आईसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले युएईलाई ६ रनले पराजित गरेको छ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल रोकिएपछि युएईले नेपालबाट ३८ ओभरमा २५५ रनको परिमार्जित लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित ३८ ओभरमा ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो।
युएईका मोहम्मद शहजादले सर्वाधिक ६५ रन बनाए। उनले ७२ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे। त्यसैगरी, खुजैमा तनवीरले ४९ रन बनाए भने हरप्रीत सिंह ४१ रनमा आउट भए।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो।
नेपालका दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै १०० रन बनाए। उनले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, ओपनर विनोद भण्डारीले ५६ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका अर्जुन कुमाल ११ रनमा आउट भए भने कप्तान रोहितकुमार पौडेल ३९ रनमा पेभिलियन फर्किए।
युएईका लागि अजय कुमार र जुनेदले समान २–२ विकेट लिए।
नेपालले अब मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: १८ वैशाख २०८३ १८:१८ शुक्रबार




-600x400.jpg)
