२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

आहा! रारा पोखरा गोल्डकप : उद्घाटन खेलमा आयोजक सहारा विजयी

आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लव विजयी भएको छ। सहारा क्लव पोखराको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो। सहाराको जितमा प्रसन्न श्रेष्ठले निर्णायक गोल गरे। उनले निर्धारित ९० मिनेटको खेलको अतिरिक्त समयमा गोल गर्दै सहारालाई अर्को चरणमा पुग्न सहारा दिए।

पोखरामा पहिलो पटक फ्लड लाईटमा खेल खेलाईंदै थियो। प्रतिष्पर्धात्मक रुपमा भइरहेको खेल सकिनै लागेको थियो। निर्धारित ९० मिनेटको समय सकिएर थपिएको अतिरिक्त समय पनि घर्किन लागेको थियो। त्यहिबेला प्रसन्नले अतिरिक्त  समयको तेस्रो मिनेटमा गोल गर्दै सहारालाई विजयी गराए। विजयीसँगै सहारा क्वाटरफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनलमा सहाराले नेपाल पुलिस क्लवको सामना गर्नेछ।

विजयी गोल गरेका प्रसन्न मंगलबारको प्लेयर अफ द म्याच पनि घोषित भए।

प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन्। दुई समूहमा विभाजित गरिएको प्रतियोगिताको समूह ‘ए’मा नेपाल पुलिस क्लव, आयोजक सहारा क्लव पोखरा, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङमर्स्याङ्दी क्लव र थन्डरबोल्ट नर्थ युनाईटेड भारत रहेका छन्। त्यस्तै, समूह ‘बी’मा अपी पावर चर्च ब्वाईज युनाईटेड, जाउलाखेल युथ क्लव, मच्छिन्द्र फुटबल क्लव, फ्रेण्ड्स क्लव, प्लानिङ ब्वाईज युनाइटेड र आभा एफसी उज्वेकिस्तान रहेका छन्।

प्रतियोगिता अन्तर्गत बुधबार जाउलाखेल युथ क्लवविरुद्ध मच्छिन्द्र फुटबल क्लव प्रतिष्पर्धामा उत्रिने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

यसअघि मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए। सो अवसरमा सहारा क्लवको रजत वर्षको अवसरमा क्लवको स्थापनाकालदेखि सहयोग गर्ने विभिन्न क्षेत्रका २५ जनालाई सम्मान गरिएको थियो।

सो अवसरमा नेपाली महिला फुटबल टोलीकी स्ट्राईकर प्रिती राईलाई सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कारबाट नगद ३५ हजारसहित पुरस्कृत गरिएको थियो।

प्रकाशित: २७ माघ २०८२ २१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App