आइसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आफ्नो सातौं सिरिजमा नेपालले ६ अंक जोडेको छ। ईशान पाण्डे र रोहितकुमार पौडेलको शतकीय साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा अमेरिकामाथि सहज जित निकालेको छ।
कीर्तिपुरमा शुक्रबार भएको खेलमा उत्कृष्ट ब्याटिङ प्रेरणामा नेपालले अमेरिकामाथि १२२ रनको सहज जित निकाल्दै लिग–२ को शीर्ष चार होडमा सम्भावना जीवन्त राखेको छ । एक महिनाभित्र घरेलु मैदानमा सम्पन्न दुई वटा त्रिकोणात्मक शृंखला (आठ खेल) नेपालले ६ खेलको नतिजा आफ्नो बनाउँदै शीर्ष चार होड जीवन्त राखेको छ ।
घरेलु टोलीको जितमा दुई ब्याटरले अर्धशतक र दुई ब्याटर अर्धशतकनजिक रहे । साथै ईशान र रोहितले ११० रनको बलियो शतकीय साझेदारी महत्त्वपूर्ण रह्यो । यो जितसँगै २८ खेलबाट पाँचौं स्थानको नेपालले २४ अंक जोड्यो । जुन चौथो स्थानको नेदरल्यान्ड्सभन्दा चार अंकले पछि छ । यद्यपि, डच टोलीले २४ खेल मात्र खेलेको छ ।
हारपछि पनि अमेरिका ३८ अंकमा शीर्ष स्थानमा कायम छ। समान अंक भएपनि ३२ खेलबाट ३८ अंक बनाएको स्कटल्यान्ड रनरेटका आधारमा दोस्रो स्थानमा यथावत रहेको छ।
आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग २ रनको साँधुरो हार ब्यहोरेको नेपालले सोपछिका तीनै खेलमा जित निकाल्यो । अमेरिकालाई दोस्रो खेलमा ९ विकेटले हराएको नेपालले तेस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्यो । चौथो खेलमा शुक्रबार अमेरिका स्तब्ध बन्यो।
यो सिरिजमा नेपालले ३, स्कटल्यान्डले २ र अमेरिकाले एक खेलमा जित निकाले।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमा अलआउट भयो।
अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाए। नोस्तुस केन्जिगले २९, शायन जहन्गिरले २७, शेहन जयसूर्या २६ र कप्तान साइतेजा मुक्कामल्लाले २२ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले ३, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलसन झाले समान २ तथा सोमपाल कामीले एक विकेट लिए।
त्यसअघि टस जितेर बलिङ गर्ने अमेरिकाको निर्णय सही साबित भएन । राम्रो सुरुआत पाएको नेपालले इनिङको अन्त्यसम्म उत्कृष्ट ब्याटिङ गर्यो । पूरै ओभरमा नेपालले आठ विकेटको क्षतिमा तीन सय १७ रनको विशाल योगफल जोड्यो ।
ईशानले ८४ रन र दीपेन्द्रसिंह ऐरी ५९ रनको इनिङ खेले । ओपरनद्वय आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए । १३औं ओभरमा कुशल २९ रनमा आउट भए । शुभम रन्जानेले कुशललाई कप्तान साइतेजा मुकामल्लाबाट क्याच गराउँदै ब्रेक थ्रु दिलाए । अर्का ओपनर आसिफ ४३ रनमा पभेलियन फर्किए । कुशलले ३९ बलमा पाँच चौका र आसिफले ६ चौका हिर्काए । १८.३ ओभरमा नेपाल ८४÷२ को अवस्थामा थियो ।
तेस्रो विकेटका लागि रोहित र ईशानले शतकीय साझेदारी गर्दै राम्रो योगफलतर्फ अग्रसर गराए । ३८औं ओभरमा रोहित ४६ रनमा एलबिडब्लु हुन पुगे । ५९ बलमा उनले दुई चौका र एक छक्का प्रहार गरे । नेपाल १९४÷३ को राम्रो स्थितिमा थियो । ईशान ८४ रनमा चौथो विकेटका रूपमा आउट भए । उनले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरे । यसै शृंखलाबाट डेब्यु गरेका ईशानले उत्कृष्ट लय देखाए । उनले ८३ बलमा आठ चौका र एक छक्का हिर्काए । त्यसपछि आएका दीपेन्द्रले ३६ बलमा ५९ रन जोड्दै आक्रामक ब्याटिङ गरे । उनको इनिङमा समान चार चौका र छक्का हिर्काए । गुलसन झाले १५ र आरिफ शेखले १८ रन जोड्दै नेपालको इनिङमा साथ दिए । अन्तिम पाँच ओभरमा ६१ रन जोड्दै नेपालले सुधारिएको प्रदर्शन गर्यो ।
डेथ ओभरमा नेपालले सुधारिएको प्रदर्शन देखाएको हो । अमेरिकाको बलिङमा शुभमले १० ओभरमा तीन विकेट लिए पनि महंगा साबित भए । रुसिल उगारकर र मिलिन्द कुमारको नाममा समान एक विकेट रह्यो । नेपालले तीन विकेट रनआउटका रूपमा गुमायो ।
प्रकाशित: ८ जेष्ठ २०८३ १७:१७ शुक्रबार





