स्कुलमै आधारित रहेर सञ्चालनमा आएको सबै कार्यक्रम भूकम्पले स्कुल ध्वस्त हुँदा कम्प्युटर, पाठ्यपुस्तक, ई–लाइब्रेरी, वायरलेस प्रणालीसहित सबै सखाप भएका छन्। प्रत्येक गाविसका उच्चमावि र माविहरु केन्द्र थिए। यस भेगका सबै स्कुल भवन भूकम्पले ध्वस्त हुँदा पूर्वाधारको नामोनिसान छैन।
समूहले जिल्लाको देउपुरभेगका ३ र मण्डनक्षेत्रका ४ गाविसलाई समेटेर नमूनाका रूपमा (पाइलटिङ) ई–भिलेज सुरु गरेको थियो। मण्डनका ज्याम्दी, चण्डेनी, जैसीथोक, महादेवस्थान र देउपुरका नयाँगाउँ, गैरीबिसौना, बालुवापाटी गाविस ई–भिलेज सञ्जालमा जोडिएका थिए।
नयागाउँ देउपुरस्थित महाकाली उच्च मावि, गैरीबिसौना देउपुरस्थित ब्रह्मायणी मावि, चण्डेनीमण्डनको चण्डेनी मावि, बालुवापाटी देउपुरको महाँकाल माविसहित सो भेगका अधिकांश स्कुलका भवनहरु यतिखेर कामै नलाग्ने भएका छन्।
भुकम्प अघिसम्म यीनै मध्येका माविस्तरका स्कूलहरुले इमेल ईन्टरनेटका साथै कम्प्युटर विज्ञान र सूचना प्रविधिबारे शिक्षा दिन थालिसकेका थिए। दिउँसो विद्यार्थीलक्षित भए पनि बिहान
बेलुकी टेलिसेन्टरका रूपमा ११ ठाउँबाट कृषि, स्वास्थ्य, रोजगारीलगायतका सूचना उपलब्ध हुन्थ्यो।
‘विद्यालय नै नभएपछि सबै थोक डुब्यो,’ सापकोटाले भने, ‘अब सबै कुरा शून्यबाटै सुरु गर्नुपर्ने भयो। नत्र यतिखेर हामी जिल्लाका अरु गाविसमा समेत यो कार्यक्रम विस्तार गरिरहेका हुने थियौं,’ उनले थपे। सूचना प्रविधिको प्रयोगबाट छिमेकी मुलुकले शिक्षा, स्वास्थ्य र कृषिमा गरेको प्रगतिबाट हौसिएका उनी काभ्रेपलाञ्चोक जिल्लाका सबै गाउँलाई यस्तै सन्जालमा जोड्ने अभियानमा निरन्तर जुटेका थिए।
सबैतिरबाट प्रशंसा र माग भएको ई–भिलेज अभियान नरोकिनेमा उनी दृढ देखिन्छन्। यसका लागि सहयोगी र सरोकारवाला संस्थासँग सम्पर्क भइरहेको पनि उनले बताए। ‘सुरु गर्न कसरी सकिन्छ भनेर छलफल हुँदैछ, नत्र एउटा जेनेरेसन नै ग्याप हुन्छ,’ सापकोटाले चिन्ता व्यक्त गरे।
तत्कालै वैकल्पिक व्यवस्था गर्न नसकिए नियमित पढाइसमेत अवरुद्ध हुने उनको भनाइ छ। ‘जेठ ३ गतेदेखि पढाइ सुरु गर्ने सरकारी योजना सुनिएको छ, भत्केका विद्यालय भवन देख्दा चर्चरी मन दुख्छ, शिक्षा मन्त्रालय र विभागले चासो लिन ढिलो भइसक्यो,’ संस्थाको तर्फबाट देउपुरमा राहत वितरण गर्दै रहेका सापकोटाले भने।
प्रकाशित: २६ वैशाख २०७२ ००:४१ शनिबार





