७ असार २०८३ आइतबार
image/svg+xml
खेल

स्टार खेलाडीबिनै अस्ट्रेलियालाई हराउँदै अमेरिका अन्तिम ३२ मा पुग्यो

फिफा विश्वकप फुटबल २०२६ को सह-आयोजक अमेरिका अस्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ।

अमेरिकाको सिएटल स्टेडियममा शनिबार सम्पन्न समूह 'डी' को रोमाञ्चक खेलमा अमेरिकाले अस्ट्रेलियामाथि २-० गोलअन्तरको सहज जित निकाल्यो। विश्वकप इतिहासमा सन् १९३० को पहिलो संस्करणपछि अमेरिकाले लगातार दुई खेल जितेको यो पहिलो पटक हो। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो।

आफ्ना स्टार खेलाडी क्रिस्चियन पुलिसिक चोटका कारण मैदान बाहिर रहे पनि प्रशिक्षक मौरिसियो पोचेटिनोको टोलीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्‍यो। खेलको ११औँ मिनेटमा अमेरिकाले आत्मघाती गोलमार्फत अग्रता लियो। अमेरिकी फरवार्ड फोलारिन बालोगुनले बायाँ तर्फबाट बक्सभित्र मिलाएको क्रस बललाई क्लियर गर्ने क्रममा अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गर्न पुगे। यससँगै विश्वकपका लगातार दुई खेलमा आत्मघाती गोलबाट फाइदा उठाउने अमेरिका पहिलो टोली बन्यो।

त्यसपछि खेलको ४३औँ मिनेटमा सर्जिनो डेस्टको प्रहार छ यार्डको बक्समा खसेपछि एलेक्स फ्रीम्यानले हेडमार्फत उत्कृष्ट गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। फ्रीम्यानको यो पहिलो विश्वकप गोल हो।

दोस्रो हाफमा अस्ट्रेलियाले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन। अमेरिकाले पनि १० खेलपछि पहिलो पटक आफ्नो पोस्ट सुरक्षित (क्लिन सिट) राख्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका अमेरिकाका फोलारिन बालोगुन 'प्लेयर अफ द म्याच' चुनिए।

यस जितसँगै समूह 'डी' मा रहेको अमेरिकाले २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थान बलियो बनाएको छ भने अस्ट्रेलियाको २ खेलबाट ३ अंक छ। अमेरिकाले अब समूह चरणको अन्तिम खेल बिहीबार टर्किएसँग खेल्नेछ।

खेलपछि प्रतिक्रिया दिँदै अमेरिकी प्रशिक्षक मौरिसियो पोचेटिनोले भने, ‘मलाई लाग्छ यो एक शानदार खेल थियो, विशेष गरी पहिलो हाफमा हामीले खेलमा प्रभुत्व जमायौं। क्रिस्चियन पुलिसिक बिना खेल्नु कठिन थियो तर यदि हामी प्रतियोगिता जित्न चाहन्छौं भने हामीलाई सम्पूर्ण टोली चाहिन्छ। म फ्यानहरूका लागि धेरै खुसी छु।’

अस्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिकले आफ्नो टोली सुस्त देखिएको स्वीकार गरे। उनले भने, ‘हामी सुस्त र भारी खुट्टा भएका देखियौं। तिनीहरू (अमेरिकी) छिटो र बढी शक्तिशाली थिए। हामीले दुई वटा कमजोर गोल खायौं, तर दोस्रो हाफमा खेलाडीहरूले गरेको पुनरागमन र प्रतिक्रिया उत्कृष्ट थियो।’

त्यस्तै, खेलका नायक बालोगुनले नम्र रहँदै अघि बढ्ने बताए। उनले भने, ‘हामी पाराग्वे विरुद्ध जस्तै छिटो सुरु गर्न चाहन्थ्यौं र यसले खेल सहज बनायो। एलेक्सले पहिलो विश्वकप गोल गरेकोमा म खुसी छु। सबैभन्दा महत्त्वपूर्ण कुरा हामी यथार्थपरक र नम्र रहँदै टर्किए विरुद्धको अर्को खेल पनि जित्न चाहन्छौं।’

प्रकाशित: ६ असार २०८३ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App