प्राइमेक्सका बजार तथा सेवा प्रबन्धक दिनेश अग्रवालका अनुसार पावरसट जी-१५ मोडलमा तीव्र स्वचालित फोकस(फास्टेस्ट अटोफोकस) सुविधा छ। 'यो क्यामेरामा भएको क्याननको डिजिक फाइभ इमाजिङ प्रोसेसरले गर्दा तस्बिर खिच्नुपर्ने वस्तुलाई ०.१७ सेकेन्डमा फोकस गर्न सक्छ,' उनले भने, 'यसमा उच्चस्तरीय क्यानन सिएमओएस इमेज सेन्सर, उच्च आइएसओ स्पिडलगायत विशेषता छन्।' यसको क्षमता १२.१ मेगापिक्सेल छ।
यसमा डुअल एक्सिस इलेक्ट्रोनिक लिभिङ सिस्टम छ। यसले गर्दा प्रकाश नपुगेर नदेखिने भएको ठाउँको तस्बिर पनि सजिलै लिन सक्ने सुविधा हुन्छ। यो क्यामेराको भाउ कम्पनीले ५० हजार ९ सय ९० रुपैयाँ तोकेको छ। यसैगरी कम्पनीले बजारमा ल्याएको अर्को पावरसट क्यामेरा एस-११० भने राति तस्बिर लिनेका लागि बढी उपयोगी हुनेछ। यसमा पनि क्याननको डिजिक फाइभ इमेज प्रसेसर, हाई सेन्सेटिभिटी (एचएस) सिस्टमलगायत सुविधा छन्। यसको क्षमता पनि १२.१ मेगापिक्सल छ। यसको भाउ नेपाली बजारमा ४३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ।
पावरसट एसएक्स-५०-एचएस मोडलको क्यामेरामा ५०-एक्स अप्टिकल जुम सुविधा छ। यसको जुम उच्चस्तरको भएकाले टाढाको वस्तु पनि सजिलै क्याप्चर गर्न सकिन्छ। यसको क्षमता पनि १२.१ मेगापिक्सेल छ। यसको भाउ ४७ हजार ४ सय ९० तोकिएको छ।
कम्पनीले यी सबै मोडलमा ८ जिबीको मेमोरी कार्ड र एउटा क्यामेरा ब्याग सित्तैमा दिने जनाएको छ। यसैगरी १ वर्षे वारेन्टी सुविधा पनि छ। कम्पनीले नेपाली बजारमा विश्वकै सबैभन्दा हलुका भनेर चिनिएको डिजिटल एसएलआर क्यामेरा एओएस सिक्सडी पनि बजारमा ल्याएको छ। यसको क्षमता २०.२ मेगापिक्सेल छ। यसमा सिएमओएस सेन्सर छ।
यो क्यामेरामा ११ प्वाइन्टको अटो फोसक सिस्टम रहेको कम्पनीले जनाएको छ। यसमा अत्याधुनिक सूचनाप्रविधि सुविधासमेत छन्। वाइफाई चलाउन मिल्ने यो क्यामेरामा जिपिएसको पनि सुविधा छ। यसमा डिजिक फाइभ प्लस इमाजिङ प्रोसेसर रहेको छ। यसले उच्च गुणस्तरको भिडियो पनि खिच्न सक्छ। यसमा धुलो नपस्ने विशेषता छ। अहिले नै यो क्यामेराको भाउ तोकिनसकेको अग्रवालले बताए।
प्रकाशित: ३० मंसिर २०६९ २२:३९ शनिबार





