प्रतिष्ठित खेलकुद अवार्ड कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ लाई पोखराको हिमश्री फुड्स प्रालिको रारा चाउचाउले साथ दिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही पुस २३ गते काठमाडौंबाहिर पहिलो पटक आयोजना हुन लागेको अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ। जसमा पोखरामा उद्योगीहरूले साथ दिने क्रममा हिमश्री फुड्स पनि जोडिएको हो।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र प्रबन्ध निर्देशक प्रकाश केसीले अवार्ड सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हिमश्री फुडको रारा चाउचाउ सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्डकप फुटबलको २५ वर्षदेखि निरन्तरको प्रमुख प्रायोजक हो। नेपालमा एउटै संस्थासँग यति लामो प्रायोजन सहकार्य भएको यो पहिलो प्रायोजक संस्था पनि हो।
नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्ट्स अवार्डसंगै एनएसजेएफ स्पोट्र्स समिटको पनि आयोजना गर्दै छ। उक्त समिट अवार्डको अघिल्लो दिन पुस २२ गते हुनेछ। अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ।
स्पोर्ट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन्। एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ।
खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ। मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबल टेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आइएमई एप मार्फत भोटिङ पनि भइरहेको छ।
प्रकाशित: १७ पुस २०८२ ०७:१२ बिहीबार





