१५ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

चौथो गोर्खा ट्रेल ब्लेजरको उपाधि उमेश र प्रियालाई

धरानमा शनिबार भएको गोर्खा ट्रेल ब्लेजर नेपाल–२०२६ को चौथो संस्करणमा पुरुषतर्फ उमेश थापा र महिलातर्फ प्रिया तामाङले उपाधि जितेका छन्।  

उमेशले ९ किलोमिटर दूरीको दौड २५ मिनेट ५१ सेकेन्डमा पूरा गरेका हुन्। यससँगै उनले ट्रफी र मेडलसहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरका छन्।  

यस्तै, दार्जेलिङ्की प्रियाले ३० मिनेट ४६ सेकेन्डमा दूरी पार गरिन्। उनले पनि ट्रफी, मेडलसहित २० हजार रुपैयाँ नगद पुरस्कार पाइन्।

करिब ६ सय धावक–धाविकाको सहभागिता रहेको प्रतियोगितामा विकास भुजेल दोस्रो भए। उनले २५ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गरे। २५ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै अमिर लिम्बु तेस्रो भए।  

महिलातर्फ पुष्पा सेर्मा लिम्बु ३० मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै उपविजेता बनिन् बन्दा ३० मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै दीप बस्नेत तेस्रो भइन्। उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

पुरुष भेट्रानतर्फ रेशम लिम्बुले २८ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै उपाधि जिते। विजयकुमार राई ३१ मिनेट १८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो तथा बिमान राई ३३ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए।

महिला भेट्रानतर्फ जमुना लिम्बुले ४२ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम बनिन् । कुसुम लिम्बु ४६ मिनेट २७ सेकेन्डमा दोस्रो तथा असुली राई ५१ मिनेट ६ सेकेन्डमा तेस्रो भए। उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’ अप्रिल ५ को अवसरमा गोर्खा सिमेट्री ट्रस्ट नेपालको आयोजनामा ‘गोर्खा ट्रेल ब्लेजर नेपाल–२०२६’ को चौथो संस्करण भएको हो।  दौड धरान–१८ स्थित रत्नचोकबाट सुरु भई मङ्लवारे, सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित भन्ज्याङमा पुगेर समापन गरिएको थियो।

विजेता तथा उपविजेताहरूलाई धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा, धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई ‘प्रवीण’, समापन समारोहका सभापति महेन्द्रकुमार राई, धरान–२० का वडाध्यक्ष पदमबहादुर राईलगायतले पुरस्कार वितरण गरेका थिए।  

प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर र धनकुटालगायत जिल्लाबाट करिब ६ सय धावक–धाविकाको सहभागिता थियो।

प्रकाशित: १४ चैत्र २०८२ १७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App