१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:५७ पूर्वाह्न
प्रविधि

एटिएमबाट चोरी रोक्न प्रविधि

काठमाडौं - तपाईले कमाएको पैसा बैंकमा जम्मा छ र जोखिमको कारण नगद प्रयोग नगरी एटिएम वा एसटिसी कार्ड प्रयोग गर्नुभएको छ भने त्यो कार्ड पनि पर्समा रहुञ्जेल सुरक्षित हुन्छ जब एटिएमएम मेसिनमा छिर्छ एटिएम कार्डको डाटा चोरिएर पैसा पनि चोरिन सक्छ।


केही महिनाअघि विभिन्न बैंकका एटिएम मेसिनबाट नक्कली एटिएम कार्ड बनाएर गिरोहले लाखौं रकम झिकेका थिए। प्लाष्टिक मनीको रुपमा लिइने कार्ड पनि सुरक्षित नभएपछि बैंकर र सेवाग्राही चिन्तित अवस्थामा रहेका बेला नेपालमा नै पहिलो पटक कार्डलाई सुरक्षित बनाउने 'म्याग्नेटिक कार्ड प्रोटेक्टर' आएको छ। विश्वबजारमा प्रयोगमा आइसकेको कार्ड प्रोटेक्टरलाई सुपरनोभा इन्टरकण्टिनेण्टलले नेपालमा ल्याएर बिक्री शुरु गरेको छ। पछिल्लो प्रविधीद्धारा निर्मित टर्किस कम्पनी एसडी ग्रुपको उत्पादन म्याग्नेटिक कार्ड प्रोटेक्टेर एटिएम मेसिनको भित्री भागमा जडान गरेपछि कार्डको डाटा र पैसा चोरिने सम्भावना हुँदैन।  

सुपरनोभाका प्रबन्ध निर्देशक रोहितकुमार बोहराले नेपालमा पछिल्लो पटक एटिएमकार्ड र पिओएसकार्डबाट रकम चोरिने घटना बढ्दै गएपछि विश्वबजारमा सुरक्षित मानिएको कार्ड प्रोक्टेटर मेसिनलाई नेपालमा भित्राइएको बताए। दिनदिनै कार्डबाट पैसा हराउन थालेको उजुरी बढ्दै गएपछि कार्ड प्रोक्टेटर सुरक्षाकवज हुन्छ भनेर ल्याएका हौं, हामीले यसमा व्यावसायिक सोच मात्र राखेका छैनौ सेवाग्राहीलाई सुविधा र ढुक्क हुने वातावरणका लागि पनि भित्राएका हौं, उनले भने।

एटिएम र पिओएस मेसिनबाट पैसा निकाल्ने गिरोहले एटिएम मेसिनको कार्ड रिडरमाथी दुरुस्तै देखिने नक्कली कार्ड रिडर राख्ने र त्यसबाट कार्डको डाटा कपी गरेर लिने अनि कम्प्युटरमा डाटा हेरेर इनकोडरमार्फत नयाँ वा पुरानो कार्डमा कपि गरेर त्यो कार्ड मेसिनमा प्रयोग गर्ने गर्छन्। कार्ड प्रयोग गरेपछि गिरोहले पासवर्डका लागि एटिएम मेसिनको किप्याडमाथी पारदर्शी वा दुरुस्तै देखिने नक्कली नम्बर प्याड राख्ने गर्छन्। त्यो प्याडमा छापिएको औंठाको छापले कुन नम्बर थिचेको हो त्यो पत्ता लगाएर पासवर्ड मिलाउने गर्छन्। त्यही पासवर्ड र कार्ड प्रयोग गरेर मेसिनबाट पैसा निकाल्ने गर्छन्।


गत वर्ष पुषमा नायक जीवन लुइँटेलकी सासु रुपमा शर्मा, भिक्षु राजु लामा र रम्देल लामा लगायतको नबिल बैंकको एटिएमबाट सविन रिमाल र रितेश रिमालले मिलेर ८० लाख भन्दा बढि रकम झिकेका थिए। प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि उनीहरुले रकम झिक्ने तरिकाको विषयमा समेत बयान दिएका थिए। प्रहरी र बैंकरलाई समेत थाहा नभएको प्रक्रियाबाट रकम हराउन थालेपछि बैंक र उपभोक्ता केही सचेत भएपनि अझै पूर्ण सुरक्षित हुने अवस्था नभएको समयमा कार्ड प्रोटेक्टेर मेसिन नेपाल भित्रिएको हो।

गिरोहहरुले कार्ड र कार्ड रिडर मेसिन धेरैजसो थाइल्याण्डबाट मगाउने प्रहरीले गरेको अनुसन्धानमा समेत देखिएको छ।  सिसीटिभी नभएको एटिएम काउन्टरमा गएर गिरोहहरुले पैसा निकाल्ने गर्छन्। पैसा निकाल्ने गिरोह अन्तराष्ट्रिय गिरोहसँग पनि सम्बन्ध राख्ने गतवर्ष सविन र रितेशसँग गरिएको बयानमा प्रहरीले तथ्य संकलन समेत गरेको थियो।

एटिएम मेसिनमा जडान हुने कार्ड प्रोक्टेटरलाई वाह््य हस्तक्षेपबाट फुटाउन र असर पार्न नसकिने प्रबन्ध निर्देशक बोहोरा बताउँछन्। कसैले मेसिनलाई विगार्न वा फुटाउन खोज्यो भने एटिएम मेसिनमा रहेको कार्ड रिडरको सिष्टम अटोमेटिक डाउन हुन्छ, जसले गर्दा कुनै असर गर्दैन, उनले भने।

सुपरनोभाले नेपालसहित एसियाका विभिन्न मुलुकमा समेत कार्ड प्रोक्टेक्टरको आधिकारिक डिलर लिएको छ। सुपरनोभाले हङ्गकङ्गमा सिभिओ इलेक्ट्रोनिक्स गु्रपसँग मिलेर क्षेत्रिय कार्यालय राखेर आफ्नो सेवा समेत दिएको बोहोराले बताए। हामीले हङ्गकङ्गमा ८ सय भन्दा बढि एटिएम मेसिनमा 'म्याग्नेटिक कार्ड प्रोटेक्टर' जडान गरिसकेका छौं, उनले भने। नेपालपछि भारतमा आफुहरुले बिक्री शुरु गर्ने उनले बताए।

नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणी ज्ञवालीले एटिएम मेसिनबाट रकम हराउने क्रम रहेपनि अहिले बैंक र सेवाग्राही सचेत भएका कारण घटेको भन्दै बैंकले पछिल्लो प्रविधी प्रयोग गरेर थप सुरक्षा दिन सक्ने बताए। अहिले आवश्यक सुरक्षा अपनाइएको छ तर प्रविधीमार्फत थप सुरक्षित भयो भने अझ राम्रो हुन्छ, उनले भने। एटिएम मेसिन राख्ने कम्पनीसँग प्राविधिक सल्लाह गरेर हुन्छ वा नयाँ प्रविधी थपेर हुन्छ, सेवाग्राहीको रकम सुरक्षित हुनुपर्छ, उनले भने।

नेपालमा अहिले विभिन्न बैंकका १० वटा एटिएम मेसिनमा कार्ड प्रोटेक्टर मेसिन जडान गर्ने लागिएको बोहरा बताउँछन्। हामीले जडानका लागि प्रत्येक एटिएम मेसिनमा मोडलअनुसार फरक फरक विधी अपनाउँछौं, त्यसका लागि विदेशबाट नै प्राविधिकहरु आउँछन्, उनले भने। हाल नेपाली बजारमा 'म्याग्नेटिक कार्ड प्रोटेक्टर'को मुल्य १ लाख ७५ हजारदेखि २ लाख १० हजारसम्म पर्ने उनले बताए।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल विभिन्न बैंकका १५ सय ६५ एटिएम मेसिन र ३७ लाख ५५ हजार ४ सय ८५ जना डेविट कार्ड तथा ५४ हजार ६४ जना क्रेडिट कार्ड प्रयोगकर्ता रहेका छन्।

प्रकाशित: ९ वैशाख २०७१ २१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App