३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

विश्वकप २०२६ : स्विट्जरल्यान्डसँग बराबरी खेल्दै कतारले रच्यो इतिहास

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'बी' को रोमाञ्चक खेलमा कतारले स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको छ।

अमेरिकाको सान फ्रान्सिस्कोस्थित बे एरिया स्टेडियममा शनिबार राति (आइतबार बिहान) ६७ हजार ९६६ दर्शकका माझ खेलिएको यस खेलमा इन्जुरी समयको चौथो मिनेटमा भएको गोल कतारका लागि भाग्यशाली साबित भयो। पहिलो पटक विदेशी भूमिमा विश्वकप खेलिरहेको कतारका लागि विश्वकपको इतिहासमै यो पहिलो अंक हो।

स्विट्जरल्यान्डले खेलको सुरुवातदेखि नै कतारमाथि दबाब बनाएको थियो। खेलको १७औं मिनेटमा कतारी गोलकिपर महमुद अबुनादाले रेमो फ्रुलरलाई फाउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। ब्रिल एम्बोलोले उक्त पेनाल्टीलाई सहजै गोलमा परिणत गर्दै स्विट्जरल्यान्डलाई १-० को अग्रता दिलाए। स्विट्जरल्यान्डका ड्यान न्दोयेले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। हाफ-टाइम हुनु ठीक अघि मिडफिल्डर मिसेल एबिसरको प्रहारलाई कतारी डिफेन्डरले गोललाइनबाट बचाएका थिए।

कतारका एडमिल्सन जुनियरले खेलको दोस्रो मिनेटमै गोल गर्ने सुनौलो अवसर पाएका थिए, तर उनको प्रहारलाई स्विस गोलकिपर ग्रेगोर कोबेलले विफल पारिदिए। दोस्रो हाफमा खेल केही सुस्त देखिए पनि अन्तिम मिनेटमा नाटकीय मोड आयो। खेलको ९०+४ मिनेटमा कतारका होमाम अहमदको उत्कृष्ट क्रसलाई डिफेन्ड गर्ने क्रममा स्विस खेलाडी मिरो मुहेमको कडा दबाबका बीच कतारका कप्तान बोउलेम खोउखीले उत्कृष्ट हेडमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए र कतारलाई निश्चित पराजयबाट बचाए। स्विट्जरल्यान्डले खेलभर २६ पटक प्रयास गरे पनि जित निकाल्न सकेन।

स्विट्जरल्यान्डका रिकार्डो रोड्रिगेज र ग्रानिट जाकाले विश्वकपमा आफ्नो १३औं उपस्थिति जनाउँदै इतिहासमा सबैभन्दा बढी विश्वकप खेलिसकेका स्विस खेलाडीको नयाँ कीर्तिमान बनाएका छन्। कतारका गोलकिपर महमुद अबुनादा उत्कृष्ट प्रदर्शनका लागि 'प्लेयर अफ दि म्याच' घोषित भए। यो बराबरीसँगै समूह 'बी' मा रहेका चारै टोली (स्विट्जरल्यान्ड, क्यानडा, कतार र बोस्निया एण्ड हेर्जेगोभिना) समान १-१ अंक र समान गोल अन्तरका साथ बराबरीमा छन्।

खेलपछि कतारका मुख्य प्रशिक्षक जुलेन लोपेटेगुईले खुसी व्यक्त गर्दै भने, 'यहाँ हुनु हाम्रा लागि ऐतिहासिक थियो। युरोपको सबैभन्दा उत्कृष्ट, बलियो र सुसंगत टोलीमध्ये एक स्विट्जरल्यान्डविरुद्ध अंक खोस्नु निकै महत्त्वपूर्ण कुरा हो। आज परिस्थितिले पनि साथ दियो। हामीले कठिन समयमा पनि धैर्य गुमाएनौं र अन्ततः त्यसको फल पायौं।'

यता, स्विट्जरल्यान्डका मुख्य प्रशिक्षक मुरात याकिनले टोलीको कमजोरी औंल्याउँदै भने, 'खेलको शैलीका हिसाबले हामीले आफैंलाई दोष दिने ठाउँ छैन। तथ्यांका हेर्ने हो भने हामीले २६ पटक प्रहार गर्यौं तर गोलकिपरलाई सामान्य समस्या दिनु बाहेक केही गर्न सकेनौं। हामीले आफ्नो सटिकता र आत्मविश्वासमा काम गर्नुपर्ने आवश्यकता छ।'

स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकाले आक्रोश पोख्दै भने, 'यदि तपाईंले आफ्नो पक्षमा आएका अवसरहरूको फाइदा उठाउन सक्नुहुन्न भने, त्यसको परिणाम भोग्नुपर्छ। हामीले धैर्य गुमायौं र १-० को अग्रता जोगाउने बुद्धिमानी देखाउन सकेनौं। यदि हामी खेलको लय सधैं कायम राख्न सक्दैनौं भने यो स्तरमा खेल जित्न गाह्रो हुन्छ। अब हामीले वास्तविकता स्वीकार गर्नुपर्छ। यस्तो अवस्थामा हाम्रो लागि उपाधि वा उत्कृष्ट विश्वकपबारे कुरा गर्नु निरर्थक छ।'

आइतबार बिहान भएको अर्को खेलमा ब्राजिल र मोरक्कोले पनि १-१ को बराबरी खेलेका छन्। अहिले बोस्टनमा हाइटी र स्कटल्याडबिच खेल भइरहेको छ। एजेन्सी 

प्रकाशित: ३१ जेष्ठ २०८३ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App