मुलुकको सबैभन्दा जेठो र पुरानो उच्च शिक्षालय त्रिभुवन विश्वविद्यालय फेरि एकपटक खराब कारणले चर्चामा छ। २०१६ सालमा स्थापित यो विश्वविद्यालयले आगामी असार १८ गते ५९ औं वार्षिकोत्सव मनाउनेछ। वार्षिकोत्सवमा विगतमा जस्तै फेरि यसको सुधारका बारेमा चर्चापरिचर्चा हुनेछन्। तर, विश्वविद्यालयको अवस्था भने उस्तै हुनेछ। विश्वका कहलिएका विश्वविद्यालयले आफ्नो शैक्षिक गुणस्तरका आधारमा आफूलाई बर्सेनि उम्दा अवस्थामा लैजान निरन्तर प्रयास गरिरहेको देखिन्छ। भारतकै जवाहरलाल नेहरु विश्वविद्यालय होस् वा अमेरिकाको हार्वर्ड, बेलायतको क्याम्ब्रिज वा अक्सफोर्डको नाम लिनासाथ यसका संकाय सदस्य, विद्यार्थी र अभिभावकको छाती गर्वले ढक्क फुल्छ। तर, त्रिभुवन विश्वविद्यालयको नाम कति विद्यार्थीले गौरवका साथ लिन्छन् ?