२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

युएस ओपनः सेमिफाइनलमा जोकोभिच र अल्कारेज भिड्ने, सबलेन्कालाई वकओभर

सर्बिया नोभाक जोकोभिच र स्पेनका कार्लोस अल्कारेजबीच युएस ओपन टेनिसको सेमिफाइनलमा प्रतिस्पर्धा हुने भएको छ । ग्राण्डस्लाम टेनिसमा सर्वाधिक उपाधि उचाल्ने कीर्तिमान उन्मुख रहेका सातौ वरीयाताका जोकोभिच चौथो वरीयाताका अमेरिकन टेलोर फ्रिट्चलाई ३-१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । पहिलो र दोस्रो सेट ६-३ र ७-५ ले आफ्नो पक्षमा पारेका जोकोभिचले तेस्रो सेट भने ३-६ ले गत वर्षका फाइनलिस्ट फ्रिट्जलाई सुम्पिएका थिए । तर उत्कृष्ट पुनरागमन गर्दै चौथो सेट ६-४ ले जितेर उनले अल्कारेजसँगको भेट पक्का गरे ।  

पुरुष एकलतर्फ सर्वाधिक २५औं ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिचले सन् २०२३ मा एकै वर्ष अस्ट्रेलियन, फ्रेन्च र युएस ओपनको उपाधि जितेका थिए । सोपछि उनले कुनै ग्रान्डस्लाम जितेका छैनन् । गत वर्ष भने ३८ वर्षे जोकोभिच अस्ट्रेलियाका एलेक्सी पोपोरिनसँग तेस्रो चरणमै पराजित भएका थिए ।    

अर्को खेलमा दोस्रो वरीयाताका स्पेनी अल्कारेज भने चेक रिपब्लिकका जिरी लेहेच्कालाई ६-४, ६-२ र ६-४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।  

महिला एकलतर्फको खेलमा शीर्ष वरीयाताकी एरिना सबलेन्का वकओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरिन् । घुँडाको चोटका कारण चेक रिपब्लिककी मार्केटा भोन्ड्रोसोभा कोर्टमा नआएपछि बेलारुसकी सबलेन्काले सिधैं अन्तिम चारमा स्थान बनाइन् ।  

चौथो वरीयाताकी अमेरिकन जेसिका पेगुलाले भने चेक रिपब्लिककी बार्बोरा रेजिस्कोभालाई समान ६-३ को सेटमा पराजित गरिन्।  

फाइनल प्रवेशका लागि अब सबलेन्का र पेगुलाबीच प्रतिस्पर्धा हुनेछ । गत वर्षको फाइनलमा पेगुलालाई पराजित गर्दै सबलेन्काले पहिलो पटक युएस ओपनको उपाधि जितेकी थिइन् ।

प्रकाशित: १८ भाद्र २०८२ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App