दर्शन डोल्पोको, आर्जन शान्तिको
भूगोलका हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला–डोल्पा । पर्यटकीय अभ्यासका दृष्टिले डोल्पालाई दुई भागमा बाँडिएको छ–लोअर डोल्पो सर्किट र अपर डोल्पो सर्किटका रूपमा । विदेशी पर्यटक तीन साताको अपर डोल्पो र दुई साताको लोअर डोल्पो सर्किटमा रमाउँछन् । नेपालीले भने १२ दिनमै लोअर सर्किट पूरा गर्छन् । रुचि, समय र खर्चका हिसाबले आन्तरिक पर्यटकका लागि लोअर डोल्पो सर्किट पदयात्रा बेस हुन्छ । यात्रामा फोक्सुन्डो ताल, नुमला र बगला भञ्ज्याङ, धो–तराप उपत्यका र दुनै बजारको सौन्दर्यपान गर्न पाइन्छ । दिनको दुई हजार रुपैयाँले तीन छाक खाना र बासलाई पुग्छ ।