नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति (निस्सा) दिएको विषयलाई सकारात्मक रूपमा लिएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत संक्षिप्त प्रतिक्रिया दिँदै शर्माले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरी विषयको न्यायिक निरूपण गरिसकेको स्मरण गराउँदै पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता थप स्पष्ट हुने विश्वास व्यक्त गरेका हुन्।
उनले सम्मानित सर्वोच्च अदालतले यसअघि लामो बहसपछि विषयको न्यायिक निरूपण गरिसकेको उल्लेख गर्दै पुनरावलोकन प्रक्रियाले विशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनीतिक सत्य’ लाई अझ फराकिलो ढंगले उजागर गर्न सहयोग पुग्ने बताए।
यो पनि पढ्नुहोस्
कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चमा फेरि सुरुदेखि सुनुवाइ हुने
शर्माले संयम र परिपक्वताका साथ नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य सर्वोच्च अदालतसमक्ष पुनः प्रस्तुत गर्न आफूहरू पूर्ण रूपमा स्पष्ट, खुला र तयार रहेको पनि बताएका छन्।
सर्वोच्च अदालतले बिहीबार नेपाली कांग्रेसको आधिकारिकता तथा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतासम्बन्धी आफ्नो अघिल्लो फैसला पुनरावलोकनका लागि अनुमति दिएसँगै उक्त विवाद पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
प्रकाशित: २१ श्रावण २०८३ १७:१६ बिहीबार



-1200x560-600x400.jpg)

