१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

फिफा विश्वकप : नकआउट चरणमा स्विट्जरल्यान्ड र अल्जेरिया भिड्दै

तस्बिर : फिफा

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत आज (शुक्रबार) स्विट्जरल्यान्ड र अल्जेरियाबीच अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्नका लागि प्रतिस्पर्धा हुँदैछ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा नेपाली समय अनुसार बिहान ८:४५ बजेदेखि खेल सुरु हुनेछ। समूह 'बी' को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको स्विट्जरल्यान्ड निकै उच्च मनोबलका साथ मैदानमा छ। प्रशिक्षक मुराट याकिनको रणनीतिमा रहेको स्विस टोली समूह चरणमा अपराजित रहँदै उत्कृष्ट लयमा देखिएको छ।

कतारविरुद्ध बराबरी खेलेको स्विट्जरल्यान्डले त्यसपछिका खेलहरूमा बोस्निया एन्ड हर्जगोभिना र क्यानडालाई पराजित गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। स्विट्जरल्यान्डको मिडफिल्डको बागडोर सम्हालेका कप्तान ग्रानिट शाका र युवा खेलाडी जोहान मानजाम्बीको उत्कृष्ट लयले टोलीलाई थप बलियो बनाएको छ।

अर्कोतर्फ, अल्जेरियाका लागि यो नकआउट यात्रा निकै चुनौतीपूर्ण रहेको छ। समूह 'जे' मा संघर्ष गर्दै अघि बढेको अल्जेरियाले अस्ट्रियाविरुद्धको नाटकीय ३-३ को बराबरी र जोर्डनविरुद्धको महत्त्वपूर्ण जितको मद्दतले यहाँसम्मको यात्रा तय गरेको हो। भ्लादिमिर पेटकोभिचको नेतृत्वमा रहेको अल्जेरिया आफ्ना अनुभवी खेलाडी रियाद महरेजको प्रदर्शनमा बढी भर पर्नेछ। यद्यपि, मुख्य स्ट्राइकर मोहम्मद अमिन अमौराको चोटले टोलीलाई केही कमजोर बनाउन सक्ने अनुमान गरिएको छ।

यो खेलको विजेता सोझै अन्तिम १६ मा पुग्नेछ। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिए अतिरिक्त ३० मिनेट खेलाइनेछ र त्यसमा पनि निर्णय नभए पेनाल्टी सुटआउटबाट नतिजाको छिनोफानो हुनेछ। स्विट्जरल्यान्ड लामो समयदेखि विश्वकपको यो चरण पार गर्ने पर्खाइमा रहेकाले आजको खेल टोलीका लागि ऐतिहासिक महत्त्वको हुनेछ।

आजको खेल जित्ने टोलीले राउन्ड अफ १६ मा प्रवेशका लागि कोलम्बिया वा घानामध्ये एकको सामना गर्नेछ।

प्रकाशित: १९ असार २०८३ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App