विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्स खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआ विरुद्धको विशाल स्कोर खडा गरेको छ।
निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै युएईले २२५ रनको विशाल योगफल तयार पारेको हो।
युएईका लागि अलिशान शराफु र राहुल चोपडाले उत्कृष्ट अर्धशतकीय पारी खेले भने हर्षित कौशिकले अन्त्यमा विष्फोटक ब्याटिङ गरे।
सामोआ विरुद्ध पहिले ब्याटिङ गरेको युएईको सुरुवात भने राम्रो हुन सकेको थिएन। ओपनर वसिम मुहम्मद मात्र २ बल खेल्दै शून्यमा आउट भएका थिए। तर, त्यसपछि अलिशान शराफुले उत्कृष्ट ब्याटिङ गर्दै इनिङ्स सम्हाले।
उनले मयंक चौधरी (१७) सँग मिलेर दोस्रो विकेटका लागि ७३ रनको महत्वपूर्ण साझेदारी गरे। शराफुले ५१ बलमा ८६ रनको शानदार पारी खेले।
उनलाई राहुल चोपडाले पनि उत्कृष्ट साथ दिँदै मात्र ३४ बलमा ६२ रन जोडे। यी दुईको साझेदारीले युएईलाई बलियो स्थितिमा पुर्याएको थियो।
युएईको इनिङ्सको अन्त्यतिर हर्षित कौशिकले विष्फोटक ब्याटिङ गरे। उनी मात्र १२ बलमा अविजित ४४ रन बनाउन सफल भए। ध्रुव पराशर ८ रनमा अविजित रहे।
सामोआका लागि सोलोमन न्यासले सर्वाधिक २ विकेट लिए पनि ४ ओभरमा ४२ रन खर्चिएर महँगो साबित भए।
त्यस्तै, साउमानी फाटु टियाई र बेन माइलाताले एक-एक विकेट लिए। युएईले सामोआलाई जितका लागि २२६ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।
प्रकाशित: २९ आश्विन २०८२ १८:०४ बुधबार





