५ माघ २०८२ सोमबार
image/svg+xml
प्रविधि

फेसबुकमा बन्देज

विश्वभर लगभग १ अर्ब ३९ करोड (१.३९ बिलियन) प्रयोगकर्ता भएको संसारकै ठूलो आमसञ्चारको माध्यम हो, फेसबुक। यसमा हरेक पल संसारका हरेक कुनामा रहेका व्यक्तिले केही न केही हालिरहेको वा हाल्न खोजिरहेको हुन्छ। त्यसमा केके पर्छ हामी कल्पनासम्म पनि गर्न सक्दैनौं।गत सोमबार फेसबुक कम्पनीले फेसबुकमा केके पोस्ट गर्न पाइँदैन भन्ने जानकारी सार्वजनिक गरेको छ। समाजमा उत्तेजना तथा हिंसा पैदा गर्ने कुनै पनि सामाग्री फेसबुकमा राख्न पाइने छैन। यद्यपि यसो गर्दा कसैको सूचनाप्रतिको हक भने कुण्ठित हुन नहुनेमा फेसबुक सचेत रहेको बताइन्छ। फेसबुक प्रयोगकर्ता विभिन्न देशका विभिन्न तह तप्का, धर्म र समुदायका छन्। जसले गर्दा पनि फेसबुकमा के गर्न हुने वा नहुने भन्नेमा फेसबुक आफैं द्विविधामा थियो।
अब फेसबुकमा कुनै पनि हिंसात्मक सामग्री पोस्ट गर्न पाइँदैन। हिंसालाई बढावा दिने वा त्यसको समर्थन गर्ने खालका सामग्री पनि निषेध गरिएको छ। त्यस्तै आतंकवादसँग संलग्नता देखिने सामग्री राख्न पनि पाइनेछैन। कसैलाई गालीबेइज्जती गर्न फेसबुकमा निषेध गरिएको छ। आत्महत्या गर्न अभिप्रेरित गर्ने सामग्री पनि निषेधको सूचीमा छ।
फेसबुकमा सुरुदेखि नै अश्लील क्रियाकलापका सामग्रीमा बन्देज लगाइएको छ। महिलाहरूले खुल्ला स्तन देखाएको फोटो राख्न नपाए पनि आमाले शिशुलाई दूधपान गराइरहेको फोटो राख्न भने कुनै बन्देज छैन। फेसबुकले पहिलोपल्ट ‘रिभेन्ज पोर्न’ (बेइज्जत गराउने उद्देश्यले बनाइएको अश्लील भिडियो वा फोटो) लाई पनि बन्देज गरेको छ। कुनै व्यक्तिले त्यस्तो प्रकारको व्यक्तिगत तस्बिर सेयर गर्न चाहन्छ भने तस्बिरमा भएका अन्य व्यक्तिसँग अनुमति लिनुपर्नेछ। टि्वटरले पनि आफ्नो नयाँ नियममा ‘रिभेन्ज पोर्न’लाई बन्देज लगाएको छ।
यति सबै हुँदा पनि फेसबुकले प्रयोगकर्ताको सामग्री आफैं स्क्यान गरेर भने हटाउनेछैन। यसका लागि प्रयोगकर्ताले नै उजुरी गर्नुपर्छ र उजुरी गरेको ढिलामा ४८ घन्टाभित्र यस्ता सामग्री हटाइन्छन्।
फेसबुकका अनुसार २०१४ को अन्तिम ६ महिनामा मात्रै उसले स्थानिय कानुन उल्लंघन गरेका ९ हजार ७ सय ७ वटा पोष्ट हटाएको थियो। जसमध्ये भारत सरकारले मात्रै ५ हजार ८ सय ३२ त्यस्ता पोस्ट हटाउन आग्रह गरेको थियो।

प्रकाशित: ६ चैत्र २०७१ १९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App