स्वीडेनका लागि विश्वकपमा डेब्यू गरेका २२ वर्षीय खेलाडी यासिन अयारीले ट्युनिसिया विरुद्ध दुई गोल गरे।
मोन्टेरीमा भएको समूह एच खेलको पहिलो हाफको सात मिनेटमै उनले ट्युनिसियाविरुद्ध गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, विश्वकपमा डेब्यु गर्ने युवा खेलाडीको रूपमा उनले त्यो क्षणमा खुसि मनाउन सकेनन्। उनले डेब्यु खेलमै देशको लागि गरेको गोलको कुनै सेलिब्रेशन गरेनन्।
अयारी उत्तर अफ्रिकी मूलका हुन्। उनका बुबा ट्युनिसियाली र आमा मोरक्कन हुन्, तर उनको जन्म स्वीडेनमा भएको थियो। १८ वर्षको उमेरमा आशाजनक फुटबल खेलाडीले आफ्ना आमाबाबुको भन्दा आफ्नै जन्म देशको प्रतिनिधित्व गर्ने निर्णय गरे। उनले आफ्नो बुबाको देशविरुद्ध गोल गर्नु परेकोमा पहिलो गोलको उत्सव नमनाएका हुन्।
‘म चाहन्थेँ कि उनी स्वीडेनका लागि खेलून्,’ यासिनका बुबा अजोज अयारीले स्विडेनी पत्रिका आफ्टोनब्लाडेटलाई भने, ‘उनले आफ्नो हेरचाह गर्ने देशलाई फिर्ता दिइरहेको जस्तो महसुस गर्नुपर्छ।’
अयारीले सात वर्षको उमेरमा सोल्नास्थित आफ्नो गृहनगर क्लब रसुन्डाको युवा टोलीबाट फुटबल खेल्न थालेका थिए। त्यसपछि स्क्यान्डिनेभियाली फुटबल दिग्गज एआईकेमा सरेका थिए, जहाँ उनले २०२० मा आफ्नो सिनियर टोलीमा डेब्यू गरेका थिए।
आक्रमणकारी मिडफिल्डरलाई २०२३ मा इङ्लिस प्रिमियर लिग क्लब ब्राइटन एण्ड होभ अल्बियनले अनुबन्ध गरेको थियो। सोही वर्ष उनले स्वीडेनको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
ट्युनिसियाको रातो र सेतोको सट्टा स्वीडेनको पहेँलो र नीलो पहिरन लगाउने आफ्नो निर्णय रहेको बताउँदै अयारीले बाल्यकालमा खेलेको देशको प्रतिनिधित्व गरिरहनु ‘स्वाभाविक’ भएको बताए।
ट्युनिसियामाथि स्वीडेनको शानदार जितमा उनले उत्कृष्ट प्रदर्शन गरे। उनले ९५ औं मिनेटमा अर्को गोल गर्दै टीमलाई सहज जीत दिलाए।उनले दोस्रो गोलमा भने सेलिब्रेट गरे।
प्रकाशित: १ असार २०८३ १५:१५ सोमबार




-600x400.jpg)
