आइसिसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटमा ओमानले तेस्रो जित निकालेको छ।
घरेलु मैदान मस्कटमा सोमबार युएईलाई ५ विकेटले पराजित गर्दै ओमान विश्वकप नजिक पुगेको छ। शीर्ष स्थानमा रहेको ओमानको तीन खेलबाट ६ अंक भएको छ। समूह चरणमा सामोआलाई हराएको उसले सुपर सिक्समा युएई र कतारलाई पराजित गरेको हो । ओमानले अब नेपाल र जापानसँग खेल्न बाँकी छ ।
युएईको भने यो दोस्रो हार हो । युएई आइतबार नेपालसँग एक रनले पराजित भएको थियो । समूह चरणमा भने उसले कतारलाई हराएको थियो । युएईसँग २ अंक छ ।
युएईले दिएको ११३ रनको मध्यम लक्ष्य ओमानले २ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो । उसको जितमा जतिन्दर सिंहले ३३ र नदिम खानले १६ बलमा नटआउट ३० रनको योगदान गरे । ४३ रन जोड्दा पहिलो विकेट गुमाएको ओमानले सोपछि लगातार विकेट गुमाउन पुगेको थियो । ७९ रन जोड्दा ५ विकेटको झरेको स्थिति सम्हाल्दै नदिमले ओमानका लागि महत्त्वपूर्ण अंक दिलाए ।
यसअघि युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो । उसका लागि वसिम महमदले सर्वाधिक २२ रन बनाए ।
सुपर सिक्सको शीर्ष ३ भित्र पर्न युएईलाई अब बाँकी दुवै खेल जित्न पर्नेछ, साथमा अन्य खेलको नजितामा पनि भर पर्नुपर्नेछ । युएईले अब सामोअ र जापानसँग खेल्न बाँकी छ ।
प्रकाशित: २७ आश्विन २०८२ १९:५८ सोमबार





