२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

फेसबुकले ल्यायो ग्राफ सर्च

काठमाडौँ, माघ ३ (एजेन्सी)- मंगलबार राति क्यालिफोर्नियाको मेन्लो पार्कमा आयोजित समारोहमा फेसबुकका सिइओ मार्क जुकरबर्गले नयाँ खालको सर्च सेवा सुरु गर्ने घोषणा गरेका छन्।

फेसबुकको सर्च इन्जिन गुगलको जस्तो वेब सर्च नभएर ग्राफ सर्च हो। फेसबुकमा एक अर्बभन्दा बढी जोडिसकेको भएर त्यसैभित्र सर्च गर्न उसले नयाँ ग्राफ सर्च बनाएको हो।

ग्राफ सर्च र वेब सर्च फरक हुन्। वेबसर्चले विभिन्न शब्दबाट त्यो शब्दसँग मिल्ने रिजल्टहरुको लिंक तपाइँलाई देखाउँछ। ग्राफ सर्चले भने वाक्यबाटै खोज्छ। जस्तै तपाइँले न्युयोर्कमा बस्ने मेरा साथीहरु भनेर खोज्न सक्नुहुन्छ। पोखरामा रहेका साथीहरुको फोटो भनेर खोज्न सक्नुहुन्छ। अमेरिकामा बस्ने साथीहरु कुन कुन रेस्टुरेन्टमा जान्छन् भनी खोज्न सक्नुहुन्छ। मेरो परिवारले घुमेका सहरहरु भनी खोज्न सक्नुहुन्छ। अरुको मात्र किन, तपाइँ आफ्नै बारे पनि खोज्न सक्नुहुन्छ। सन् २०१० अघिका मेरा फोटोहरु भनेर खोज्नुभयो भने पुरानो फोटा तपाइँ सामु देखा पर्छ। मैले लाइक गरेका फोटोहरु भनी खोज्नुभयो भने तपाइँलाई मन परेका फोटोहरु देखापर्नेछन्।

गुगलमा जस्तो यसले भएभरका वेबसाइट खोजेर परिणाम तपाइँ सामु ल्याउने हैन। यसले त तपाइँको नेटवर्कभित्रका साथी र परिवारको मात्रै खोज्ने काम गर्छ।

अहिलेलाई चार सेटमा मात्रै यसले काम गर्नेछ। मान्छे, फोटो, ठाउँ र रुचि। मंगलबारको कार्यक्रममा यसबारे जानकारी दिइए पनि सबैका लागि यो बेटा संस्करण खुला गरिएको छैन। अहिलेलाई तपाइँले प्रतीक्षा सूचिमा दर्ता गराउनसम्म सक्नुहुन्छ।

प्रकाशित: २ माघ २०६९ २३:३० मंगलबार