३ आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

एसियाली खेलकुदमा जब दक्षिण कोरियाको सट्टा उत्तर कोरियाको राष्ट्रिय गान बज्यो...

जापानमा जारी एसियाली खेलकुदअन्तर्गत दक्षिण कोरिया र बंगलादेशबिच शुक्रबार भएको पुरुष हक्की खेलअघि दक्षिण कोरियाको राष्ट्रिय गानको सट्टा उत्तर कोरियाको राष्ट्रिय गान बजेको छ।

रंगशालामा गान बज्दा दक्षिण कोरियाली खेलाडीहरू अलमल्ल परेका थिए। उनीहरूले एकअर्कालाई हेर्दै आयोजकतर्फ समेत हेरेका थिए। केही समयपछि आयोजकले गल्ती भएको भन्दै माफी माग्यो।

रंगशालामा उद्घोषकले भने, ‘हामी साँच्चै दुःखी छौं, अत्यन्तै दुःखी छौं। दक्षिण कोरियाको राष्ट्रिय गान बजाउनुपर्नेमा हामीले फरक गीत बजायौं। मलाई साँच्चै माफ गर्नुहोस्।’

आयोजकहरूले त्यसपछि बंगलादेश र दक्षिण कोरियाको राष्ट्रिय गान बजाए। त्यसपछि खेल सुरु भएको थियो। सुरुवातमा भएको घटनाबाट अलमल्ल परे पनि दक्षिण कोरियाले खेलमा राम्रो प्रदर्शन गर्दै बंगलादेशलाई ५-० ले हरायो।

घटनापछि दक्षिण कोरियाली खेलकुद तथा ओलम्पिक समितिले आयोजक समितिमा औपचारिक उजुरी गरेको थियो। समितिले आयोजकसँग घटनाबारे माफी माग्न र आगामी खेलमा यस्तो गल्ती नदोहोरिने सुनिश्चित गर्न आग्रह गर्‍यो।

एसियाली खेलकुद आयोजक समितिका दुई अधिकारीले दक्षिण कोरियाली टोलीको कार्यालयमै पुगेर घटनाबारे औपचारिक रूपमा माफी मागेका थिए।

दक्षिण कोरियाली खेलकुद तथा ओलम्पिक समितिका अध्यक्ष र्यु सेउङ-मिनले राष्ट्रिय गानजस्तो महत्त्वपूर्ण विषयमा भएको गल्तीलाई गम्भीर रूपमा लिएको बताएका छन्। 

उनले घटनाको कारणबारे विस्तृत अनुसन्धान गरी आगामी दिनमा यस्तो गल्ती दोहोरिन नदिन आवश्यक उपाय अपनाउन आयोजकसँग माग गर्ने बताए।

दक्षिण कोरियाको अर्को पुरुष हक्की खेल सेप्टेम्बर २२ मा हुनेछ। उक्त खेलमा दक्षिण कोरियाले इन्डोनेसियाको सामना गर्नेछ।

प्रकाशित: ३ आश्विन २०८३ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App