इलाममा स्कुलका शिक्षकहरूका लागि भलिबल प्रशिक्षण आयोजना गरिने भएको छ । यही भदौ १० देखि १५ सम्म इलामको ठूलो टुँडिखेलमा ७० शिक्षकका लागि प्रशिक्षण आयोजना गर्न लागिएको हो ।
वार्षिक रूपमा सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई लक्षित गरी भलिबल खेलको गुणस्तर अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो । आयोजक जिल्ला भलिबल संघले इलाममा पत्रकार सम्मेलन आयोजना गरी जिल्लाका १० वटै पालिकाका शिक्षक सहभागी हुने जनाएको छ ।
संघ अध्यक्ष प्रवीन गुरुङले स्थानीय तहले निश्चित संख्याका सहभागी स्कुलहरूबाट छानेर प्रशिक्षणमा पठाउने बताए । उनका अनुसार यो प्रशिक्षण कोशी प्रदेशकै पहिलो पनि हो । बिहानको समय भलिबलको सैद्धान्तिक विषयमा प्रशिक्षण हुनेछ भने दिउँसो प्रयोगात्मक अभ्यास गराइने छ ।
‘बर्सेनि राष्ट्रपति रनिङ सिल्ड आयोजना हुन्छ, त्यसका लागि भलिबलका खेलाडी विद्यार्थी उत्पादनका लागि यो प्रशिक्षण आयोजना गरिएको हो,’ उनले भने, ‘शिक्षकलाई तालिम दिएपछि वर्षाैंसम्म विद्यार्थी खेलाडी उत्पादन हुन सहयोग पुग्छ ।’
प्रशिक्षणमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)बाटसमेत १० शिक्षक सहभागी रहने आयोजक समितिका गणेश खतिवडाले बताए । ‘इलाममा लामो समयदेखि भलिबल प्रतियोगिता आयोजना हुन सकेको छैन, भलिबलप्रति क्रेस बढाउन पनि यसका गतिविधि गर्नु आवश्यक छ,’ उनले भने, ‘पहाडी जिल्लाका गाउँ–गाउँतिर मैदान बनाउन, प्रतियोगिता आयोजना गर्न पनि सजिलो हुने भएकाले भलिबल इलामका लागि उपयुक्त खेल पनि हो ।’ कार्यक्रममा भलिबलका ७ प्रशिक्षकले सहजीकरण गर्नेछन् ।
आयोजकका अनुसार कार्यक्रमका लागि खर्च व्यवस्थापनको काम भइरहेको छ । ४ लाख ५१ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।
प्रकाशित: २ भाद्र २०८३ १९:२६ मंगलबार





