रास्वपाका सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन्।
उनी शुक्रबार उक्त पदमा नियुक्त भएका हुन्। यसअघि युवा तथा खेलकुदका लागि छुट्टै मन्त्रालय भए पनि यसपटक शिक्षा र खेलकुद एउटै मन्त्रालयमा गाभिएको छ।
काठमाडौं महानगरपालिकाको शिक्षा क्षेत्र हेर्दै आएका सस्मित काठमाडौँ क्षेत्र नं. ५ बाट निर्वाचित भएका हुन्। अब उनले शिक्षा र खेलकुद दुवै क्षेत्रको जिम्मेवारी सम्हाल्नुपर्नेछ।
खेलकुद मन्त्रालयमा यसअघि धेरै मन्त्री परिवर्तन भए। केही मन्त्रीले प्रशंसनीय काम गरे भने केहीले सम्झनलायक उपलब्धि हासिल गर्न सकेनन्।
यस्तो अवस्थामा स्वयं युवा रहेका सस्मितका लागि खेलकुद क्षेत्र चुनौतीपूर्ण देखिन्छ।
मुख्य चुनौतीहरू:
१. १०औँ राष्ट्रिय खेलकुद आयोजना:
उनको सबैभन्दा ठूलो चुनौती १०औँ राष्ट्रिय खेलकुद सफलतापूर्वक आयोजना गर्नु हुनेछ। पटक–पटक स्थगित हुँदै आएको यो प्रतियोगिता सम्पन्न गराउनु उनको पहिलो परीक्षा हुनेछ।
२. क्रिकेट पूर्वाधार विकास:
पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउँदै गएको नेपाली क्रिकेटका लागि आवश्यक रंगशाला र पूर्वाधार निर्माण गर्नु अर्को चुनौती हो। क्रिकेट अहिले नेपालमा सबैभन्दा लोकप्रिय खेल बनेको छ।
३. ‘ए’ डिभिजन लिग सञ्चालन:
नेपाली फुटबलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग विगत केही वर्षदेखि नियमित रूपमा सञ्चालन हुन सकेको छैन। यसलाई समयमै सञ्चालन गर्नु पनि उनको जिम्मेवारीमा पर्नेछ।
४. पारा खेलकुदको विकास:
पारा खेलकुद क्षेत्रमा राम्रो सम्भावना भए पनि लगानी अभावका कारण खेलाडीहरू प्रभावित भएका छन्। यस क्षेत्रमा सुधार ल्याउनु आवश्यक छ।
५. भलिबल पूर्वाधार:
नेपालको राष्ट्रिय खेल भलिबल भए पनि आवश्यक पूर्वाधारको अभाव छ। राम्रो कभर्ड हल नहुँदा खेलाडीहरूलाई अभ्यास गर्न कठिनाइ भइरहेको छ।
६. खेलाडी बीमा र सुविधा:
खेलाडीहरूको बीमा व्यवस्था प्रभावकारी बनाउनु र चोटपटक लाग्दा उपचार सुनिश्चित गर्नु आवश्यक छ।
७. पुरस्कार र पारिश्रमिक समयमै उपलब्ध गराउने:
खेलाडीहरूले समयमै पुरस्कार र पारिश्रमिक नपाउने समस्या अहिले ठूलो चुनौती बनेको छ। यसलाई समाधान गर्नु उनको अर्को महत्वपूर्ण जिम्मेवारी हुनेछ।
प्रकाशित: १३ चैत्र २०८२ १७:४१ शुक्रबार





