गत चैत्र २६ गते भएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालहरुको भेलाले दिवसलाई सफलतापूर्वक सम्पन्न गर्न क्यानका अध्यक्ष विनोद ढकालको संयोजकत्वमा मुलआयोजक समिति गठन भएको थियो। उक्त समितिले नेपाल भरी नै अप्रिल २६ देखि मे २ तारिख सम्म नेपालभर सप्ताहव्यापी रुपमा सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरेको छ।
दिवसको अवसरमा शुक्रबार बिहान सूचना प्रविधिको प्रयोगलाई सर्वसाधारणमाझ प्रोत्साहन गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। प्रभातफेरी विहान भृकुटीमण्डपबाट सुरु भई नेपाल पर्यटन बोर्ड, भ›काली, शहिदगेट न्युरोडगेट, रत्नपार्क, पुरानो बसपार्क हुदै फेरी भृकुटी मण्डपमा आई समापन हुनेछ।
दिवसमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई विभिन्न तीन विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार समेत प्रदान गरिने छ। आइसिटी एक्सलेन्स अवार्ड अर्न्तगत एक जना व्यक्ति, बेस्ट आइसिटी युजर इन प्राइभेट सेक्टर अन्तर्गत निजी क्षेत्रको एक संस्था र बेस्ट आइसिटी युजर इन पब्लिक सेक्टर अन्तर्गत एक सरकारी निकायलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिने संयोजक ढकालले बताए। उक्त पुरस्कारको आवेदन तथा सिफारिसको लागि गत वैशाख १० गते सम्मको समयावधी तोकिएको थियो।
सन् २०११ बाट प्रदान गर्न सुरु गरिएको उक्त पुरस्कार २०११ मा सञ्जीव राजभण्डारी (आइसिटी एक्सलेन्स अवार्ड), काठमाडौं मोडेल अस्पतालको टेलिमेडिसिन प्रोजेक्ट (वेस्टआइसिटी युजर इन प्राईभेट सेक्टर) र आन्तरिक राजस्व विभाग (बेस्ट आइसिटी युजर इन पब्लिक सेक्टर)ले प्राप्त गरेका थिए। २०१२ मा मुनीबहादुर शाक्य, ठमेल डट कम र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले पाएका थिए। २०१३ मा विजयकृष्ण श्रेष्ठ र निलकण्ठ उप्रेतिलाई संयुक्त रुपमा र वेस्ट आइसिटी युजर इन प्राईभेट सेक्टर अवार्ड ई–सेवालाई प्रदान गरिएको थियो।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका उत्कृष्ट अभ्यासहरुलाई सोही दिन सर्वसाधारण माझ प्रस्तुत गर्ने कार्यक्रम छ। साँझ बेस्ट प्राक्टिस वर्कसप र पुरस्कार वितरण हुने छ। कार्यक्रमका प्रमुख अतिथिमा उपराष्ट्रपति परमानन्द झालाई निम्त्याइएको अयोजकले जनाएका छन्।
प्रकाशित: १८ वैशाख २०७१ २१:३५ बिहीबार