१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ७:१२ पूर्वाह्न
प्रविधि

भान्सामै फेसबुक

मोबाइल बोकेसँगै गोठाटारकी निर्मला कोइरालाको व्यस्तता बढेको छ। उनी अधिकांश समय मोबाइलबाटै फेसबुक चलाउँछिन्। भान्सा होस् या टिभी रुम, धेरैजसो उनी अनलाइनमै हुन्छिन्। अस्ट्रेलियमा रहेका छोरासँग भाइबरमा कुरा गर्नेदेखि फ्रेन्ड लिस्टमा रहेकासँग च्याट गर्नु उनको रहर बनेको छ।फेसबुक चलाउने बानीले समस्या पनि निम्तिएका छन्, तर त्योभन्दा बढ्ता खुसी उनलाई आधुनिक प्रविधिले दिएको छ। ‘भान्सामा फेसबुक चलाउँदा कतिपटक त तरकारी डढिसक्यो,' उनले हाँस्दै भनिन्, ‘तर चलाउन छाडिएको छैन।' भान्सामा एक्लै बस्दा बोर हुने भएकाले फेसबुक खोलेर बस्ने गरेको उनले सुनाइन्।
कामको सिलसिलामा श्रीमान् कतार गएपछि नै हो उनले फेसबुक चलाउन सिकेको। ‘टेलिफोन महँगो, साइबरमा जान उस्तै झन्झट,' उनी ढुक्क छिन्, ‘त्यसपछि साथीको सहयोगमा आफैं फेसबुक खोलेँ र चलाउन थालेँ।' फेसबुकले गर्दा नै विदेशमा रहेका छोरा र श्रीमान्लाई नजिक ल्याएको उनी बताउँछिन्। ‘अहिले त श्रीमान् घरमै हुनुहुन्छ,' उनी भन्छिन्, ‘विदेशमा रहेको छोरासँग भने नियमित च्याट हुन्छ।'
भान्सामा खाना पकाउँदा छोरालाई फेसबुकबाटै सुनाउने गरेकी छन्, निर्मलाले। ‘ऊ पनि खुसी हुन्छ,' भन्छिन्, ‘हामीसँगै भान्सामा छ जस्तो लाग्छ। नियास्रो मेटिन्छ।'
प्रविधिले भित्याएको नयाँनयाँ सुविधासँगै निर्मलाका श्रीमान् हेम पनि खुसी छन्। तर तरकारी नै डढ्ने गरी प्रविधिको नशामा भुल्न नहुने उनी सुझाउँछन्। ‘समाज प्रविधिमैत्री बन्दै जानु राम्रो हो,' उनले भने, ‘यसको अतिप्रयोगले समस्या पनि निम्त्याउँछ।' श्रीमतीले फेसबुक चलाएकै कारण कतिपटक तरकारीको स्वाद फरक परेको उनको अनुभव छ। ‘बेसारको ठाउँमा खुर्सानी पर्‍यो रे,' उनी हाँस्दै सुनाउँछन्।
निर्मलाको जस्तै शान्तिनगरकी नानीमैया बुढाथोकीको पनि प्यारो साथी बनेको छ, मोबाइल। यसले क्यानडामा रहेकी छोरी र अमेरिकामा रहेका छोरासँग नजिक्याएको छ भन्ने उनलाई लाग्छ। ‘भान्साबाटै भाइबरमा कुरा हुन्छ,' उनले भनिन्, ‘स्काइपमा त उनीहरूको अनुहार हेर्दै कुरा गर्न पाइन्छ।' कम्प्युटरको बेसिक कोर्स पहिल्यै लिए पनि डेढ वर्षयता उनी इन्टरनेट चलाउँदैछिन्। 
पहिलेको समय चिठीपत्र लेख्ने अनुभव सँगालेकी नानीमैया अहिले इमेलसम्म आइपुगेकी छन्। ‘पहिले ओखलढुंगाबाट राजधानी पढ्न आएका श्रीमान्लाई चिठी लेखिन्थ्यो,' उनी सुनाउँछिन्, ‘अहिले विदेशमा रहेका सन्तानलाई इमेल गरिन्छ।' उतिबेला चिठी पुग्न दुई महिना लाग्ने तीतो अनुभव सुनाउँदै उनी भन्छिन्, ‘अहिले त अमेरिकामा खबर पुग्न दुई सेकेन्ड पनि लाग्दैन।' 
गृहिणीहरूले फेसबुकमा गर्ने कुरा भातभान्सा, दालसब्जीकै बढी हुने गरेका छन्। जोरपाटीकी शान्ति चौलागार्इंका अनुसार घरायसी कुरा बढी हुन्छ। ‘तरकारी, अचार के पाक्दैछ भन्नेबारे च्याटमा कुरा हुन्छ,' उनले भनिन्, ‘दिउँसोचाहिँ केटाकेटी र आफन्तबारे सोधखोज गरिन्छ।'
फेसबुकबाटै केटाकेटीबीच प्रेम र विवाह भएका समाचार पढ्दा उनलाई उति अचम्म लाग्दैन। उनको आफ्नै साथीले छोरालाई फेसबुक सर्च गरेर बुहारी खोज्न सुझाएको उनलाई थाहा छ। ‘उनकी बुहारीको फोटोमा हामीले पनि लाइक गर्‍यौं। फेसबुक त ‘पारिवारिक एल्बम' जस्तो भएको छ,' शान्तिको अनुभव छ।
राजधानीमात्र होइन गृहिणीमा फेसबुकको प्रभाव मोफसलतिर पनि निकै परेको छ। ‘गृहिणीको काममा फेसबुकले पनि असर पुर्‍याउन थालेको छ,' विराटनगरबाट यसै साता राजधानी आएका लेखनाथ बास्तोलले भने, ‘इमेल इन्टरनेटको पहुँच बढेपछि भान्सासँगै उनीहरू प्रविधिमा व्यस्त हुन थालेका छन्।' श्रीमती फेसबुकमा व्यस्त रहेका बेला खानासमेत आफैंले पस्कनुपरेको उनले सुनाए। ‘च्याटमा व्यस्त भएपछि भात पस्किन पनि एकछिन है भन्न थाले,' उनले हाँस्दै सुनाए। 
काठमाडौं शान्तिनगरकी गंगा गिरी भने आफूले फेसबुक चलाउँदा घरको काममा समस्या नपरेको बताउँछिन्। ‘पहिले घरको काम सक्छौं, त्यसपछि मात्र फेसबुक,' उनले भनिन्, ‘यसले घरको काम बिगारेको छैन। प्रविधिले त उल्टै गृहिणीलाई नौलो खुसी दिएको छ।'
चाबहिलकी निरु थपलियालाई पनि फेसबुकले खुसी ल्याएको छ। ‘महिलाले चुलोमा बसेर डाडु–पन्यूमात्रै समाएर बस्नुपर्छ भन्ने छैन,' उनले भनिन्, ‘अहिले एक हातमा मोबाइल अर्को हातमा पन्यू।'
होसियार भएर काम गरे कतै पनि हानि नहुने उनको भनाइ छ। ‘समयको ख्याल गरेर फेसबुक चलाए तरकारी पनि डढ्दैन, भात पनि पाक्छ,' उनी भन्छिन्।

प्रकाशित: ६ वैशाख २०७१ ००:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App