३१ असार २०८३ बुधबार
image/svg+xml
खेल

हामीले योजना अनुसारको खेल्न सकेनौं : एमबाप्पे

डलासमा स्पेनसँग हार बेहोरेपछि फ्रान्सका कप्तान केलियन एमबाप्पेले विश्वकप सेमिफाइनलबाट बाहिरिनुको प्रमुख कारण टोलीको रणनीतिक र प्राविधिक कमजोरी रहेको बताएका छन्।

लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएको फ्रान्स स्पेनसँग २–०ले पराजित भएपछि एमबाप्पेले टोलीले आफूहरूले चाहेजस्तो प्रदर्शन गर्न नसकेको स्वीकार गरे।

खेलपछि फ्रान्सेली सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ‘हामीले योजना अनुसारको खेल खेल्न सकेनौं। रणनीतिक रूपमा, प्राविधिक रूपमा र समग्र प्रदर्शनका हिसाबले पनि हामी अपेक्षाभन्दा कमजोर रह्यौं। विश्वकपको सेमिफाइनलमा आवश्यक स्तरको प्रदर्शन गर्न नसक्दा हार बेहोर्नु स्वाभाविक हो।’

फ्रान्सको योजना सुरुआतदेखि नै स्पेनमाथि उच्च दबाब सिर्जना गर्ने रहेपनि टोली त्यसमा सफल हुन नसकेको एमबाप्पेले बताए।

‘हाम्रो उद्देश्य उनीहरूलाई सहज रूपमा खेल निर्माण गर्न नदिनु थियो। स्पेनसँग बल नियन्त्रण गर्ने उत्कृष्ट क्षमता छ, तर हामीले उनीहरूलाई रोक्ने योजना कार्यान्वयन गर्न सकेनौं,’ उनले भने।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै आठ गोल गरेका एमबाप्पे फ्रान्सलाई फाइनलसम्म पुर्‍याउने आशामा थिए।

उनलेले विशेष गरी मिडफिल्डमा फ्रान्स कमजोर देखिएको बताए। उनका अनुसार स्पेनका रोड्री, डानी ओल्मो र फाबियन रुइजको त्रिकुटले फ्रान्सका एड्रियन राबियोट र औरेलियन चौमेनीमाथि स्पष्ट दबाब बनाएको थियो।

‘मिडफिल्डमा हामी संख्यात्मक रूपमा पछि पर्‍यौं। स्पेनजस्तो टोलीविरुद्ध यस्तो अवस्था निकै महँगो पर्छ। जब ती सबै कमजोरी एकैसाथ देखिन्छन्, परिणाम हार नै हुन्छ,’ उनले भने।

हारप्रति गहिरो निराशा व्यक्त गर्दै एमबाप्पेले टोलीले यसबाट पाठ सिकेर अझ बलियो रूपमा फर्किने विश्वास व्यक्त गरे। उनले भने,‘फाइनलमा पुग्नु, हाम्रो देशलाई सपना देख्ने र इतिहास रच्ने मौका दिनु हाम्रो लागि सपना थियो।

‘फाइनलमा पुगेर देशलाई गर्व गर्ने अवसर दिनु हाम्रो सपना थियो। त्यो पूरा हुन सकेन। अब हामीले यो हारलाई स्वीकार गर्दै शिर ठाडो पारेर अगाडि बढ्नुपर्छ,’ उनले भने।

उनले थपे, ‘यद्यपि, कहिलेकाहीं यो अलि रोबोटिक जस्तो लागे पनि हामीले आफूलाई उठाउनुपर्छ। छुट्टीमा जानुपर्छ र अर्को अध्यायमा जानुपर्छ। किनभने फुटबलले कसैको पर्खाइमा पर्दैन। हामीले फेरि सुरु गर्नुपर्छ। यो असफलतालाई पछाडि छोड्नुपर्छ र यसबाट सिक्नुपर्छ।’

प्रकाशित: ३१ असार २०८३ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App