१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २३:२३ अपराह्न
प्रविधि

एक्स्पोको आकर्षण- मोबाइल, ल्यापटप र इन्टरनेट

काठमाडौं-केही दिन अघिदेखि भृकुटी मण्डपको प्रदर्शनी हल प्रविधिमय बनेको छ। मोबाइलको स्टलमा होस या ल्यापटप स्टलमा प्रविधिप्रेमीहरुको उपस्थिति बाक्लै देखिन्छ।ललितपुरकी सञ्जु शर्मा आइसिटीको एक्स्पो कहिल्यै छुटाउँदिनन्। क्याम्पियन कलेजमा बिबिए अध्ययनरत सञ्जु भन्छिन ‘आइसिटी एक्स्पोमा हरेक वर्ष नयाँ नयाँ प्रविधिबारे जानकारी लिन पाइन्छ र केही खरिद गरिहाले पनि भारी छुटमा पाइन्छ।' वेब डेभलपर, डिजाइनर, र सूचना प्रविधिमा उनको विशेष चासो छ। 
काठमाडौंकी उपासना श्रेष्ठ थि्रजी सिमको लाइनमा भेटिइन्। हजारौ अवलोकनकर्ताको आकर्षण बनेको नेपाल टेलकमको स्टलमा उनीजस्ता ग्राहकहरु थि्रजी सेवामा रामाउन चाहेको प्रस्ट देखिन्थ्यो। ‘अरु बेलामा २ सय पर्ने सिम यो मेलामा सयमा टक टाइम भ्याल्युमा पाएपछि लिनपर्‍यो,' इन्टरनेटसँग हरेक पल जोडिन चाहने उनले भनिन् ‘ हामीजस्ता विद्यार्थीको लागि यो उत्साहजनक छुट हो '। 
ल्यापटप खरिद गर्न सोच बनाएकाहरु लाई पनि एक्स्पो राम्रो थलो बनेको छ। विभिन्न सुविधायूक्त ल्यापटप भारी छुटमा उपलब्ध भएको देखेर काठमाडौं कोटेश्वर बस्दै आएका सुशील पन्तले एउटा ल्यापटप खरिद गर्ने सोच बनाए। ‘आज त हेर्न मात्र आएको धन्न भोलि सम्म लम्बिएछ, भोलि किन्नपर्ला, ' उनले भने। 
आइसिटी एसोसियसन अफ नेपालको आयोजनामा बिहीबार देखि सुरु भएको एक्स्पोमा नयाँ नयाँ प्रविधिहरु सार्वजनिक भएको संस्थापक सिएन उपाध्यायले बताए । ‘विगत ७ वर्षदेखि एक्स्पो गर्दै आएका छौं, पहिलेपहिले घरमै बोलाउन जाँदा पनि कोही आउँदैनथ्यो,' उनले भने ‘चार पाँच वर्ष यता भने थामिनसक्नुको भीड हुन्छ।' कलेजहरुले आइटी शिक्षाको विकास गर्दै गएपछि यो क्षेत्रमा विद्यार्थीको चासो बढ्दै गएको उनको अनुभव छ। विद्यार्थीलगायत कर्पोरेट क्षेत्रका कर्मचारी, विज्ञ, बैंकर, शिक्षकहरुको पनि चासो निकै बढ्दै गएको उनले बताए। 
यसपाली विशेष आकर्षण भने मोबाइल, ल्यापटप र नेपाल टेलिकमको थि्रजी सिममा रहेको उपाध्यायले जानकारी दिए। मेलामा युवावर्गकै उपस्थिति बढी देखिन्छ। ‘सूचना प्रविधिको क्षेत्र निकै फराकिलो बन्दै गएको छ,' उपाध्यायले भने। ‘ब्ल्याक डे' मा पनि बिक्रेताहरुले व्यापार तथा उत्पादन प्रवर्द्धन गर्न पाएको उनले बताए। मेलामा नेपाली विद्यार्थीहरुको बनाएको १० ओटा भन्दा बढी सफ्टवेयर पनि अवलोकनकर्ताको आकर्षण बनेको थियो। 
मेलाको पाँच दिनसम्ममा ३ लाख अवलोकनकर्ताले भ्रमण गरेको संघले जानकारी दिएको छ। 
नेपाल टेलिकमका वरिष्ठ सहायक शंकर मल्लका अनुसार सुरुको दिनदेखिनै टेलिकमको स्टलमा भीडभाड थियो। सोमबार सम्म पाँच हजारभन्दा बढी थि्रजी सिम बिक्री भएको उनले जानकारी दिए। ल्यापटप, सामसङ स्मार्ट फोनलगायत इन्टरनेट सेवा प्रदायक सुबिसु, भायानेटको स्टलमा पनि यूवाको बाक्लै भीड देख्न सकिन्छ। मेलामा सूचना प्रविधि सम्बद्ध नयाँ उपकरण सहित बैंक एवं वित्तीय, कम्प्युटर सुरक्षा, शिक्षा, स्वास्थ्य क्षेत्रका उपयोगी सफ्टवेयर प्रदर्शन गरिएको छ। मोबाइल, ल्यापटप, ट्याब्लेट, टेलिभिजन आदिको पछिल्ला संस्करणहरु मेलाका थप आकर्षण बनेको छ। 
आइसिटी एक्स्पो विभिन्न कम्पनीको लागि नयाँ उत्पादन सार्वजनिक गर्ने थलो बनेको छ। ग्यालेक्सी टेक्नोलोजी प्रालीले रगगियर ब्रान्डको मोबाइल पहिलोपटक नेपाल भिœयाउने तयारी गरेको छ। कम्पनीले एक्स्पोमा विशेषता र सुविधासहितको सो मोबाइल प्रदर्शनमा राखेको छ।

सोमबार ‘ब्ल्याक डे' सेल 
आइसिटी एसोसियसन अफ नेपालको आयोजनामा राजधानीमा सञ्चालन भइरहेको सातौं आइसिटी इलेक्ट्रोनिक्स एन्ड ब्रान्डिङ एक्सपो २०१४ मा सोमबार ‘ब्ल्याक डे सेल' को रुपमा विद्युतीय सामग्रीहरुमा भारी छुटमा बिक्री भयो। आयोजकका अनुसार एक्सपोमा आउने ग्राहकहरुलाई छुटमा सामान बिक्री गर्न र आकर्षण बढाउनका लागि ‘ब्ल्याक डे' को आयोजना गरिएको एसोसियसनका संस्थापक सिएन उपाध्यायले बताए हो। आइसिटी एसोसियसन नेपालले गत वर्षदेखि नेपाली बजारमा ‘ब्ल्याक डे सेल' सुरु गरेको हो। मेलामा विभिन्न बिक्रेताले दुई देखि ८० प्रतिशतसम्मको छुट उपलब्ध गराएका थिए। सोमबारसम्म हुने प्रदर्शनीलाई प्रदर्शकको आग्रह र अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका कारण एक दिन थपिएको छ।

प्रकाशित: १५ वैशाख २०७१ २१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App