सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ इलिनोय, अर्बाना स्याम्पेनमा 'क्राउड सोर्स म्यापिङ एन्ड ओपन डाटा'मा पिएचडी सकाएका बुढाथोकीले भूकम्प प्रभावित क्षेत्रको जानकारी दिन र राहत पुर्यााउन त्यही ज्ञान प्रयोगमा ल्याए।
१३ गतेबाटै उनी 'ओपन स्ट्रिट म्याप' अर्थात् 'जनताले जनताका लागि बनाउने, जनताको पकड र पहुँचको नक्सा बनाउने' काममा जुटिहाले। त्यसो त उनले भूकम्पअघि नै सहकर्मीसँग मिलेर नक्सासहितका एकीकृत सूचना वा सूचनासहितका नक्सा दिने अभियानको थालनी गरेका गरिसकेका थिए, काठमाडौ लिभिङ ल्याब्स नामक संस्थामा रहेर।
'राजधानी र राजधानीबाहिरका केही जिल्लाको म्यापिङ गर्दै थियौं,' उक्त संस्थाका कार्यकारी निर्देशक रहेका बुढाथोकीले भने, 'भूकम्पपछि यही कामलाई प्रभावित जिल्लामा लागू गर्यौंा।' भूकम्प प्रभावित जिल्लाको म्यापिङ गर्ने काममा संसारभरका आठ हजार स्वयंसेवीको साथ पाएको उनी बताउँछन्। त्यस बेला स्याटलाइट इमेज हेरेर युरोप र अमेरिकामा बस्नेहरू पनि म्यापिङका लागि खटिइरहेका थिए।
भूकम्प प्रभावित क्षेत्रको डिजिटल नक्सा तयार गर्दैगर्दा उनले त्यसकै आधारमा वैशाख १४ गतेबाट पीडितको अवस्था र आवश्यकताबारे जानकारी दिन 'क्वेकम्याप डट ओआरजी' नामक वेबसाइट खोले। 'सुरुका दिनमा दुई सयसम्म रिपोर्ट आए,' उनी भन्छन्, 'हामी ती रिपोर्ट राहतमा खटिएका सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थालाई फरवार्ड गर्थ्यांै।' यसबाट पीडितहरूको बारेमा दातालाई सहजै जानकारी भएको उनी दाबी गर्छन्। उनका अनुसार हालसम्म भूकम्प प्रभावित क्षेत्रबाट दुई हजार रिपोर्ट आइसकेका छन्।
'रिपोर्टमा उल्लेख भएका समस्या र उक्त स्थानको नक्सा हेरेर राहत पुर्याईउन सजिलो बन्दै गयो,' उनले भने, 'जिल्ला–जिल्लामा रहेका संघसंस्थाले पनि फोन गरेर यसबारे बु‰ने काम गरे।' प्रभावित क्षेत्रको नक्सा र पीडितको अवस्थाबारेको रिपोर्टकै आधारमा अन्योलमा रहेका राहत–दाताहरूलाई सहज भएको उनको भनाइ छ।
के हो ओपन स्ट्रिट म्याप?
'ओपन स्ट्रिट म्याप' (ओएसएम) लाई नक्साको विकिपेडिया भन्ने गरिन्छ। सन् २००० को मे महिनामा जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) खुला भएसँगै यसले गति लिएको हो। स्मार्टफोनमा सहजै उपलब्ध रहेको जिपिएस सेवालाई प्रयोग गरेर स्वयंसेवीले प्रभावित क्षेत्रको अवस्था जानकारी गराउन सक्छन्। आफूलाई लागेको कुरा सोसल मिडियामा पोस्ट गर्न सकिएजस्तै ओएसएममा पनि जानकारीहरू अपलोड गर्न सकिन्छ। यसमा स्वयंसेवकले पाएको जानकारीलाई भेरीफाई गर्दै पोस्ट गर्छन्।
बुढाथोकीको संस्थामा पनि भूकम्पलगत्तै ४० स्वयंसेवी सूचनाको व्यवस्थापनमा जुटेका थिए। भूकम्पको परकम्प घटेसँगै स्वयंसेवीको संख्या घटेको छ। 'बाढीपहिरोको प्रकोपबारे पनि यो नक्सा प्रयोगमा ल्याए राहत तथा उद्धारमा निक्कै सहयोगी हुन्छ,' उनले भने, 'हामी सम्भावित बाढीपहिरो जाने स्थानको म्यापिङमा जुटिसकेका छौं। यसमा सरकारले समेत चासो देखाउनुपर्छ।'
विपद्मा खटिएका कतिपयले काठमाडौं ल्याब्सले तयार गरेको नक्सा डाउनलोड गरेर मुद्रणसमेत गरेका छन्। 'हाम्रो कार्यालयमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि बुझ्ने काम गरिरहनुभएको छ,' बुढाथोकी भन्छन्, 'यसको उपयोगिता बढेर गएको छ।'
काठमाडौं लिभिङ ल्याब्स
सन् २०१३ मा खुलेको नक्सासहितका एकीकृत सूचना वा सूचनासहितका नक्सा दिने अभियान हो— केएलएल अर्थात् काठमाडौं लिभिङ ल्याब्स। स्वयंसेवकका रूपमा खटिएका युवाले उद्धार तथा राहतका लागि काम लाग्ने सूचना संकलन गरी अनलाइनमा हाल्छन्। त्यही हेरेर विदेशबाट आएका सैन्य टोलीको संयोजन गरिरहेको नेपाल सेना होओस् वा राहत बाँडिरहेका दर्जंनौ संघसंस्था; राहतका लागि कहाँ कस्तो समस्या छ, त्यो विश्लेषण गर्छन् र राहत पुर्या उँछन्।
व्यवस्थित बसोबास नभएकाले कुन घर कहाँ छ, कुन टोल कता छ भन्ने पत्ता लगाउन असिनपसिन हुनुपर्ने अवस्थामा यसखाले नक्साले मोबाइलमै दिशानिर्देश गर्न सक्छ। 'नक्सा बनाउने काम कहिले सम्पन्न भइसक्दैन,' बुढाथोकी भन्छन्, 'यो त एउटा प्रक्रिया हो, तपाईं कति विस्तृत जानकारी राख्न चाहनुहुन्छ, तपाईंमै भर पर्छ।'
यस्ता नक्सा कति डाउनलोड भइरहेका छन् र कति मुद्रण भइरहेका छन् भन्ने उनीहरूको सरोकार हुँदैन। उनीहरू त आफूले पोस्ट गरेअनुसार भूकम्प प्रभावितहरूले चाहेअनुसार राहत पुग्यो/पुगेन भनेर अद्यावधिक गर्दै नयाँ सूचना थप्ने ध्याउन्नामा हुन्छन्।
प्रकाशित: १८ असार २०७२ २१:२७ शुक्रबार





