१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

कमाउने बाटाेकाे खाेजी

२१ वर्षकी विकी वेन्हमलाई एउटा मार्केटिङ कम्पनीको फोन आउँदा उनी त चकित नै परिन्।

उनलाई सोधिएको थियो, ‘तिमीलाई फुर्सद छ भने डिजे सिगलाको नयाँ एल्बम लञ्च पार्टीमा आऊ।’

उनी त्यही डिजेकी प्रशंसक थिइन् र एल्बम जारी गरिने कार्यक्रम भनेपछि हुरुक्कै भइहालिन्। उनले सपनामा पनि सोचेकी थिइनन्, यसरी आफू प्रशंसक रहेको व्यक्तिकै कार्यक्रममा पुग्नका लागि निम्तो आउला !

उनी भन्छिन्, ‘त्यो २४ घण्टा मेरो जीवनकै सबैभन्दा उदेकलाग्दो क्षण थियो। दिनभरि हामीले त्यहाँ मस्ती ग-यौँ।’

वेन्हमलाई त्यहाँ त्यसै निम्त्याइएको थिएन। टिकटकमा उनका १३ लाखभन्दा बढी प्रशंसक छन्। तिनलाई उनीमार्फत् डिजेको एल्बमबारे जानकारी दिन बोलाइएको थियो।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सको एउटा स्मार्टफोन एप हो। यसमा प्रयोगकर्ताहरुले साना भिडियो र मिम्स हालेर लाइक र कमेन्ट बटुल्ने गर्छन्।

वेन्हमलाई बोलाउने कम्पनीले उनलाई यात्रा खर्च दिएको थिएन न त अरु नै केही गरुँला भनेर वाचा गरेको थियो। उनलाई यो भिडियो आफ्नो टिकटक प्रोफाइलमा हाल्नु पनि भनिएको थिएन।

उनीहरु त टिकटकमा सक्रिय भएका युवाहरु पनि त्यहाँ जाऊन् भन्ने अपेक्षा गरेका थिए। वेन्हमले पाएको निम्तोले सोसल मिडियामा टिकटकको महत्ता थाहा हुन्छ।

युवामाझ लोकप्रिय
एप मोनिटरिङ कम्पनी सेन्सरटावरका अनुसार गएको फेब्रुअरीमै एप्पल र एन्ड्रोइडजस्ता स्मार्टफोनमा टिकटक डाउनलोड गर्नेको संख्या एक अर्बभन्दा बढी भइसकेको छ।

सन् २०१८ मा नै यसले ६६ करोडको आँकडा पूरा गरेको थियो। इन्स्टाग्राम यही अवधिमा ४४ करोड पटक डाउनलोड गरिएको थियो।

डिजिटास युकेका स्ट्राटेजी पार्टनर जेम्स ह्वाटले टिकटकको तुलना स्न्यापच्याट र वाइनसँग गर्छन्। यी दुवै एप ससाना र छोटाछोटा कन्टेन्टका विशेषज्ञ नै हुन्। र, यी दुवै युवामाझ निकै लोकप्रिय छन्। ह्वाटले भन्छन्, ‘यहाँ तपाईंले वास्तविक रोचक मौलिक चिजहरु भाइरल भइरहेको देख्न सक्नुहुन्छ।’

टिकटका करोडौँ प्रयोगकर्ताहरु किशोरकिशोरी छन्। तिनीहरुसम्म आफ्नो पहुँच होस् भनेर विज्ञापनदाता सपना पाल्ने गर्छन्।

इन्स्टाग्राम र युट्युबजस्ता प्लेटफर्ममा प्रभावशाली व्यक्तिहरुको आम्दानी पनि कम छैन। जसका लाखौँ प्रशंसक हुन्छन्, तिनले कुनै एउटा प्रायोजित पोस्टबाट नै लाखौँ रुपैयाँ कमाउन सक्छन्।
उसो भए यो कुरा टिकटकका स्टारहरुमा पनि लागू हुन्छ त?

नयाँ प्लेटफर्म
टिकटकका स्टारहरुले अहिले प्रायोजित भिडियोबाट पैसा कमाइरहेका छन्। यो युट्युबभन्दा फरक छ।

स्पेनी अभिनेता लाबी लुना भन्छन्, ‘युट्युबममा तपाईंको भिडियो कति जनाले हेरे, त्यस हिसाबले पैसा कमाउनु हुन्छ तर टिकटकमा त हेरेका आधारमा पैसा दिने चलन बसिसकेको छैन।’

टिकटकमा लाभी लुनाका ४० लाख प्रशंसक छन्। उनले २०१८ को गर्मी यामबाट टिकटकमा भिडियो हाल्न थालेका थिए। उनी मानवीय सम्बन्ध र प्रेमका बारेमा कमेडी स्केच बनाउँछन् र उनी आफैँ पनि आफ्नो कामको प्रशंसक हुन्।

लुना यो प्लेटफर्मलाई इन्स्टाग्रामजस्तो ठान्छन्। ‘जब तपाईंका धेरै जना फलोअर्स र भ्युज हुन्छ, त्यसपछि धेरै कम्पनीले तपाईंलाई पछ्याउन थाल्छन् र तपाईंसँग काम गर्न चाहेको भन्न थाल्छन्।’

यस किसिमको सम्भावना जोस सेफर्डजस्ता उद्यमीका लागि भने एउटा अवसर हो। उनले एक वर्षअघि इन्फ्लुएन्सिली नामक टिकटक ट्यालेन्ट एजेन्सी बनाएका थिए।

उनको कम्पनीसँग १५ जना टिकटक स्टारहरु काम गर्छन्। उनीहरुको जम्मा फलोअर्स संख्या १.५ करोड छ।

गएकै महिनामा पनि उनीहरुले यी १५ जना स्टार टिकटकेलाई लिएर ३५ वटा अभियान चलाएका थिए। तिनलाई यो कम्पनीले फर्मुला इ रेसजस्तो कार्यक्रममा पठाउनका लागि प्रतिव्यक्ति करिब दुई हजार डलर ति-यो। उनीहरुका लागि पनि यो गज्जबको काम थियो किनभने दुई दिनमा दुई हजार डलर कमाउँदै थिए।

हुन त अन्य सोसल मिडियाका प्रभावशाली स्टारको तुलनामा टिकटकेले पाउने यो रकम निकै थोरै हो। युट्युबमा त्यति नै फलोअर्सले यस्तो प्रोमोसनका लागि ६५ हजार डलरसम्म पाउन सक्छन्।

आम्दानीमा यत्ति धेरै फरक किन त? विज्ञहरु भन्छन्, अहिले टिकटक नयाँ प्लेटफर्म हो। नयाँपनका कारण अहिले लगानीकर्ताहरुले यसका स्टारहरुलाई विश्वास गरिहाल्ने वातावरण बनिसकेको छैन।

भाग्य बद्लिनेछ
युट्युबमा विज्ञापन र प्रायोजित सामग्री हालेर पछिल्ला केही वर्षयता राम्रैसँग युट्युबले मात्र होइन, कन्टेन्ट हाल्नेले पनि कमाइरहेका छन्। तर टिकटकबाट पनि यस्तो केही पनि गर्न सकेको छैन। टिकटकेका दिन बद्लिन सक्छ। अहिलेसम्म लुना जस्ता प्रशंसकहरुको भिड जम्मा गर्नेहरुलाई पनि आफ्नो भिडियो कसले कहाँबाट हेरिरहेको छ भन्ने थाहा हुन्थेन।

हिजोआज भने उनले आधारभूत सूचनाहरु पाउन थालेकी छन्। उनका दर्शक कहाँका छन्, तिनको उमेर कति छ, कति जनाले र कति पटक भिडियो हेरिसके आदि। यस किसिमको सूचनाको पहुँच हुनेबित्तिकै उनले यो सूचनालाई बेचेर बिजनेस प्लान बनाउन सक्छिन्।

सेफर्ड भन्छन्, ‘पहिला सूचना उपलब्ध नभएका कारण टिकटकमा विज्ञापनदाताले विज्ञापन गर्न चाहँदैन थिए। त्यहाँ कति छन्, तिनको उमेर समूह के हो भन्ने कुरा थाहा नहुँदा विज्ञापनको लक्षित वर्ग फेला पार्न गाह्रो हुन्थ्यो। अहिले भने लण्डनमा २५ वर्ष उमेर समूहका युवायुवतीलाई लक्षित गरेर विज्ञापन गर्न चाह्यो भने त्यसको सम्पूर्ण सूचना पाउन सकिन्छ।’

हडबडी छैन
टिकटक एपका निर्माताहरु पछिल्लो समय विभिन्न विज्ञापनदाताहरुसँग सम्पर्क गरिरहेका छन्। उनीहरुले एप त बनाए तर ठूलो लगानीका साथ बनाइएको यो एप यत्तिका लोकप्रिय भइसक्दा पनि यसबाट कमाई फिट्टो नहुँदा उनीहरु तनावमा छन्। त्यसैले कसरी आम्दानी बढाउन सकिन्छ भन्नेमा उनीहरुको ध्यान केन्द्रित हुन थालेको छ।

यसका लागि ह्यासट्याग च्यालेन्ज र ब्रान्डेड लेन्स (स्न्यापच्याटले जस्तै) जस्ता कुरा अघि बढाइरहेका छन्।

वेन्हमको भनाइ छ, ‘टिकटकले जानीबुझी यसमा हडबडी गरिरहेको छैन किनभने ऊ अन्य एपले गरेका गल्तीलाई दोहो-याउन चाहँदैन।’

टिकटकको यस किसिमको ढिलाइले यसका स्टारहरु दिक्क मान्न सक्छन्। उनीहरु पनि आफ्ना लाखौँ फलोअर्समार्फत् कमाउन चाहन्छन्। लाभी लुना भन्छन्, ‘यहाँ तपाईंले अन्य प्लेटफर्मजस्तो कुस्त कमाउन सक्नुहुन्छ तर इमान्दारीपूर्वक भन्ने हो भने यो निकै राम्रो प्लेटफर्म चाहिँ हो।’

रचनात्मकताको कुरा
एपको सुस्त गतिका बाबजुद नयाँ स्टारहरुलाई आफूतर्फ तान्न विज्ञापनदाताहरुको प्रयास सुरु भइसकेको छ।

उनीहरुको नजर युवा युजरबेसमा छ। युट्युबभन्दा फरक यहाँ के छ भने यहाँ उपयोगकर्ताका अटोप्ले हुने भिडियो पाइन्छन्, जसले तपाईंको ध्यान तुरुन्त आकर्षित गर्छ।

यो एपले प्रयोगकर्ताहरुलाई कुनै चुनौतीमा भाग लिन प्रेरित गर्छ। उदाहरणका लागि प्रयोगकर्ताले कुनै डान्स स्टेपको प्रतियोगिता हालिदिन्छ। यसपछि भएभरका प्रयोगकर्ताहरु त्यही स्टेपलाई एकसे एक राम्रो तरिकाले गर्न ओइरिन्छन्। यस्तो एपले आफ्नोपन र समुदायिक भावना बढाउन भूमिका खेल्ने केहीको धारणा छ।

ह्वाटले भन्छन्, ‘राम्रो र रचनात्मक तरिकाले टिकटक च्यालेन्जमा भाग लिनेहरुको कन्टेन्ट भाइरल हुने सम्भावना बढेर जान्छ।’

यही कुरा ब्रान्डहरुलाई मन पर्छ। वेन्हमले गएको ६ महिनामा प्रभावशाली टिकटकेहरुलाई प्रायोजित गरिरहेको छ ताकि उनीहरुले भिडियोमा आफ्ना उत्पादनका बारेमा कुरा गरुन्।

उनी भन्छिन्, ‘कुनै एउटा ब्रान्डले बृहत् स्तरको अभियान चलाउनु मात्र पर्छ। त्यत्ति हुनेबित्तिकै त्यो एउटा केस स्टडी बन्छ र यहाँ विज्ञापनदाताको ओइरो लाग्छ।’
यस किसिमको अपेक्षा दुई धारे तरब र साबित हुन सक्छ। हुन त यस किसिमको विज्ञापनका कारण टिकटकका स्टारहरुको नाम घरघरसम्म पुग्छ तर युट्युब र इन्स्टाग्रामको अनुभव त्यति राम्रो छैन।

यी दुवै प्लेटफर्ममा विज्ञापनयुक्त भिडियो यति धेरै भए कि त्यसले रचनात्मकता र मौलिकता मरेर गयो । यही कुरा अब टिकटकमा पनि हुने सम्भावना बढेर जानेछ।

राम्रो कुरा के छ भने टिकटकले पनि यही कुरा सिकेर उसले विज्ञापनमा ढिलाई गरिरहेको छ।

प्रकाशित: १९ जेष्ठ २०७६ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App