यले www.meropratinidhi.com को औपचारिक रूपमा उद्घाटन गरेको हो।

वेबसाइट मंसिर आम निर्वाचन २०७९ का ५६०० उम्मेदवारहरूको जानकारी प्रोफाइलहरू राखेर सुरु भइ सबै नेपाली राजनीतिज्ञहरूको जानकारी निरन्तर अपडेट हुने डाटाबेस प्रस्तुत भएको छ। वेबसाइटमा मतदातले आफ्नो निर्वाचन क्षेत्र चयन गरी उम्मेदवारहरुको उमेर, ठेगाना, शिक्षा, निर्वाचन घोषणा पत्र, राजनीतिक इतिहास, भिजन, कार्य योजनाहरू, र कुनै पनि सान्दर्भिक जानकारीको थप लिंकहरू हेरी सुचित मतदान निर्णय गर्न सक्ने छन्।

वेबसाइटमा मतदाताहरूले नाम वा प्रदेश/जिल्ला/चुनाव क्षेत्रका आधारमा उम्मेदवारहरू सर्च गर्न र लिंग/उमेर/राजनीतिक दलअनुसार फिल्टर गर्न सक्छन्। मतदाताले यस वेबसाइटमार्फत् कुनै पनि दुई उम्मेदवारबीचको जानकारी तुलना गरी ती जानकारीको आधारमा आफ्नो मतदान निर्णयलाई अझै सशक्त बनाउन सक्ने छन्। सबै उम्मेदवारको सम्पूर्ण जानकारी लगातार संकलन भइरहने भएकोले वेबसाइट डाटाबेस लगातार अपडेट भइरहेको छ। वेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा पहुँचयोग्य छ।

नेपालमा निर्वाचन आयोगले निर्वाचनको केही साताअघि मात्रै उम्मेदवारको नामावली सार्वजनिक गर्छ। यसले मतदाताहरूलाई सूचित मतदान निर्णय गर्न आवश्यक पर्ने मुख्य, भरपर्दो जानकारी प्राप्त गर्न गाह्रो बनाउँछ। लोकप्रिय राजनीतिज्ञहरूको जानकारी विभिन्न च्यानलहरूमा प्रशस्त र पहुँच योग्य छ। यद्यपि, नयाँ र कम ज्ञात उम्मेदवारहरूको जानकारी व्यापक रूपमा उपलब्ध छैन।

जनतामाझ परम्परागत शैलिमा हुँदै आएको निर्वाचन प्रचार प्रसारमा गर्ने नेताहरुको भाषणमात्रैको आधरमा भन्दा पनि एक सुचित मतदातले सोच विचार गरी मतदान निर्णय गर्न सघाउने उद्देश्यले यस वेबसाइट बनाइएको वेबसाइट निर्माता अजय यादवले जनाएका छन्।

२०७९ वैशाखको स्थानीय निर्वाचनमा यी समस्याहरु भोगेपछि मेरो प्रतिनिधिका संस्थापकहरूले राजनीतिज्ञहरूको केन्द्रीकृत, स्ट्याण्डर्ड डाटाबेसको कल्पना गरेका थिए। नेपालमा बढ्दो इन्टरनेटको प्रयोगलाई ध्यानमा राख्दै, राजनैतिक जानकारीको अभावलाई सम्बोधन गर्न  यो टोलीले यस डिजिटल उपकरणको बिकास गरिरहेको छ।

मंसिर निर्वाचन २०७९ बाहेक मेरो प्रतिनिधिले यस प्लेटफर्मलाई सबै राजनीतिज्ञ र राजनीतिक दलहरूको जानकारी भएको बृहत् प्लट्फोर्मको  रूपमा विस्तार गर्न चाहन्छ। मेरो प्रतिनिधिको कोर टोलीमा अब्बल ढकाल, अजय यादव, गौरव जंग पाण्डे, अदिति सिंह, कैलाश यादव र सृजन स्थापित सहित छ जना सदस्यहरू छन्।

बृहत् कार्यकारी टोलीमा १९ जिल्लाका सक्रिय युवाहरु (डिस्ट्रिक्ट एम्बासेडरहरु) छन् जसले उम्मेदवारको पहुँच र तथ्यांक संकलनका लागि करिब ९० जना स्वयंसेवकहरूलाई परिचालन गरिरहेका छन्। धेरै जिल्लाहरूमा सक्रिय युवाहरूको बलियो सञ्जालद्वारा सञ्चालित मेरो प्रतिनिधि एक साधारण सूचना वेबसाइटभन्दा बाहिर एक सुसूचित र शिक्षित नेपाली मतदान संस्कृति स्थापना गर्ने लक्ष्यका साथ सामूहिक युवा नेतृत्व समुहको रुपमा  विकसित भएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App