कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले १९औं संस्करणअन्तर्गत भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा यही २४ गतेदेखि आजसम्म सञ्चालन गरेको सो प्रदर्शनीमा २१९ वटा बिक्री कक्ष राखिएका थिए।
आयोजक संस्थाले चार लाख ५० हजार दर्शकले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको भएपनि चार लाख ३१ हजार ३५० जना दर्शकले अवलोकन गरेको बताइएको छ। प्रदर्शनीमा डेक्सटप, राउटर, ल्यापटप, केयर ल्यापटप, मर्मत मेसिन, बि १०१ मोडेलको मोबाइल, प्याकेजसहितका इन्टरनेट सेवा बुकिङ कक्ष, अडियो भिडियोसहितको इ-क्लास प्रविधिलगायतका सामग्री राखिएका थिए भने डेमोक्रेसी, डिजिटल सोसाइटीमा अभिव्यक्ति स्वतन्त्रतालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो।
क्यानका महासचिव अमृतकुमार पन्तले सूचना तथा विज्ञान प्रविधिको क्षेत्रमा भएका विभिन्न विकासका बारेमा त्यसका प्रयोगकर्ता तथा विभिन्न दर्शकलाई जानकारी दिने र उत्पादनको प्रचार गर्न प्रदर्शनी महत्वपूर्ण रहेको बताए।
उनले नयाँ प्रविधिप्रति दर्शकले देखाएको अभिरुचिले आफूहरुलाई थप हौसला बढाएको भन्दै प्रदर्शनीमा भएको खरिद बिक्रीको कारोवारको सन्दर्भमा तथ्याङ्क आइनसकेको जानकारी दिए। सन् १९९२ मा क्यानको स्थापना भएपछि प्रत्येक वर्ष 'क्यान इन्फोटेक' सञ्चालन हुँदै आएको छ। रासस
प्रकाशित: २९ माघ २०६९ १२:३३ सोमबार





