पोखराबाट दक्षिणको गाविस भरतपोखरीको ५ वटा वडाका सडक बत्तीले रातभर उज्यालो हुन्छन्। भरतपोखरी—५, ६, ७, ८ र ९ नम्बर वडाका बासिन्दा दिउँसो घामबाट चार्ज हुने र राति बल्ने सोलारबत्तीबाट लाभान्वित हुन थालेको केही महिना भइसक्यो। सडक ग्राभेलमात्रै गरिएको छ। सरर गाडी गुड्ने पिच छैन। गाडी गुड्दा धुलो पनि सँगै उड्छ। तर, यही सडकको सुन्दर पक्ष छ—राति पनि यो उज्यालै भइरहन्छ।
‘अचेल राति पनि बाटोमा टर्च नलिई हिँड्न पाइएको छ,’ स्थानीय केशव लम्सालले भने, ‘उज्यालो भएपछि लुटपाट वा चोरी होला भन्ने डर नहुँदो रै’छ।’ गाउँका बाटोमा मात्रै होइन स्थानीय स्वास्थ्य चौकी र सामुदायिक भवनमा पनि दिनभरि घामको उज्यालो सोसेर राख्ने अनि राति बल्ने सौर्यऊर्जाकै बत्ती छ।
कास्कीका स्थानीय विकास अधिकारी (एलडिओ) ईश्वरराज पौडेललका अनुसार कोरियाली सहयोगमा भरतपोखरी गाउँका बाटोघाटोमा सौर्यऊर्जाबाट बल्ने बत्ती जडान गरिएको हो। उनले गाउँमा ३५ वटा त्यस्ता बत्ती जडान भएको जानकारी दिए। कोरियाको होटल हाइवान होपले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको गाउँको सेवा गर्ने इच्छा देखाएपछि कास्की जिविसले भरतपोखरी छानेको हो।
घाम अस्ताएपछि आफैं बल्ने र उदाउँदा निभ्ने स्वचालित सोलार सडकबत्ती एउटा एकाईका लागि १ लाख रुपैयाँका दरले खर्च भएको जानकारी पनि एलडिओ पौडेलले दिए। ‘वर्षौ टिक्नेखालको ब्याट्री राखिएको छ,’ उनले भने, ‘धेरै वर्षसम्म गाउँलेले कुनै चिन्ता लिनुपर्दैन।’ कोरियाली संस्था हाइवान होपले भरतपोखरीका विभिन्न विद्यालयमा पढ्ने सानाकेटाकेटीलाई समेत सोलार बत्ती वितरण गरेको छ। १ देखि ३ कक्षा भित्रका १८२ विद्यार्थीलाई सोलार लाइट वितरण गरिएको हो। घरमा बिजुली नआएका बेला पनि उनीहरुले पढ्न पाउन् भनेर बत्ती बाँडेको हाइवान होपका नेपाल प्रतिनिधि सुङहुन कीले जानकारी दिए।
उक्त संस्थाकै सहयोगबाट भरतपोखरीको ७ र ८ नम्बर वडामा खानेपानी सेवा पुर्याइएको छ। ३ सय परिवारलाई पुग्ने गरी सवा २ करोड रुपैयाँ लगानी गरी होपले खानेपानी उपलब्ध गराएको हो। डाँडाको फेदीबाट मोटरले तीनपटक तानेर टाकुराको बस्तीमा पानी पुर्याइएको छ। टाकुराको ट्यांकीसम्म आइपुगेको पानी जिविसमार्फत वितरण हुने जानकारी एलडिओ पौडेलले दिएका छन्। ‘उनीहरुले भरतपोखरीलाई नमुना बनाउन चाहेका छन्,’ पौडेलले भने, ‘केही पैसा उनीहरुले लगाएका छन् र केही जिविसले पनि हालेको छ।’
कोरियाली सहयोगमा पानी आएपछि १ घन्टाको ओरालो उकालो गरी पानी बोक्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय गृहिणी ज्ञानुश्री गुरुङले बताइन्। ‘एक गाग्री पानी लिन जाँदा एक बिहान जान्थ्यो,’ उनले भनिन्, ‘अब त करेसाबारीमा तरकारी खेती पनि गर्न पाइएला भन्ने आशा छ।’ पोखरा बस्दै आएकी जमुना शर्माले पानीकै कारण भरतपोखरीको घर पुग्न झन्झट लाग्ने दिन सकिँदा खुसी लागेको बताइन्। ‘पानीकै कारण घर आउन पनि अप्ठेरो लाग्थ्यो,’ उनले भनिन्, ‘अब त हाइसन्चो हुने भो।’
एलडिओ पौडेलका अनुसार खानेपानी र सौर्यऊर्जापछि हाइवान होपले गाउँमा आयआर्जनका गतिविधि गर्ने सोच बनाएको छ। गाईभैंसी र बाख्रा फार्मसँगै तरकारी खेती गर्ने उनीहरुको योजना रहेको जानकारी उनले दिए। पौडेलका अनुसार नेपालको एउटा गाविसको भूगोल जत्रै आकारको डाँडामा रहेको कोरियाली होटल हाइवानमा वर्षेनि दसौं हजार पर्यटक पाहुना पुग्छन्।
प्रकाशित: २४ चैत्र २०७० २२:०६ सोमबार