२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

कपडाबाट मोबाइल चार्ज

बेला न कुबेला चार्ज सकिएर मोबाइलले धोका दिने गर्छ। मोबाइलमा भएका फिचर र हाम्रोजस्तो देशमा विद्यमान लोडसेडिङले चार्ज सकिन झनै मद्दत पुर्‍याएको छ। यस्तै मर्कामा पर्नेहरूका निम्ति खुशीको खबर छ।अमेरिकाको लस एन्जलसस्थित ‘सिल्भर लाइनिङ' नामक कम्पनीले कपडामै सोलार प्यानल राखेर मोबाइल चार्ज गर्नसकिने प्रविधिको विकास गरेको छ। जसलाई अमेरिका र चीनका शोधकर्ताहरूले पुष्टि गरिसकेका छन्। उक्त सोलार प्यानलले मोबाइलका साथै जीपीएस र ट्याब्लेट पनि चार्ज गर्न सकिनेछ।  
सोलार ड्रेसेज फोटोभोल्टाइक सेल भनिने उक्त प्रविधिले यस्तो उपकरणका रूपमा काम गर्छ, जसले मोबाइललाई सजिलैसँग चार्ज गर्न सकिन्छ। यो फोटोभोल्टाइक ब्याट्रीको निर्माण सिलिकनजस्तै अर्धसुचालक पदार्थबाट बनाइएको छ। यो प्रविधिले सूर्यको किरण जब फोटोभोल्टाइक ब्याट्रीमा पर्छ, तब त्यसबाट प्राप्त ऊर्जालाई सेमी–कन्डक्टरसम्म पुर्यापउने काम गर्छ। सेमीकन्डक्टरमा रहेका इलेक्ट्रोनहरूको सम्पर्कमा आएसँगै उक्त सौर्यऊर्जा विद्युतमा परिणत हुन्छ।
सिल्भर लाइनिङ कम्पनीले सौर्य ब्याट्री प्रविधिमा आधारित आफ्ना पहिरनहरू बजारमा ल्याइसकेको छ। त्यसमा स्टाइलिस ज्याकेट, प्यान्टलगायत छन्। यी कपडामा सौर्य ऊर्जा प्यानलको निकै कलात्मक ढंगले प्रयोग गरिएको छ। कम्पनीका अनुसार यी कपडा त्यस्ता मानिसका लागि उपयोगी छन्, जो कुनै न कुनै कामका लागि घर वा कार्यालयबाट टाढा रहन्छन्।
सुरुवाती अवस्थामा यो प्रविधि जडित कपडा निकै महँगा भएकाले उपभोक्ताको रोजाइमा पर्न सकेका छैनन् र ती कपडा विश्वव्यापी पनि बन्न सकेका छैनन्। त्यसैले यो प्रविधिलाई सस्तो बनाउनुसमेत चुनौतीका रूपमा रहेको छ।

प्रकाशित: ५ चैत्र २०७१ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App