घरेलु मैदानमा जारी आईसीसी विश्वपकप लिग– २ अन्तर्गत नेपालले मगंलबार ओमानको सामना गर्दैछ।
नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएई)बीचको त्रिकोणत्मक सिरिजमा घरेलु टोलीले मगंलबार ओमानसँग महत्वपूर्ण खेल खेल्दैछ।
शनिबारदेखि सुरु भएको सिरिजमा नेपालले दुवै खेलमा युएईलाई हराएको थियो भने ओमानसँग हार बेहोरेको थियो।
जारी लिग– २ को हरेक खेलमा शतप्रतिशत जित्न हात पार्ने नेपाललाई एकदमै जरुरी छ। कूल ८ टोलीबीच प्रतिस्पर्धा भईरहेको यो लिगमा नेपालमा सातौँ स्थानमा रहेको छ। नेपाल युएईभन्दा मात्र एक अंक माथि रहेको छ।
यो अवस्थामा घरेलु मैदानको फाइदा उठाउँदै नेपालले आफनो ओमानसँगको दोस्रो खेलमा सकारात्मक नतिजा ल्याउन सक्छ।
नेपाली ब्याटिङको मेरुदण्ड बनिरहेका दीपेन्द्र सिंह ऐरी ओमानसँग नेपालले राम्रो खेल्ने बताउँछन्। ‘हामीले पहिलो खेलहरु राम्रो खेल्न सकेका थिएनौँ, तर हामी अहिले फेरि खेलमा कमब्याक गरिसकेका छौँ, अहिले हाम्रो ब्याटिङतर्फ ब्याटसम्यानहरुले राम्रो साझेदारी गरिरहनुभएको छ, ’दिपेन्द्र भन्छन्, ‘हाम्रो लक्ष्य ओमानविरुद्ध सकारात्मक नतिजा ल्याउनु हो।’
नेपालले गत बुधबार ओमानसँग १०२ रनको फराकिलो हार व्यहोरेको थियो। वर्षाको कारण खेल रोकेर सुचारु हुन नसकेपछि खेल स्थगित भएपछि डिएलएस मेथडबाट ओमान विजयी भएको हो।
मंगलबार घरेलु मैदानको फाइदा उठाउँदै नेपालले ओमानलाई हराउनु पर्ने हुनेछ। जारी लिगमा ओमान शीर्ष ३ मा रहेको छ तर, नेपालको स्थिती भने नाजुक अवस्थामा छ। सधैँ घरेलु मैदानको भरपुर फाइदा उठाउँदै आईरहेको नेपाल यसपटक भने चुकिरहेको छ।
बुधबार ओमानले नेपाललाई ३०६ को बलियो लक्ष्य दिएको थियो। ब्याटिङमा फ्लप हुँदै आएको टोली त्यस खेलमा बल्लिङतर्फ पनि चुकेको थियो। नेपालले ओमानले स्कोरबोर्डमा ८० रन बनाएपछि मात्र विकेट हात पार्न सक्यो। वर्षाले प्रभावित भएको त्यस खेलमा नेपाललाई २५८ रन चाहेको थियो तर वर्षाले खेल बिथेल्नुअघि नै नेपाल फ्लप भइसकेको थियो।
अब मगंलबार ओमानविरुद्ध जित बाहेक नेपाललाई अन्य विकल्प छैन्। नेपालले ओमानलाई जितेमा केही हदसम्म राहत मिल्ने छ भने पराजित भएमा नेपालको विश्वकप लिग–२ को खेलहरु झन जटिल बन्दै जानेछ।
यति मात्र नभई नेपालले वैशाख २९ देखि पुनः घरेलु मैदानमा स्कटल्यान्ड र संयुक्त राष्ट अमेरिकासँग अर्को त्रिकोणात्क खेल खेल्नेछ। नेपालको लागि त्यो खेल झन चुनौतीपूर्ण हुनेछ। लिग अन्तर्गत अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा रहेको छ।
यसअघिको अघिल्लो चरणमा नेपालले १२ खेलमध्य ११ खेलमा जित हासिल गर्दै शीर्ष ३ मा आफनो स्थान बनाएको थियो। तर, नेपाल अहिले २३ खेलमा ७ मा जित हासिल गर्दा १४ खेलमा पराजय भोग्दौ १४ अंक मात्र बटुलेको छ।
प्रकाशित: २१ वैशाख २०८३ १३:५३ सोमबार





