२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
खेल

विश्वकपको विरासत : विश्वकप जित्ने राष्ट्रहरूको गौरवगाथा

ब्राजिलदेखि स्पेनसम्म कसले कति पटक चुमे उपाधि?

आगामी जुन ११ देखि सुरु हुने २३औँ संस्करणको फिफा पुरुष विश्वकपको रौनक यतिबेला विश्वभर फैलिएको छ। यसपटक विश्वकप इतिहासमै पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुँदैछ। तीन राष्ट्रको संयुक्त आयोजनामा हुन लागेको यो संस्करण हालसम्मकै सबैभन्दा ठूलो विश्वकप हुनेछ। हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगितालाई फुटबलको महाकुम्भका रूपमा चिनिन्छ।

विश्वकप नजिकिँदै जाँदा सहभागी राष्ट्रहरूले आफ्ना टोली घोषणा गरिरहेका छन्। तर अहिलेसम्मको इतिहास हेर्दा सबैभन्दा सफल राष्ट्र ब्राजिल हो। ब्राजिलले पाँच पटक उपाधि जितेको छ भने जर्मनी र इटालीले समान चार–चार पटक विश्वकप जितेका छन्।

उरुग्वे (१९३० र १९५०)

पहिलो पटक आयोजना भएको सन् १९३० को विश्वकप आयोजक राष्ट्र उरुग्वेले आफ्नै घरेलु मैदानमा जित्दै इतिहास रचेको थियो। फाइनलमा अर्जेन्टिनालाई ४–२ गोलले हराएर उसले पहिलो उपाधि जित्यो।

त्यसपछि सन् १९५० मा ब्राजिललाई उसकै घरेलु मैदानमा २–१ ले पराजित गर्दै उरुग्वे दोस्रो पटक विश्वविजेता बन्यो।

इटाली (१९३४, १९३८, १९८२ र २००६)

इटालीले पहिलो पटक सन् १९३४ मा आफ्नै मैदानमा चेकोस्लोभाकियालाई २–१ ले हराउँदै उपाधि जित्यो।

सन् १९३८ मा फ्रान्समा भएको विश्वकपमा हंगेरीलाई ४–२ ले हराएर दोस्रो उपाधि जित्यो।

सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा जर्मनीलाई ३–१ ले पराजित गर्दै तेस्रो पटक च्याम्पियन बन्यो।

सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै चौथो उपाधि हात पार्यो।

जर्मनी (१९५४, १९७४, १९९० र २०१४)

जर्मनीले पहिलो उपाधि सन् १९५४ मा हंगेरीलाई ३–२ ले हराएर जितेको थियो।

सन् १९७४ मा आफ्नै मैदानमा नेदरल्यान्ड्सलाई २–१ ले हराउँदै दोस्रो पटक विश्वविजेता बन्यो।

सन् १९९० मा इटालीमा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० ले हराउँदै तेस्रो उपाधि जित्यो।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० ले हराउँदै चौथो पटक उपाधि चुम्यो।

ब्राजिल (१९५८, १९६२, १९७०, १९९४ र २००२)

फिफा विश्वकप इतिहासको सबैभन्दा सफल राष्ट्र ब्राजिल हो। उसले पाँच पटक उपाधि जितेको कीर्तिमान बनाएको छ।

पहिलो उपाधि सन् १९५८ मा स्विडेनलाई ५–२ ले हराउँदै जित्यो।

सन् १९६२ मा चिलीमा भएको विश्वकपमा चेकोस्लोभाकियालाई ३–१ ले हराएर दोस्रो उपाधि जित्यो।

सन् १९७० मा मेक्सिकोमा इटालीलाई ४–१ ले हराउँदै तेस्रो पटक च्याम्पियन बन्यो।

सन् १९९४ मा इटालीलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै चौथो उपाधि जित्यो।

सन् २००२ मा जर्मनीलाई २–० ले हराउँदै पाँचौँ पटक विश्वविजेता बन्यो।

इङ्ग्ल्यान्ड (१९६६)

इङ्ग्ल्यान्डले हालसम्म एकपटक मात्र विश्वकप जितेको छ। सन् १९६६ मा आफ्नै मैदानमा जर्मनीलाई ४–२ ले हराउँदै विश्वविजेता बनेको थियो।

अर्जेन्टिना (१९७८, १९८६ र २०२२)

अर्जेन्टिनाले तीन पटक विश्वकप जितेको छ।

पहिलो उपाधि सन् १९७८ मा आफ्नै मैदानमा नेदरल्यान्ड्सलाई ३–१ ले हराएर जित्यो।

सन् १९८६ मा मेक्सिकोमा जर्मनीलाई ३–२ ले हराउँदै दोस्रो उपाधि हात पार्यो।

सन् २०२२ मा कतारमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै तेस्रो पटक विश्वकप जित्यो।

फ्रान्स (१९९८ र २०१८)

फ्रान्सले पहिलो उपाधि सन् १९९८ मा आफ्नै मैदानमा ब्राजिललाई ३–० ले हराएर जित्यो।

त्यसपछि सन् २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसियालाई ४–२ ले हराउँदै दोस्रो पटक च्याम्पियन बन्यो।

स्पेन (२०१०)

स्पेनले पहिलो र हालसम्मको एकमात्र विश्वकप सन् २०१० मा दक्षिण अफ्रिकामा जितेको हो। फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले हराउँदै स्पेनले इतिहास रचेको थियो।

प्रकाशित: १ जेष्ठ २०८३ १८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App