२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश, बागमतीले कर्णालीलाई हरायो

वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा प्रवेश गरेको छ भने बागमती प्रदेशले कर्णालीलाई पराजित गर्दै समूह चरणको प्रतिस्पर्धामा प्रभाव जमाएको छ। प्रतियोगितामा मधेसले अपराजित यात्रा कायम राख्दै एक खेल अगावै फाइनल स्थान सुरक्षित गरेको हो।

मधेसको लगातार जित, फाइनल सुनिश्चित

मधेस प्रदेशले शुक्रबार लुम्बिनी प्रदेशलाई २४ रनले पराजित गर्दै प्रतियोगितामा पाँचौं जित दर्ता गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मधेसले २० ओभरमा ३ विकेट गुमाएर १६१ रनको बलियो योगफल तयार पार्‍यो।

१६२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ४ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो।

मधेसका लागि उत्कृष्ट प्रदर्शन गर्दै प्रतिमा साह ले अविजित ६८ रन बनाइन् भने सना प्रवीन ले ६२ रनको महत्वपूर्ण योगदान दिइन्। ओपनर एलिशा यादव ५ रनमै आउट भए पनि यी दुई ब्याटरले इनिङ्स सम्हालेका थिए। प्रतिमालाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरियो।

लुम्बिनीका लागि आश्ना चौधरी र आयुषा भुसालले १–१ विकेट लिए। जवाफी ब्याटिङमा सुप्रिया बुढा मगरले अविजित ४४ रन र कप्तान अञ्जी पाठकले ३२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।

मधेसका बलरहरूले पनि किफायती प्रदर्शन गरे। साक्षी कुमारी यादव, सुस्मिता कुमारी यादव, आरती महतो र प्रतिमा साहले १–१ विकेट लिए।

कोशीको रोमाञ्चक जित

अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई रोमाञ्चक रूपमा पराजित गरेको छ। ८८ रनको लक्ष्य पछ्याएको गण्डकी २० ओभरमा लक्ष्य भेट्टाउन असफल भयो।

कोशीका लागि पूर्णिया राजवंशीले २७ रन बनाइन् भने कप्तान टीका शाहले १५ रन जोडिन्। गण्डकीका कप्तान कुसुम गोदारले अविजित ४२ रनको संघर्षपूर्ण इनिङ्स खेलिन्।

कोशीका बलर रञ्जना साउँद ले घातक प्रदर्शन गर्दै किफायती बलिङसँगै ‘प्लेयर अफ दि म्याच’ उपाधि जितिन्।

बागमतीको जित, कर्णालीको लगातार हार

कालुङचोक मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ। पहिले ब्याटिङ गरेको बागमतीले १३० रनको योगफल बनायो।

कर्णालीका कप्तान तिर्सना विश्वकर्माले ४३ रनको जुझारु इनिङ्स खेले पनि अन्य ब्याटरले साथ दिन सकेनन्। टोलीका चार ब्याटर शून्यमा आउट भएका थिए।

बागमतीका लागि बलिङतर्फ कृष्मा गुरुङ ले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिइन् र अविजित १५ रन समेत बनाइन्। उनको अलराउन्ड प्रदर्शनका कारण उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।

कर्णाली यो हारसँगै लगातार पाँचौं खेलमा पराजित भएको छ।

प्रकाशित: २९ जेष्ठ २०८३ २०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App