२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

टेलिकम र एनसेललाई निःशुल्क फ्रिक्वेन्सी

काठमाडौं-नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई ४–४ मेगाहर्ज फ्रिक्वेन्सी एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ।

भूकम्पका कारण धेरै टावरहरुमा क्षति पुगेकाले गुणस्तरमा ह्रास आउन सक्ने भन्दै गुणस्तर वृद्धि गर्न प्राधिकरणले दुई सेवा प्रदायकलाई थप फ्रिक्वेन्सी निःशुल्क दिएको हो।
 भूकम्पले मोबाइल टावरहरु नोक्सान भएका र पहिलेको तुलनामा धेरै मोबाइल प्रयोग हुने भएकोले हाल प्रयोगमा नरहेको ९०० मेगाहर्जमा थप फ्रिक्वेन्सी उपलब्ध गराउन सकेमा हाल भएकै टावरबाट पनि गुणस्तर वृद्धि हुने भएकोले निःशुल्क फ्रिक्वेन्सी उपलब्ध गराएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए।
 

प्राधिकरणले थप फ्रिक्वेन्सी उपलब्ध गराउनुको अलावा प्राधिकरणबाट के कस्तो सहयोग भएमा सेवा प्रदायकहरुले भूकम्प पीडित क्षेत्रका जनतालाई के कस्तो सुबिधा र राहत दिन सक्छन् भन्ने कुराको ठोस प्रस्ताव माग गरी सो को आधारमा राहत सुविधाको घोषणा गर्ने पनि प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भूकम्पपीडितलाई राहत प्रदान गर्न प्राधिकरणको तर्फबाटपाँच करोड, प्राधिकरणका अध्यक्ष र अधिकृतस्तर कर्मचारीले पन्ध्रदिनको र सहायक एवं श्रेणाीविहीन कर्मचारीको सात दिनको तलब र प्राधिकरणका अध्यक्ष तथा सदस्यले पाँच वटा बैठकको भत्ता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा निर्णय गरेको छ।

प्राधिकरणले भूकम्पका बेला टेलिकमबाट भ्वाइस, एसएमएस, डाटा सेवा  निःशुल्क उपलब्ध गराईएको यसैगरी एनसेलबाट निःशुल्क एसएमए र मौजदात  सकिएको अवस्थामा प्रत्येक पटक २० रुपैयाँ ब्यालेन्स रकम थप गरी निःशुल्क सेवा उपलव्ध गराईएको साथ युटिएलबाट सात दिनसम्म आफ्नो नेटवर्कमा निःशुल्क सेवा दिएको जानकारी गराएको छ।  भारतबाट विएसएनएल, एमटिएनएल र एयरटेलले नेपाल आउने अन्तर्राष्ट्रिय कलहरु स्थानीय कल सरह उपलब्ध गराएकोमा सोबापत नेपालमा लाग्ने चार्जमा छुट दिएकोे छ।
 

भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क हुन नसक्ने वा कठिन भएका स्थानहरुमा सञ्चार सेवा सहज बनाउन आइटियुसँग सहकार्य गरी ३५ थान स्याटेलाईट फोन र १० थान इन्टरनेट टर्मिनल स्याटेलाईट, २५ थान सोलार प्यानेल चार्जर र १० थान ल्यापटप र तीनका सामग्री सूचना तथा सञ्चार मन्त्रालय मार्फत गृह मन्त्रालयलाई उपलब्ध गराएको छ।
 

प्राधिकरणले अप्टिकल फाइबर चुडिएको स्थानहरुमा तत्कालै नेटवर्क पुर्‍याउन विद्युत प्राधिकरणको पोलमार्फत अप्टिकल फाइबर केबल जडान गरेको तथा उक्त स्थानमा सञ्चार सेवा अवरुद्ध हुन नदिन माइक्रोवेभ फ्रिक्वेन्सी उपलब्ध गराउने कार्यलाई अगाडी बढाएको छ।

प्रकाशित: २४ वैशाख २०७२ २१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App