७ वैशाख २०८१ शुक्रबार
प्रविधि

नेपालमै अक्सिजन सिलिण्डर बनाउन सक्ने प्रविधिको सफल परीक्षण

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको महामारीको जोखिम उच्च रुपमा बढ्दै गएपछि नेपालमा अक्सिजन ग्यास सिलिण्डरको अभाव हुँदै आएको छ। सिलिण्डरमा परनिर्भरता भएकै कारण नेपालमा अक्सिजन सिलिण्डरको हाहाकार बढ्दै आएपछि नेपाली इन्जिनियर वैज्ञानिकहरुले नेपालमै सिलिण्डर बनाउन सक्ने प्रविधिको निर्माण गरी आइतबार सफल परीक्षण गरेका छन्।

ललितपुरमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिण्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन गर्ने प्रविधिको परीक्षण गरेको हो।

कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिण्डरको चरम अभाव भैरहेको बेला नाष्टले नेपालमा उपलब्ध भएको स्वदेशी सामग्रीहरुकै प्रयोग गरि उच्चतम सुरक्षासहितको सिलिण्डर निर्माणको पहिलो चरणको परीक्षण गर्न सफल भएको उपकुलपति सुनिलबाबु श्रेष्ठले बताए।

नाष्टले आइतबार आयोजना गरेको सिलिण्डरको परीक्षण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिण्डरको जडान गरिएको प्रेसर स्वीच अन गरि परीक्षणलाई औपचारिकता प्रदान गरे।

‘नाष्टले स्वदेशमै उपलब्ध स्टीललगाएतका सामग्रीहरुको प्रयोग गरी अक्सिजन सिलिण्डरको उच्च सुरक्षासहितको सिलिण्डर तयार गर्न अब नेपाल सक्षम भएको छ,’ उपकुलपति श्रेष्ठले नागरिकसँग भने, ‘कोरोना महामारीको जोखिमका हामी कहाँ अक्सिजन सिलिण्डरको दैनिक खपत ४० हजार सिलिण्डर आवश्यक रहेको सरकारी तथ्याँक छ। तर हाल हामी विदेशीहरुमा निर्भर छौं। सिलिण्डरको हाहाकारकै कारण विरामीको ज्यान गएको छ।’ उनले थपे, ‘यही समस्यालाई महसुस गरी हाम्रा वैज्ञानिकहरुले नेपालमै सिलिण्डर बनाउने र परीक्षण गर्न सक्ने समेत प्रविधिको विकास गर्नु भएको छ। एक साताभित्र दोस्रो चरणको परीक्षण सम्पन्न भएपछि शिक्षा मन्त्रालयले सरकारसँग स्वीकृतिको प्रकृया अघि बढाउछ।’ 

सरकारले स्वीकृति दिएलगत्तै उत्पादन गर्न योग्य कम्पनीहरुलाई नाष्टले प्रविधि उपलब्ध गराउने उपकुलति सुनिलबाबु श्रेष्ठले बताए। ‘पहिलो चरणको परीक्षणको सफलताले हामीलाई उत्साहित बनाएको छ,’ उनले भने, ‘आजैदेखि निजी कम्पनीहरुले उत्पादनकोलागि चासो देखाउन थाल्नु भएको छ।’

मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे नाष्टको वैज्ञानिकसंग भेटेर त्यसको उच्च सुरक्षाबारे जानकारी लिएका थिए। नाष्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले अब नेपालमै सुरक्षित प्रेसर धान्न सक्ने सिलिण्डर तयार भएको जानकारी दिए।

हाल नेपालको बजारमा उपलब्ध सिलिण्डर १५० बार क्षमता प्रेसर भएको हो। तर नाष्टले आइतबार गरेको परीक्षणमा २३५ बार क्षमता भएको प्रेसरको सिलिन्ड हो। तर नाष्टको लक्ष्य भने ३५० बार प्रेसर क्षमता भएको सिलिन्डिर उत्पादनको प्रविधि विकास गर्नु रहेको उनले बताए।

‘सुरक्षाको अन्तिम उपायसक्कको प्रविधिको दोस्रो परीक्षण एकसाताभित्र हुन्छ ,’ प्रमुख ढकालले भने, ‘सरकारी अनुमति पछि सिलिण्डर उत्पादन गर्ने कम्पनीसंग छलफल गरी व्यवसायीक उत्पादन गर्न नाष्टले अनुमति दिने छ।’

उनका अनुसार नेपालमा पाइने सिलिण्डरको न्युनतम मूल्य करिब १५ हजार पर्ने छ भने नाष्टको प्रविधि प्रयोग भएको सिलिण्डरको करिब १० हजार भन्दा कम मूल्य पर्ने छ।

मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा.सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाल लगायत सबै टिमको प्रसंसा गरेका थिए।

‘हाम्रा वैज्ञानिकहरु सक्षम हुनुहुन्छ। कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, सेनिटाइजर, धुनमिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गर्नु भएको छ’, मन्त्री श्रेष्ठले भने, ‘अब सिलिण्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिण्डर निर्माण गर्ने प्रविधिको सफल परीक्षण गरेर महत्वपुर्ण काम गर्नुभएको छ।’ उनले थपे, ‘अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपुर्ति गर्न सरकार गम्भीर रुपमा लाग्छ। नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको बताउँदै त्यसकोे लागि सरकारको पुर्ण सहयोग रहने मेरो प्रतिबद्धता छ।’

सफल परीक्षण भएको सिलिण्डर वैज्ञानिक शंकर ढकालको समूहले तयार गरेको हो।

सो सिलिण्डरमा ग्यासको दवाव २२५ बारसम्म भए सुरक्षित रहन्छ। परीक्षण गर्दा ग्यासको दवाव २३५ बारसम्म पुगेपछि सिलिण्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो। त्यसैले अन्तिम परीक्षण गर्न बाँकी रहेको हो, प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले जनाए।

मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु बिडम्बना भएकोमा दुःख ब्यक्त गरे। उनले विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने दिन देख्नु पर्ने थिएन भन्दै चिन्ता ब्यक्त गरेका थिए।

विज्ञान सचिव डा सञ्जय शर्माले विज्ञानका क्षेत्रमा नवप्रवर्तक कार्यान्वयनमा ल्याउनासाथ प्रविधि क्षेत्रले ठूलो फड्को मार्ने दाबी गरे उनले विज्ञानको विकासले मात्र समृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक हुनेमा जोड दिए।

प्रकाशित: ५ जेष्ठ २०७८ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App